चिठी नोस्टाल्जिया

Madhab-sayapatri‘विरहले कैलेकाहीँ मुटु मेरो छुन्छ
भैगो साथी अब मलाई बिर्सिदिए हुन्छ ।’
साथी विकास महर्जनलाई म चिठीमा यस्तै विरही गीत वा कविता लेखेर पठाउँथेँ । ऊ पनि गीत वा कवितामै उत्तर दिन्थ्यो । म विकासका चिठीको प्रतीक्षामा बस्थेँ । प्रतिक्षामा एक किसिमको आनन्द थियो । टाढाको हुलाकसम्म चिठी लिन पुग्थेँ । विकासका चिठी १५ दिन आइपुगेनन् भने मेरो मनलाई ‘चिठी नोस्टाल्जिया’ ले मर्ममर्ममा प्रहार गथ्र्यो । प्रहार सहन नसकी म सिकारीले वाण हानेर भुइँमा झारेको र प्राण गैनसकेको चराझैँ हुन्थेँ । बाँउडिएको, बहकिएको र कुँडिएको मन ठेगानमा ल्याउने एकमात्र साधन बन्यो–चिठी ।
पुष्कर, विष्णु, सुरेश, माया, सुरेन्द्रले पनि सन्चोबिसन्चोका कुरा लेखी फाट्टफुट्ट चिठी पठाए । तर, विकास चिठीमा निकै गम्भीर र समसामयिक सन्दर्भका विषयहरू उठाउँथ्यो । सँगै हुँदा हामीबीच ‘ता’ र ‘तिमी’ चले पनि चिठीमा ऊ मलाई ‘तपाईं’ सम्बोधन गरी लेख्थ्यो । आज पनि विकासका चिठीले मलाई २५ वर्षअघिका कुराको सम्झना दिलाउँछ । ०४४ देखि ०४९ सम्म विकासले मलाई एकसय जति चिठी पठायो । चिठीमा पहाड र गाउँघरका कुरा पनि लेखेर पठाउन भन्यो । मैले लेखेर पठाएँ । गाउँघरको अवस्था जान्न पाउँदा ऊ निकै खुसी भयो । ऊ मेरो चिठी पाएकै दिन चिठी लेख्थ्यो । मैले चिठी लेख्न ढिलो गरेँ भने ऊ अर्को चिठीमा गुनासो गथ्र्यो । उसले सहरका कुरा लेखेर पठायो । रेडियो नेपालबाट प्राप्त हुने जानकारीबाहेक विकासका चिठीले नै मलाई देशको केन्द्रीय गतिविधि र काठमाडौंका बारेमा धेरथोर ‘अपडेट’ गराइराख्यो ।
स्कुलको सेन्टअप परीक्षापछि मैले विकासलाई उसको घरमै गएर पढाइमा सहयोग गरेँ । अनिवार्य गणित र अंग्रेजीमा ऊ मभन्दा कमजोर थियो । टेस्टमा पनि ऊ मरीतरी पास भएको थियो । विकास भन्थ्यो, ‘तिम्रो सहयोगले मलाई ठूलो काम गऱ्यो । नत्र मलाई एसएलसी पास हुन धौधौ पथ्र्यो ।’ त्यही गुन सम्झेर हो कि, उसले मलाई पछिसम्म सम्झिरह्यो ।
मैले आफ्ना झोलाझाम्टा बोकेर काठमाडौं छाडेको १५ दिनपछि दशरथ रंगशालामा विभत्स र दर्दनाक एउटा घटना घट्यो । फुटबल खेल भइरहेको बेला भयानक आँधीहुरीको साथै असिनापानी परेकाले दर्शकहरूबीच भागदौड मच्चियो । बाहिर निस्कने मूलढोका बन्द गरिएको हुनाले दर्शकहरू निस्कन पाएनन् । त्यसपछि मान्छेमाथि मान्छे भए । भीडमा किचिएर नौजनाको घटनास्थलमै मृत्यु भयो । कति बेहोस भए, कति घाइते । रेडियोबाट त्यो दु:समाचार सुन्दा आङै सिरिंग भयो । त्यो दु:खद घटनाको वर्णन गर्दै विकासले चिठीमा लेखेको छ, ‘मित्र, तपाईंले सुनिसक्नुभएको छ, गत फागुन २९ गतेको दु:खद घटनाको कुरा । म एकपटक स्मरण गराउन चाहन्छु । किनभने तपाईं देशलाई औधी माया गर्नुहुन्छ । विष्णुले धेरै कर गरे पनि म रंगशालामा खेल हेर्न गइनँ । लास र घाइतेलाई त्रिवि शिक्षण अस्पताल ल्याएको सुनेपछि म तुरुन्तै त्यहाँ गएँ । बिरामीसँग सोधपुछ गरेँ । सबैले एउटै कुरा बताए, ‘ढोका बन्द थियो ।’ मुर्दाघरमा पुग्दा मेरो शिर निहुरियो । नौजनाको लास एकै ठाउँमा, एकै समयमा पर्दा कसको शिर निहुरिँदैन होला ! म त्यहाँबाट भगवान्सित प्रार्थना गर्दै बाहिरिएँ –मृतकको संख्या त्योभन्दा नबढोस् । मैले प्रशासनलाई दोष लगाएँ । तपाईंले यो दुर्घटनाबारेमा के सोच्नुभएको छ । पत्रमा लेखेर पठाउनु होला ।’
