लोकमासिंह सिफरिस एमालेको गल्ती : भण्डारी

Bidhya-Bhandariनुवाकोट, १२ वैशाख । नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीलाई सिफारिस गरेर एमालेले गल्ती गरेको बताएकी छिन् । ‘लोकतन्त्र बहालीका लागि भएको आन्दोलन दबाउनेलाई एमाललेले जुन हिसाबले सिफरिस गर्‍यौँ, त्यो हाम्रो गल्ती हो,’ उनले भनिन् ।

अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्षसमेत रहेकी भण्डारी बुधबार विदुरमा संघको छैटौँ जिल्ला अधिवेशन उद्घाटनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेले कार्कीलाई सिफारिस स्वीकृत गरेर गल्ती गरेको बताएकी हुन् । रायमाझी आयोगले जनआन्दोलनको दोषी भनेर औँल्याएको व्यक्तिलाई पार्टीले अख्तियारको प्रमुख बनाउन सहमत हुनु पार्टीको कमजोरी भएको नेत्री भण्डारीको भनाइ छ । ‘संयन्त्रमा प्रस्ताव आएपछि संयन्त्रमा जानुभएका नेताहरूले समर्थन गरेर आउनुभयो । दलको प्रतिनिधित्व गरेर जानुभएका नेताले समर्थन गरेर आउनुभएकाले त्यसलाई उल्ट्याउनुभएन’ नेत्री भण्डारीले भनिन्, ‘बाहिर लोकको भावना पनि बुझ्नुपथ्र्यो । प्रतिनिधि भएर जाने नेताले नमान्नुपथ्र्यो ।’
नेत्री भण्डारीले सरकार मात्र बनाउने नभई संविधान बनाउने निर्वाचन भएकाले विचार मिल्ने सानाठूला दलहरूसँग मिलेर निर्वाचनमा जानुपर्ने धारणा राखिन् । उनले देशका सबै निर्वाचनमा आफ्नो बलियो उपस्थिति रहेको दाबी गर्दै तालमेलविना पनि निर्वाचनमा जान सकिने बताइन् । उनले एमालेको पक्षमा देशभर उभार देखेर प्रचण्ड अतालिन थालेको बताइन् । अब हुने निर्वाचनमा एमालेले बहुमत ल्याउनको लागि नेपाली कांग्रेस र साना बिचार मिल्ने दलसँग सहकार्य गरेर जानेसमेत उद्घोष गरिन् । उपाध्यक्ष भण्डारीले अहिले संविधान बनाउनु पहिलो प्रथामिकता भएकाले नेकपा–माओवादीसहित साना सबै दललाई निर्वाचनमा भाग लिन सहमत गराउन एमालेले पहल गर्ने बताइन् ।
त्यस्तै, एमालेका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भारतको दूत बनेर चीन गएको आरोप लगाएका छन् ।
नेता पाण्डेले माओवादी अध्यक्ष दाहाल भारतीय दूतावासमा साँझपख तीन–चार दिनसम्म धाएर चीन पुगेको दाबी गरे । ‘भारतीय दूतावाससँग चीन गएर के बोल्ने भनेर ट्युसन पढेर गएका हुन् दाहाल,’ नेता पाण्डेले भने, ‘यस्ता नेताबाट राज्यले कहिल्यै कुनै लाभ लिन सक्दैन ।’ प्रचण्डको राष्ट्रवादिता हात्तीको देखाउने दाँतजस्तै भएको फेरि पुष्टि भएको उनले बताए ।

प्रतिक्रिया