मुलुकलाई दीर्घकालीन नेतृत्व दिन्छौं : दाहाल

Puspakamal-Dahalकाठमाडौं, ८ वैशाख । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई सक्षम दीर्घकालीन नेतृत्व आवश्यक रहेको बताएका छन् ।
राजधानीमा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारीको)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै दाहालले मुलुकलाई दीर्घकालीन नेतृत्व दिन एमाओवादी मात्रै सक्षम रहेको दाबी गरे ।
‘आउँदा दिनमा मुलुकको नेतृत्व एमाओवादीले लिन्छ,’ उनले भने, ‘नेतृत्व लिने गरेर सोहीअनुसार अगाडि बढ्न विद्यार्थीलाई आग्रह गर्छु ।’
उनले एमाओवादीका शीर्ष नेतृत्वको हैसियतले आफूले हालै गरेको चीन भ्रमणले पनि नेपालको आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए । उनले नेपालाई चीनले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको पनि बताए ।
संविधानसभाको नयाँ निर्वाचनले मुलुकको भाग्य र भविष्यको फैसला गर्ने उनको भनाई छ । उनले भने, ‘थोरैमात्र कमजोरी भए मुलुकमा ठूलो अनिष्ट आउन सक्छ ।’

प्रतिक्रिया