उपाध्यक्षसहित तीनको राजीनामा

Deependra-bd-Kshetriकाठमाडौं, १० वैशाख । सरकार र राष्ट्रिय योजना आयोगका बीचमा असमझारी बढेको भन्दै योजना आयोगका

उपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीसहित तीनजना सदस्यले राजीनामा दिएका छन् । नेकपा माओवादी नेतृत्वको सरकारले नियुक्त गरेका उपाध्यक्ष क्षत्रीसहित अन्य सदस्यहरूले सोमबार अन्तरिम न्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उपाध्यक्षसहित राजीनामा दिनेहरूमा नकराज साह, शिवकुमार राई र अबदुर रहिम मिकरान रहेका छन् ।
उपाध्यक्ष क्षत्रीले सरकारका मन्त्रालयहरू, मन्त्रिपरिषद् र राष्ट्रिय योजना आयोगबीच असमझारी बढेकाले आफूहरू काम गर्नसक्ने स्थितिमा नभएको बताए ।

‘यस्तो असमझारीबीच हामी काम गर्न असमर्थ छौँ’ उपाध्यक्ष क्षत्रीले सौर्यसँग भने ‘हामीले बजेटमा समेत असहमति राखेका थियौँ, साथै एसिया प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (इस्क्याप) को बैठकमा उपाध्यक्षले जाने नियम विपरीत सरकारले सचिवलाइ पठाउने निर्णय गरेको छ ।’ क्षत्रीलाई डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले ०६८ भदौमा आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको थियो । सामान्यतया सरकार परिवर्तन सँगसँगै योजना आयोगमा पदाधिकारी परिवतर्न हुने प्रचलन रहेको छ । तर, यसपटक राजनीतिक दलहरूको सहमतिमा अन्तरिम मन्त्रिपरिषद् गठन भएको झन्डै दुई महिनापछि मात्र आयोगका पदाधिकारीले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया