मौसम सुध्रिन केही दिन लाग्ने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार आउन दुई/तीन दिन लाग्ने जनाएको छ ।
पूर्वमनसुनी प्रक्रिया र पश्चिमी वायुको संसर्ग भई त्यसको प्रभावले आइतबार वर्षा भइरहेको उल्लेख गर्दै महाशाखाले यो क्रम केही दिन चल्ने जनाएको हो । नेपालमा सामान्यत: १० जुनदेखि २३ सेप्टेम्बरसम्मको अवधिमा मनसुन प्रक्रिया चल्ने गर्छ । यसअघिको अवस्थालाई पूर्वमनसुन भनिन्छ ।
भूमध्यसागरबाट अफगानिस्तान, पाकिस्तान, भारतको हिमाञ्चल क्षेत्र हुँदै सुदूरपश्चिमबाट नेपालमा पश्चिमी वायु प्रवेश गरेको छ । पश्चिमी वायु मध्य तथा पूर्वी भेगतर्फ बहने प्रक्रिया सुरु भइसकेकाले मुलुकका पहाडी तथा तराई क्षेत्रका अधिकांश भागमा वर्षा भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् केशवदास श्रेष्ठले सोमबार अपराह्नसम्म उक्त वायुको प्रभाव रही वर्षा हुने तथा तराई क्षेत्रमा भने सो प्रक्रिया लम्बिने जानकारी दिए । महाशाखाका अनुसार आइतबार बिहान ९ बजेसम्म ओखलढुंगामा २, सुर्खेत र काठमाडौंमा ७, दाङमा १८, पोखरामा ३१ र भैरहवामा ४५ मिलिलिटर वर्षा भएको थियो । (सौस)

प्रतिक्रिया