विचलित कम्युनिस्ट आन्दोलन

नेपाली कम्युनिस्ट आन्दोलनले ६ दशक पार गरेछ । निरंकुश जहानियाँ शासन भोगिरहेको अवस्थामा २००६ सालमा सुरु भएको कम्युनिस्ट आन्दोलन अहिले विचलित र भ्रमित बनेको छ । राणा शासनको क्रूर पञ्जाबाट मुलुकलाई मुक्त गर्दै सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने लक्ष्यसाथ पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टी टुक्रा–टुक्रा र छिन्नभिन्न बनेको छ । सबै कम्युनिस्ट पार्टी माक्र्सवादी दर्शनविपरीत सोच भएका अधिनायकवादी सामन्त नाइकेहरूको नेतृत्वमा चलिरहेका छन् । जनवादी क्रान्तिको किंवदन्ती सुनाउँदै जनतलाई भ्रममा पारेर सत्तामा पुग्ने दक्षिणपन्थी तत्त्वका कारण नेपाली कम्युनिस्ट आन्दोलन दिग्भ्रमित र विचलित बन्न पुगेको हो । नेपालमा भएका सबै कम्युनिस्ट पार्टी पुष्पलालको मार्गदर्शनबाट टाढिएपछि असफल र नाम मात्रका कम्युनिस्ट बन्न पुगेका हुन् । शोषण, दमन र उत्पीडनमा परेका जनतालाई मुक्ति दिने महान् संकल्प गर्दै क्रान्तिको थालनी गर्नेहरू अत्यन्त घृणित पात्रमा रूपान्तरित हँुदै दक्षिणपन्थी बन्ने रोगले नेपाली नेता ग्रस्त बनेका छन् । जसले गर्दा वर्तमान अवस्थामा राष्ट्र र मुक्तिकामी जनताको भावनामा ठेस् पुगेको छ । माक्र्स, लेनिन र माओत्सेतुङको बदनाम गर्दै नेपालका कम्युनिस्ट नेताहरू दक्षिणपन्थी भासमा भासिएर राष्ट्र र जनतालाई धोका दिँदै छन् । यो भ्रमबाट नेपाली जनता मुक्त नभएसम्म दलाल कम्युनिस्टहरूका लागि थुप्रै योद्धाले ज्यानको आहुति दिनुपर्ने हुन्छ । यिनै कारणले गर्दा अब नेपाली जनता आफैँ सचेत हुनुपर्ने भएको छ ।
पुष्पलालले प्रतिपादन गरेको सही मार्गबाट कम्युनिस्ट आन्दोलनको दिशा परिवर्तन गर्न साम्राज्यवादी, विस्तावादी र घरेलु प्रतिक्रियावादीहरू सफल भए । नैतिक चरित्र गुमाएका, द्रव्यपिशाच, महासामन्तको चरित्र भएकाहरू कम्युनिस्ट आन्दोलनको नेतृत्वमा पुगे । जबजब क्रान्ति सफल हुने दिशातिर उन्मुख हुन्छ तबतब सम्झौतामा टुंगिन्छ । क्रान्तिलाई व्यवस्थित ढंगले अगाडि बढाउँदै लक्ष्यमा पुग्नुपर्नेमा सत्ताका लागि सहिदको रगत र सपना कुल्चदै सम्झौता गर्ने गरिएको छ । चाहे त्यो झापा विद्रोह होस् चाहे माओवादीको १० वर्षे हिंसात्मक विद्रोह । कुनै पनि सफल भएनन् । सामन्तहरूको नेतृत्वपंक्ति जनताको साथ छाडेर प्रतिक्रियावादी सत्ताको तावेदारी गर्न क्रियाशील भयो । जसले गर्दा नेपाली कम्युनिस्ट आन्दोलन नै बदनाम हुन पुग्यो । महान् क्रान्तिकारी जनयुद्धमा छलाङ मारेको भाषण गर्ने व्यवहार भने त्यसको ठीक उल्टो साम्राज्यवादको इसारामा सम्पन्न गर्ने रुचि लिएका नेताकै कारण नेपाली कम्युनिस्ट आन्दोलन थला परेको हो । यो अवस्थालाई चिर्दै नेपालको कम्युनिस्ट आन्दोलनअगाडि नबढाए कम्युनिस्ट मुखुन्डो भिरेकाहरूले कम्युनिस्ट आन्दोलनको इतिहास साम्राज्यवादी इसारामा विस्तारवादको पाउमा चढाउने छन् ।
अहिले कम्युनिस्ट भनाउँदाहरू कम्युनिस्टको आधारभूत सिद्धान्तबाट समेत विचलित भएका छन् । दक्षिणपन्थी विसर्जनवादले नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्दै गएको अवस्था छ । वास्तवमा एमाओवादी, एमाले लगायतका आफूलाई कम्युनिस्ट भएको दावी गर्नेहरू कम्युनिस्ट होइनन् । ती दलका नेताहरूले माक्र्सवादी दर्शन, कम्युनिस्ट आचारण, व्यवहार मात्र होइन सामान्य सिद्धान्तसमेत त्यागेका छन् । राष्ट्र जोगाउन र गरिब वर्गको उत्थान गर्न ६४ वर्षअगाडि गठन भएको नेपालको कम्युनिस्ट पार्टी अहिले २४ वटा बनेका छन् । उनीहरू सबै वर्गीय मुद्दा छाडेर अरू नै मुद्दा बोकेर हिँड्दै छन् । यी पार्टीहरू सैद्धान्तिक रूपले विभाजित भएका होइनन् । नेताहरू पद र पैसाकै लागि पार्टी विभाजन गर्न र कम्युनिस्ट आन्दोलनलाई विर्सजन गर्न लागिरहेका छन् । यी कम्युनिस्टहरू राष्ट्र र जनताका लागि होइन व्यक्तिगत स्वार्थपूर्तिका लागि नेताद्वारा खोलिएका पार्टीहरू हुन् । त्यही कारण नेपाली कम्युनिस्ट आन्दोलन असफल भएको हो ।

प्रतिक्रिया