चुनावका लागि दलीय सहयोग आवश्यक : यादव

विराटनगर : निर्वाचन आयोगका आयुक्त डा. अयोधीप्रसाद यादवले संविधानसभा चुनाव स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको बताएका छन् ।
आयोगले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा आयुक्त डा. यादवले संविधानसभा चुनाव, मतदाता नामावली संकलन र मतदाता शिक्षाबारे जानकारी दिँदै यस्तो बताएका हुन् । मतदाता नामावली अद्यावधिक गर्ने र नागरिकता वितरणको काम समन्वयात्मक रूपमा सँगसँगै हुन लागेको जानकारी दिँदै उनले छुटेका मतदाताले नाम दर्ता गराई मताधिकार सुरक्षित राख्न आग्रह गरे । राजनीतिक दल र सरोकारवालासँग आयोगको समन्वय र सहकार्य आवश्यक भएकाले राजधानीबाहिर पहिलोपटक यस्तो कार्यक्रम गरिएको उनको भनाइ थियो ।
मोरङ, झापा र सुनसरीबाट प्रतिनिधित्व गरेका पूर्वसभासद्, राजनीतिक दलका जिल्ला नेतृत्व, जिल्ला कार्यक्रम व्यवस्थापन समितिका सदस्य, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, जिल्लास्थित सुरक्षा निकाय, सिडिओहरू कार्यक्रममा सहभागी थिए । आयोगका सहसचिव मधुप्रसाद रेग्मीले संविधानसभा चुनावको पृष्ठभूमि र कानुनी व्यवस्थाबारे र उपसचिव एकनारायण शर्माले मतदाता नामावली, मतदाता शिक्षा र चुनावको तयारीका विषयमा बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गरेका थिए । (सौस)

प्रतिक्रिया