दुर्घटनामा मृत्यु भएकाको सामूहिक दाहसंस्कार

गुल्मी, १२ वैशाख । पूजाका लागि काठमाडौंबाट गुल्मी आउँदै गर्दा दुर्घटनामा परेर ज्यान गुमाएका सबैको एकमुष्ट दाहसंस्कार गरिएको छ । पाल्पाको खस्यौली–३ करङ्गैरामा मंगलबार भएको बा ७ च ३३१८ नम्बरको टाटा सुमो दुर्घटनामा मृत्यु हुने सबैको बुधबार गुल्मीको रिडीस्थित कालीगण्डकी किनारमा सामूहिक अन्त्येष्टि गरिएको छ ।

चारै जनाको रिडीमा सामूहिक अन्त्येष्टि गरिने भएपछि रिडीमा बुधबार बिहानैदेखि हजारौँ सर्वसाधारणको भिड लागेको थियो । रिडीमा अन्तिम श्रद्धाञ्जलीका लागि लताका श्रीमान् गगन विष्ट, जेठाजुहरू लक्ष्मण, चुराबहादुर, गोकर्ण एवं लताका बाबु, आमा, आफन्त, एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, सदस्य सूर्य थापा, पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय सदस्यहरू नेत्र पन्थी, ठाकुर गैरे, युवा नेता घनश्याम भुसाल, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, प्रेस चौतारीका पूर्वमहासचिव विष्णु रिजाल, नेकपा एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य कमलराज श्रेष्ठ, एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डे, सचिव सोमनाथ सापकोटा, उपसचिव बालसिंह काउछासहित जिल्ला कमिटीका नेताहरू, कार्यकर्ताहरू, नेपाली कांग्रेस गुल्मीका उपसभापति भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जीवन रानालगायत राजनीतिक दलका प्रतिनिधिसहित सञ्चारकर्मी र सर्वसाधारण उपस्थित थिए ।
पूर्वऊर्जामन्त्री गोकर्णराज विष्टका बाबुआमाको चौरासी पूजाको प्रसादग्रहणका लागि काठमाडौंबाट गुल्मीको इस्मा दोहोलीतर्फ जाने क्रममा ऊर्जामन्त्री विष्टकी भाइबुहारी लता विष्ट, बहिनीज्वाइँ ज्ञानबहादुर जिसी, भान्जी आस्था जिसी र ज्ञानबहादुरका दाजु रामबहादुर जिसीको मृत्यु भएको थियो । मृतकमध्ये लता प्रेस चौतारीका पूर्वकेन्द्रीय अध्यक्ष गगन विष्टकी श्रीमती हुन् । दुर्घटनामा आमासँगै रहेका गगनका ६ वर्षीय छोरा सिद्धान्त भने सकुशल छन् । घटनामा घाइते भएकामध्ये पूर्वमन्त्री विष्टकी बहिनी उमा जिसी र भान्जा आदर्श जिसीको काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते रामेछाप रामपुर–६ निवासी चालक ज्ञानबहादुर श्रेष्ठको अवस्था अझै गम्भीर भएकाले पाल्पा मिसन अस्पतालमै उपचार भइरहेको छ ।
घटनामा घाइते दुई जनालाई मंगलबार नै हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडांै लगिएको भए पनि चालक श्रेष्ठको अवस्था गम्भीर भएको र भेन्टिलेटरबाट हटाउन मिल्ने अवस्था नभएकाले थप उपचारका लागि काठमाडौं पठाउन नसकिएको मिसन अस्पताल पाल्पाले जनाएको छ । नेपाल पत्रकार महासंघ गुल्मी, प्रेस चौतारी नेपाल गुल्मी, क्रान्तिकारी पत्रकार संघ गुल्मी, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य एवं सञ्चारिका समूह अञ्चल सदस्य गगनशीला खड्कालगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाले स्तब्ध बनाएको जनाएका छन् । मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त विष्ट एवं जिसी परिवारप्रति सबै संघ संस्थाहरूले समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया