त्रिविका नर्सिङ क्याम्पसबाट पिसिएल हटाइने

काठमाडौं, ११ वैशाख । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)बाट सम्बन्धन लिएका दुई नर्सिङ कलेजबाट प्रोफिसियन्सी सर्टिफिकेट लेभल (पिसिएल अर्थात् प्रवीणता प्रमाणपत्र तह) नर्सिङ हटाइने भएको छ ।

संस्थानको आइओएम फ्याकल्टी बोर्डको मंगलबार बसेको बैठकले पहिलो चरणमा नर्सिङ क्याम्पस महाराजगन्ज र नर्सिङ क्याम्पस पोखराबाट पिसिएल नर्सिङ (फेजआउट गर्ने) हटाउने निर्णय गरेको हो । बोर्ड बैठकले गरेको निर्णय स्वीकृतिका लागि त्रिवि प्राज्ञिक परिषद्समक्ष पठाइने आइओएमका सहायक डिन शरद वन्तले जानकारी दिए । उनका अनुसार प्राज्ञिक परिषद्ले बैठकको निर्णय स्वीकृत गरेपछि मात्र दुवै क्याम्पसबाट पिसिएल नर्सिङ फेजआउट हुनेछ ।
त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरूबाट पिसिएल तहको पढाइ हटाउने नीतिअनुरूप ती क्याम्पसबाट पनि पिसिएल नर्सिङ हटाइन लागेको हो । पिसिएल नर्सिङ कक्षा सञ्चालन गरिरहेका दुवै क्याम्पसले आफ्ना क्याम्पसबाट पिसिएल हटाउन माग गर्दै त्रिवि फ्याकल्टी बोर्डमा प्रस्ताव दर्ता गरेका थिए । उनीहरूकै प्रस्तावका आधारमा मंगलबार बसेको बैठकले दुवै क्याम्प्सबाट पिसिएल नर्सिङ हटाउने निर्णय गरेको डा. वन्तले बताए । उनका अनुसार विश्वविद्यालयले अरू संकायबाट पनि पिसिएल नर्सिङ हटाएका कारण क्रमश: संस्थानअन्तर्गतका बाँकी तीन कलेजबाट पनि पिसिएल नर्सिङ हटाइनेछ ।
दुवै क्याम्पसले माथिल्ला तहका कार्यक्रम प्रभावित भएको भन्दै बोर्डमा ‘पिसिएल फेजआउट’ गर्न प्रस्ताव लगेका हुन् । महाराजगन्ज नर्सिङ क्याम्पसले पिसिएलसँगै ग्राजुएट्स, पोस्टग्राजुएट्स र गत वर्षदेखि पिएचडी नर्सिङ कार्यक्रम सञ्चालन गरेको छ । क्याम्पस प्रशासनका अनुसार महाराजगन्ज क्याम्पसले बिएस्सी नर्सिङमा ३० जना, बिएनमा ४९, एमएनमा २१ र पिएचडीमा २ जनाका दरले वार्षिक भर्ना लिने गरेको छ । त्यसैगरी, नर्सिङ क्याम्पस पोखराले पनि गत वर्षदेखि नै बिएस्सी नर्सिङ र एमएन एडल्ट नर्सिङ कक्षा पनि सुरु गरेको छ । नर्सिङ क्याम्पस पोखराले पिसिएलमा वार्षिक ४५ जना छात्रा भर्ना लिने गरेको थियो भने महाराजगन्ज नर्सिङमा ६१ जना भर्ना हुने गरेका थिए ।
त्रिवि आइओएमबाट सम्बन्धन लिएर पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेमा पाँचवटा आंगिक क्याम्पस छन् । तिनमा नर्सिङ क्याम्पस महाराजगन्ज, नर्सिङ क्याम्पस पोखरा, नर्सिङ क्याम्पस विराटनगर, नर्सिङ क्याम्पस वीरगन्ज र नर्सिङ क्याम्पस नेपालगन्ज छन् । आइओएमले गत वर्ष पनि पिसिएल हटाउन प्रस्ताव दर्ता गरे पनि त्रिविको प्राज्ञिक परिषद्ले हटाउनुपर्ने स्पष्ट विकल्पसहित राय पठाउन सुझाव दिएको थियो । यसपटक आइओएमले पिसिएल नर्सिङ पढाउनका लागि सिटिईभिटी विकल्प रहेको, यथेष्ट जनशक्ति उत्पादन भएकोलगायत विकल्पसहित निर्णय गरेको डा. वन्तले बताए ।
त्रिविले तीन वर्षअघिको निर्णयअनुसार अन्य संकायबाट पिसिएल हटाइसकेको छ । नर्सिङ विषयको पिसिएल हटाउन भने पदाधिकारी स्वयं सहमत नभएका कारण सम्भव हुन सकिरहेको थिएन । अहिले आएर कलेजहरूले नै पिसिएल हटाउने माग गरिरहेकाले अब सम्भावना बढेर गएको डिन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया