प्रचण्डको कार्यक्रममा बम राखेको आशंकामा चार पक्राउ

Puspakamal-Dahal-Tiharबर्दिया, १० वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित रहेको आमसभामा बम विस्फोटन गराउने योजनामा रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरू सबै नेकपा–माओवादी (क्रान्तिकारी)का कार्यकर्ता हुन् ।

पक्राउ पर्नेमा क्रान्तिकारीका जिल्ला इन्चार्ज ३२ वर्षीय सागर भनिने हरिबहादुर सुनार, कालिका–१ बोगटियाका ३० वर्षीय बिर्खबहादुर थापा, सोरहवा–५ बस्ने ४४ वर्षीय कल्लु थारू र सोही ठाउँका ३९ वर्षीय दलबहादुर गन्धर्व रहेका छन् । उनीहरूबाट अवैध हतियार र विस्फोटक पदार्थ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उनीहरूबाट कटुवा पेस्तोल १ थान, २ राउन्ड गोली, एक थान बाल्टिन बमलगायत विस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी प्रमुख सुरेशविक्रम शाहले बताए । इलाका प्रहरी कार्यालय कोहलपुरको विशेष सुराकीका आधारमा उनीहरूलाई सोमबार बिहान पार्टी कार्यालयबाटै पक्राउ गरेको
शाहले बताए । प्रहरीले उनीहरूबाट पार्टीको दस्ताबेज, नगदी रसिद, लेटरप्याड, ब्यानर, निर्णय पुस्तिकालगायत बन्दोबस्तीका सामग्री पनि बरामद गरेको छ ।
एमाओवादीको सोमबार भएको आमसभालाई बिथोल्न विस्फोटक गतिविधि गर्ने आशंकामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एमाओवादीले बर्दियाको गुलरियामा सोमबार आमसभा आयोजना गरेको थियो । जसलाई अध्यक्ष दाहालले सम्बोधन गरेका थिए ।
उनीहरू सबैलाई प्रहरीले सोमबार सार्वजनिक गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट उनीहरूले एमाओवादीको आमसभालाई लक्ष्य गरी जिल्लाको प्रवेशद्वार मानखोला पुल आसपासमा बम राखेको थाहा भएको भेरी अञ्चल प्रहरी प्रमुख मधुप्रसाद पुडासैनीले बताए ।
उनीहरू सबैले नेकपा–माओवादी मातृका समूहबाट अलग भई नेकपा–माओवादी(क्रान्तिकारी) गठन गरेको अञ्चल प्रहरी प्रमुख पुडासैनीले बताए । यसअघि पनि उनीहरू बाँके र बर्दियामा विभिन्न आपराधिक काममा संलग्न भएको प्रहरीको ठहर छ । पक्राउ परेकालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया