डाक्टर नहुँदा अहेवको भर

राजविराज, ७ बैशाख । जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतका कुनै पनि प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुदा सप्तरी जिल्लामा स्वास्थ्य सेवा प्रभावित भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर अभाव भएपछि सदरमुकामबाहेक गाविसहरुमा अहेवको भरमा स्वास्थ्य सेवा चलिरहेको छ । सप्तरीका प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहरु आउनै नमान्ने र आईहाले पनि सरुवा मिलाएर अन्यत्र जाने परम्पराले जिल्लामा डाक्टरको अभाव देखिएको हो । सबै प्राथमिक सेवा केन्द्रहरु स्थापना कालदेखि नै डाक्टरको अभावमा चलिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा हाल १ अञ्चल अस्पताल, ४ प्राथमिक स्वास्थ्य केन्द्र, २१ स्वास्थ्य चौकी र ८८ वटा उपस्वास्थ्य चौकी सञ्चालनमा छन् । कन्चनपुर, तोपा, कल्याणपुर र कडरवोना गरी चारवटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरवन्दी रहेपनि हाल डाक्टर नभएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य तथा सूचना अधिकृत डम्वरनारायण साहले वताए ।
सरकारले जिल्लाको स्वास्थ्य सेवा चुस्त वनाउन सवै प्राथमिक स्वास्थ्य केन्द्रमा १ मेडिकल अधिकृत, १ हेल्थ असिस्टेण्ट, १ स्टाफनर्स, ३ अनमी, २ अहेव, १ ल्याव असिस्टेण्ट र अन्य सपोर्टिङ्ग कर्मचारीको ब्यवस्था गरेपनि डाक्टरहरु नआएपछि हेल्थअसिस्टेण्ट प्रशासनिक काममै ब्यस्त हुने गरेको र अनमि तथा अहेवको भरमा विरामीको उपचार सेवा सञ्चालन भईरहेको साहको भनाई छ ।

प्रतिक्रिया