अपहरणकारी सइ र असइ थुनामा

काठमाडौं, ९ वैशाख । दुई व्यापारी अपहरण गरी रकम असुलेको अभियोगमा नेपाली प्रहरीका एक प्रहरी नायब निरीक्षक(सई) र एक प्रहरी सहायक निरीक्षक(असइ)लाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । घटनाका मुख्य योजनाकार भनिएका अर्का सइ राजु भण्डारीलाई भने धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

न्यायाधीश बालकृष्ण उप्रेतीको इजलासले आइतबार नेपाल प्रहरीका सइ रुद्रराज पौडेल र असइ प्रकाश मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । पुरातात्त्विक महत्त्वका मूर्ति बेचबिखन गरेको अभियोगमा दुई व्यापारीलाई गौरीघाटबाट अपहरण गरी २ लाख ६० हजार नगद र एक मोटरसाइकल असुल गरेको प्रारम्भिक ठहर गर्दै जिल्ला अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको छ ।
तर, नेपाल प्रहरीको अनुसन्धानमा व्यापारीबाट मोटरसाइकल असुल गरी आफन्तको घरमा लुकाइराख्ने सइ राजु भण्डारीलाई भने डेढ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । नेपाल प्रहरीले व्यापारीबाट असुल गरेको मोटरसाइकल भण्डारीका आफन्तजनको घरबाट बरामद गरेको थियो ।
जिल्ला अदालतले व्यापारीद्वय सूर्यबहादुर तामाङ र कर्णध्वज लिम्बूलाई अपहरण गरी रकम असुल गरेको प्रारम्भिक दोषी ठहर गर्दै पौडेल र मल्ललाई पुर्पक्षका लागि थुनामा पठाएको हो । उनीहरूलाई जगन्नाथदेवल कारागारमा थुनाका लागि पठाएको छ । अपहरणमा तत्काल कम दोषी ठहर गर्दै भण्डारीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
अदालतले मुलुकी ऐनका ३ र ७ नम्बर महलअन्तर्गत उनीहरूलाई थुनामा राख्न आदेश दिएको हो । ३ र ७ नम्बर महलमा ४ वर्षदेखि ८ वर्षसम्म थुनामा रहन सक्ने व्यवस्था छ । तर, संगिन अपराध गरेको अभियोगमा थप दुई वर्ष पनि हुनसक्ने व्यवस्था छ ।
व्यापारी अपहरणमा ५ प्रहरी सहभागी भएको भन्दै काठमाडांै सरकारी वकिलको कार्यालयले अपहरण तथा शरीर बन्धकमा मुद्दा चलाएको थियो । मुद्दा चलाइएकामध्ये दुई जना फरार रहेका छन् । पुरातात्त्विक महत्त्वका मूर्ति बेचबिखन गरेको अभियोगमा प्रहरीले व्यापारीद्वय तामाङ र लिम्बूलाई अपहरण गरी गौरीघाटको एक होटलमा बन्धक बनाएको र त्यही व्यापारीबाट १० लाख फिरौती मागेको दाबी प्रहरीले गरेको थियो ।

प्रतिक्रिया