चीनको कूटनीतिक सुझाव

साताव्यापी चीन भ्रमणपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेपाल फर्किएका छन् । चीनमा सरकार परिवर्तनपछि नेपाली नेता त्यहाँको भ्रमण गर्ने पहिलो र ऐतिहासिक व्यक्तिसमेत बनेका छन् । दाहालको यो भ्रमण नेपालका लागि निकै महत्त्वपूर्ण र व्यावहारिक भएको पनि बुझिएको छ । वास्तवमा यो भ्रमण आर्थिक एजेन्डामा केन्द्रित थियो भने राजनीतिक संकटबाट गुज्रिरहेको नेपालका लागि छिमेकी मुलुकको धारणा बुझ्ने अवसर पनि थियो । चीन र भारत दुई छिमेकी मुलुकसँग नेपालले समान र छलकपटरहित सम्बन्ध कायम गर्न सक्नुपर्ने अवस्थामा नेपाल रहेको छ । आर्थिक उन्नति गरिरहेका विश्वकै ठूला राष्ट्रहरू हाम्रा छिमेकी छन् । उनीहरूले गरेको उन्नतिबाट नेपालले पूर्णरूपमा फाइदा लिनसक्नु पथ्र्यो । तर, हाम्रो अदूरदर्शी र नालायक नेतृत्वका कारण हामीले छिमेकीहरूबाट राम्रा कुराहरू सिक्नै सकेनौँ । जसका कारण हामी गरिब मुलुक बन्न गतिशील बन्यौँ भने उनीहरू विकसित मुलुक बन्न तीव्र गतिमा अगाडि बढे । एमाओवादी अध्यक्ष दाहालको भ्रमणपछि उक्त पार्टीका नेता र कार्यकर्ताले विकास कार्यमा अवरोध नगर्ने, चन्दा आतंक नमच्चाउने, नियम कानुन पालना गर्ने र निर्माण भएका संरचना नभत्काउने प्रण गरे भने मात्र पनि त्यसलाई ठूलो उपलव्धि ठान्नु पर्छ । एमाओवादी अध्यक्षसमेत रहेका दाहाललाई भ्रमणका लागि निमन्त्रणा गरेर विशेष महत्त्व दिनुको कारण यो पनि थियो । साथै चीनले भत्काउन मात्र होइन बनाउन पनि सिक भन्ने सन्देश दिएको बुझ्न सक्नुपर्छ । यसरी बुझेका खण्डमा यो भ्रमण सफल ठानिनेछ ।
नेपाल अहिले राजनीतिक आर्थिक र जातीय द्वन्द्वबाट ग्रस्त छ । यो कुरा छिमेकी मुलुक चीनलाई राम्रोसँग थाहा छ । पश्चिमाहरूले नेपालमा क्रिश्चियन धर्म र जातीय मुद्दा भित्र्याएर अखण्ड नेपाललाई भत्काउने भूमिका खेलिरहेको पनि चीनले बुझेको छ । साथै नेपालको भूमि, नेपाली नेता र जनतालाई समेत प्रयोग गरेर फ्री तिब्बतको कार्यक्रम सञ्चालन हुन थालेको प्रति पनि चीन अनविज्ञ छैन । चीनले नेपालमा एउटा दह्रो मित्र शक्ति खोजिरहेको छ । यदि, एमाओवादी कूटनीतिक र व्यावहारिकरूपमा ठीक भए यसलाई चीनले विश्वास गर्नसक्ने थियो । तर, यसको नीति, व्यवहार र चरित्र ठीक छैन भन्ने कुरा चीनले राम्रोसँग बुझेको छ । क्रिश्चियन धर्म र जातीयताका मुद्दा नेपालमा भित्र्याउने यिनै एमाओवादी हुन् भन्ने पनि चीनलाई थाहा छ । भारतलाई गाली गरेर नथाक्ने एमाओवादी भारतले नै पालीपोषी हुर्काएको पार्टी हो भन्ने पनि सबैलाई थाहा भएको विषय हो । साथै माओवादी विचार बोकेको दलले देङस्याओ पिङलाई गद्दार र दक्षिणपन्थीको विल्ला भिराएको कुरा चीनले बिर्सदैन । यस्ता विभिन्न गल्ती गरेको भए पनि चीनले एमाओवादी अध्यक्षलाई विशेष महत्त्व दिएर विश्वास योग्य बन्न, चीन र भारतप्रति समान धारणा बनाउन, संघीयतामा जाँदा जातीय राज्य नामाकरण नगर्न, फ्री–तिब्बतको गतिविधि पूर्णरूपले रोक्नेलगायत विषयमा चीनले कूटनीतिक भाषामा सम्झाएको बुझिन्छ । यसप्रति सचेत हुन जरुरी छ ।
चीनको नेपालसँग मात्र होइन भारतसँग पनि उत्तिकै मित्रता छ । अहिले देखिएको विकसित सम्बन्धले कूटनीति हिसाबले चीन धेरै अगाडि छ भन्ने बुझाउँछ । एमाओवादी अध्यक्ष दाहालले भारत र चीनलाई मिलाएर लान्छु भन्ने कुरा गर्नु हास्यास्पद हो । चीन र भारतलाई मिलाउने गफ गर्नुभन्दा पनि आफ्नो मुलुक सम्पन्न बनाउने र दुवै छिमेकी मुलुकसँग समान रूपको सम्बन्ध कायम गर्ने नीति लिनुपर्छ । कहिले सुरुङ युद्ध लड्ने र कहिले चाबी उतै छ भन्ने जस्ता तुकरहित कुरा रोक्नुपर्छ । जसले जतिसुकै भने पनि भौगोलिक रूपले, धार्मिक र सामाजिक रूपले हामी भारतसँग नजिक छौँ । हाम्रो दैनिकी भारतसँग गाँसिएको छ । यसो हुँदाहुँदै पनि हाम्रा छिमेकी दुवै मुलुक हाम्रा लागि समान हुन् । यो कुरा चीनले समेत स्वीकारेको छ । यही कारण यो भ्रमणमा दाहाल समक्ष चीनले कूटनीतिक भाषामा पश्चिमा चलखेल रोक्न, फ्री–तिब्बत गतिविधि हुन नदिन, भरसक संघीयतामा नजान, गए पनि जातीयतामा नजान साथै संकट अन्त्य गरेर विकास कार्यगर्न सल्लाह दिए । यसलाई अन्त्यत गम्भीर भएर बुझ्न जरुरी छ ।

प्रतिक्रिया