कुखुरा व्यवसाय प्रभावित

धनगढी, १० वैशाख । बर्डफ्लु नभेटिए पनि यसको प्रत्यक्ष प्रभाव कुखुरापालन व्यवसायमा परेको छ ।

गदरिया गाविसका एक किसानले पालेका कुखुरामा बर्डफ्लु भेटिएको समाचार सार्वजनिक भएसँगै कुखुराको मासु र अन्डाको खपत घटेपछि यो व्यवसाय नै प्रभावित भएको हो ।
एक साताअघिसम्म प्रतिकिलो जिउँदो कुखुराको मूल्य १ सय ८० रुपिया रहेकामा बर्डफ्लुको त्रासका कारण मूल्य घटेर अहिले प्रतिकिलो १ सय ४५ पुगेको र मागसमेत घटेको स्थानीय व्यवसायी जितेन्द्र यादवले बताए ।
यस्तै, कुखुराको मासु प्रतिकिलो २ सय ८० बाट घटेर २ सय ५० पुगेको छ भने मासु र अन्डाको माग घटेपछि व्यवसायमा प्रतिकूल असर पुगेको व्यवसायीहरूले बताएका छन् । केही व्यवसायीले भारतबाट ल्याइएको चल्ला र दानाबाट यो रोगको समस्या आएको बताएका छन् भने अन्य कतिपयले चितवनका चल्लाबाट नै यो रोग सरेको आशंका गरेका छन् ।
कुखुरा तथा अन्डा उत्पादक किसान संघ कैलालीले भने रोग प्रभावित गदरियामा रहेको तालमा बसाइसराइ भई आएका विभिन्न चराबाट बर्डफ्लुको समस्या आएको आशंका गरेको छ । गत मंसिर, पुस र माघमा भारतबाट ल्याइएका चल्लाबाट नै यो रोगको समस्या अहिले देखिएको दाबी मासु व्यवसायी शंकर चन्दको छ ।
भारतमा प्रतिचल्ला भारु १७ मा पाउने गरेको छ । तर, नेपालमा भने प्रतिवटा चल्लाको ८० रुपियाँ पर्ने गरेकाले सीमा क्षेत्रबाट अवैधरूपमा भारतीय चल्ला ल्याई व्यवसाय गर्ने गरिएको छ । सामान्य अवस्थामा कैलालीमा दैनिक करिब १५ क्विन्टल कुखुराको मासु र ठूलो संख्यामा अन्डा खपत हुने गरेकामा बर्डफ्लुको त्राससँगै अहिले माग निकै घटेको छ । जिल्लामा उत्पादित कुखुरा र अन्डा सुदूरपश्चिमका अन्य जिल्लामा समेत बिक्री हुने गरेको थियो ।
पछिल्लो केही वर्षदेखि जिल्लामा कुखुरापालन व्यवसायप्रति आकर्षण बढ्दै गएसँगै लगानी पनि बढेकामा बर्डफ्लुको समस्यासँगै व्यवसायीहरू अहिले निरुत्साहित देखिएका छन् । यद्यपि बर्डफ्लु रोगका कारण आत्तिनुपर्ने अवस्था नरहेको पशु चिकित्सकहरू बताउँछन् । ‘हरेक व्यवसायीले रोग फैलिन नदिन अहिलेको अवस्थामा निकै सचेत हुनुपर्ने भए पनि आत्तिनुपर्ने अवस्था छैन, राम्रोसँग मासु पकाएर खाएमा कुनै समस्या आउँदैन ।’ जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. विनयकुमार कर्णले भने, ‘सीमाक्षेत्रबाट पक्षी र पक्षीजन्य वस्तुको अवैध आयात रोक्न सबैको सक्रिय प्रयास जरुरी देखिएको छ ।’
खुला सीमानाका कारण भारतबाट पक्षी र पक्षीजन्य वस्तु विनारोकतोक भित्रिने गरेकाले कैलाली बर्डफ्लु रोगको उच्च जोखिममा रहेको भए पनि यसको रोकथाममा प्रभावकारी पहल नभएको गुनासो कतिपय व्यवसायीको छ । नेपालमा बर्डफ्लु रोगको संक्रमण देखिएपछि सरकारले सीमाक्षेत्रबाट पक्षी र पक्षीजन्य वस्तुको आयातमा रोक लगाउँदै आएको छ ।
जिल्लामा करिब ६ सयभन्दा बढी कुखुरा फार्म रहेकामा प्रत्येक फार्ममा कम्तीमा पनि पाँच, छ लाख रुपियाँ लगानी रहेको जिल्ला पशुसेवा कार्यालयका अधिकृत मीनबहादुर थापाले बताए ।
यसैबीच, कुखुरा तथा अन्डा उत्पादक किसान संघ कैलालीले आइतबार पत्रकार सम्मेलन गरी बर्डफ्लुको समस्या गदरियाबाहेक जिल्लाका अन्य क्षेत्रमा नफैलिएकाले कुखुराको मासु र अन्डा पकाएर निर्धक्कसँग उपभोग गर्न सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया