असिनापानीले जनजीवन प्रभावित

Puthanप्युठान, ८ वैशाख । शुक्रबार बेलुका परेको असिनापानीले उत्तर पूर्वी प्युठानका किसानलाई ठूलो क्षति पुगेको छ । असिनापानीका कारण बाली, तरकारी तथा फलफूल खेती नष्ट भएको छ ।

गहुँ भित्र्याउन ठिक्क परेका किसान असिनापानीले बाली नष्ट गरेपछि चिन्तित भएका छन् । ‘कतिपयले गहुँ काटेर खेतमै राखेका थिए, असिनापानी परेपछि नष्ट भएको छ’, स्थानीय पदम जिसीले भने, ‘काट्न बाँकी गहुँ पनि नष्ट भएको छ ।’ गहुँबाली नष्ट भएकाले यस क्षेत्रमा खाद्य संकट हुने उनले बताए ।
तरकारी खेतीका लागि पकेट क्षेत्र मानिने ओखरकोट र बादिकोट गाविस आलखोलामा पनि असिनापानीले लाखौँको क्षति पुर्‍याएको छ । खेतमा लगाएका आलु, कोपी, सिमी, प्याज, लसुनआदी नष्ट भएका छन् । यहाँ उत्पादित करिब ७५ प्रतिशत तरकारी जिल्लाका प्रमुख व्यापारिक केन्द्र मच्छी, बाग्दुला, विजुवार र खलंगामा खपत हुने गरेको छ । असिनाले भर्खरै फूल लाग्न थालेका आँप, सुन्तला, कागती, कमला, आरु, आरुवखडालगायत हिउँदे फलफूलमा पनि क्षति पुर्‍याएको छ ।
त्यसैगरी वर्षाका कारण मच्छी–ठूलासेसी सडक खण्डको ओखरकोट–५ आलखोलामा रहेको पक्की पुल भत्कदा प्यूठान–गुल्मी सडक खण्ड अवरुद्ध भएको छ । यात्राका लागि निस्केका स्थानीय बीच बाटोमै अलपत्र परेका छन् । घरमा पानी पसेपछि ओखरकाट–५ चिसापानी गाउँ जलमग्न भएको छ । यहाँका १० घरमा पानी पसेपछि स्थानीय त्रसित छन् । ‘१० घरको बास छैन, सत्यानास भो’, स्थानीय ८१ वर्षीय वेलबहादुर दमाईले भने । ओखरकोट, बाँदिकोट, तुषारा, नारिकोट, लिवाङ, खुङ, पूजा, रजवारा, अर्खा र गुल्मीको अग्लुङ गाविस असिनापानीबाट प्रभावित भएको छ । जिल्लाको विकट मानिने अर्खा, रजवारामा लगाइएको मकैंबालीमा असिनापानीले असर पुर्‍याएको छ ।
शुक्रवार बेलुका परेको चट्याङले रजवाराका १८ वटा भैँसी मरेको स्थानीय श्रृजना सेनले बताए । बाँदिकोटको सिस्ने खोला र ओखरकोटको आलखोलामा पानीको बहाव बढेपछि यहाँ खानेपानीको समस्या भएको छ । खोलाले खानेपानीका पाइपहरू भत्काएपछि स्थानीयले खोलाको पानी पिउन थालेका छन् ।

प्रतिक्रिया