एमाले नेताका अनुहार मात्र पत्याउने खालका : ओली

Kp-Oliदोलखा, ८ वैशाख । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले संविधानसभा निर्वाचनमा होमिन आफ्नो पार्टी तयार भइसकेको बताएका छन् । चरिकोटमा एमाले दोलखाको आठौँ अधिवेशन उद्घाटन गर्दै नेता ओलीले यस्तो बताएका हुन् ।

उनले निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबीसमेत गरे । एमालेबाहेक अरू कुनै दलले संविधान बनाउन नसक्ने उनको दाबी थियो । ‘संविधान निर्माणका लागि एमाले नेताहरूको अनुहार मात्र पत्याउने खालका छन्,’ उनले भने ।
चुनावी प्रचारसभाको शैलीमा आठौँ जिल्ला अधिवेशन आयोजना गरेर दोलखा एमालेले संविधानसभा निर्वाचनको लागि पूर्ण रूपमा तयार भएको संकेत गरेको छ । सभा र जुलुसमा सूर्य चिह्न अंकित एमालेको झण्डा बढी थिए । हँसिया हथौडा अंकित झन्डा कसैकसैले मात्र बोकेका थिए । प्रतिनिधि र स्वयमसेवकले सूर्य चिह्न अंकित गन्जी लगाएर मत मागेका थिए । जुलुस र सभास्थलमा समेत सहभागीहरूले निर्वाचन माग गर्दै नारावाजी गरे ।
दोलखामा एमाले मात्र होइन, अन्य दलले समेत चुनावी तयारी आरम्भ गरेका छन् । पार्टीका नेता कार्यकर्ता निर्वाचन केन्द्रित भएर जिल्ला र गाउँगाउँमा कार्यक्रम गर्न सक्रिय हुन थालेका छन् ।

प्रतिक्रिया