मैले त्यो दुर्घटनाबारेमा थाहा पाएको कुरा पत्रमा लेखेर पठाएँ । ०४६ मा बहुदल घोषणा लगत्तै कलंकीमा आन्दोलनकारीले आवेशमा आएर निर्मम तरिकाले प्रहरीजवानहरूको हत्या गरेको कुरा लेखेर पठायो । ०४८ को संसद्को चुनावमा ऊ बसेको क्षेत्रबाट दमननाथ ढुंगाना र मल्ल के. सुन्दरबीच चुनावी प्रतिस्पर्धाको कुरा पनि लेख्यो । बहुदलीय व्यवस्थामा पनि कांग्रेसी सरकारले संसाँझै पसल बन्द गर्न लगाएकोप्रति रोष प्रकट गर्दै मलाई चिठीमार्फत जानकारी गरायो । उसकै शब्द हो, ‘कांग्रेस पञ्चेभन्दा पनि तल गिर्‍यो ।’
विकास टाइपराइटरमा टाइप गर्न सिक्दैरहेछ । एसएलसी परीक्षाको रिजल्ट भएकै दिन अर्थात् ०४५ जेठ २६ उसले मलाई एउटा पत्र आपैँmले टाइप गरी लेखेको रहेछ । तर, त्यो चिठी एक महिनापछि मात्र मेरो हातमा आइपुग्यो । बाफ् रे बाफ् ! चिठीको खाममै मेरो नाम टाइप गरिएको ! त्यो देखेर म भित्रैदेखि हर्षले गदगद भएँ । चिठी खोलेर हेरेँ । लिथोपेपरको पानाभरि टाइप अक्षर ! त्यसमा उसले म प्रथमश्रेणीमा एसएलसी पास भएकोमा बधाइ दिएको रहेछ । शिवपुरी माविबाट प्रथम, द्वितीय र तृतीय श्रेणीमा पास भएका र फेल भएका साथीहरूको नामसमेत लेखेको छ ।
स्कुल छुट्टी भएपछि बेलुकासम्म पनि उसको घरमा नगए मलाई के बिर्सेँ जस्तो लाग्थ्यो । अप्ठ्यारो लागेर होला, ऊ मेरोमा आउँदैनथ्यो । उसको खुद्रा र फलफूलको पसल थियो । गएपछि एक न एक चीज खान दिन्थ्यो । सोच्थेँ, ‘मेरो पनि पसल भएको भए उसलाई बोलाएर केही खान दिन्थेँ हुँला ।’ मेरो दैनिकजसो घुम्ने ठाउँ शीतलनिवासदेखि पानीपोखरीसम्म थियो । मेरा लागि त्यो क्षेत्र ‘रेड एरिया’ नै थियो । एउटा साथीको पसल पनि थियो । पसलमा गोरखापत्रका अतिरिक्त परिमल, कामना, विज्डम, साप्ताहिक जनआवाज, देशान्तर साप्ताहिक, चक्षु, नवरस, हिन्दू साप्ताहिक, समीक्षा तथा विमर्श साप्ताहिक म त्यहीँ पढ्थेँ । समीक्षामा छापिएको नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष डा. डिल्लीरमण रेग्मीको अन्तर्वाताले त्यतिबेला राजनीतिकवृतमा सनसनी फैलाएको थियो । उनको अन्तर्वाताबाट पञ्चायत अन्तिम घिडघिडोमा रहेको छनक मिल्थ्यो । पसलको डोरीमा स्पाइडर म्यानका कमिक्स नै कमिक्स झुन्ड्याइएको हुन्थ्यो । मैले ती कमिक्स पनि निकै पढेँ । घरमा परिस्थिति हेरेर साथीकोमा जान साइकल चढी म चम्पट कस्थेँ । साथीहरूकोमा पढाइ र साहित्यका कुरा गरेर आएपछि बेग्लै आनन्द आउँथ्यो । महाराजगञ्जको त्यही मुख्य बजारमा मेरा दशजना जति साथीहरू बस्थे । सबैका त्यहाँ आफ्नै घर थिए । तर, मेरा भने आफन्त पनि थिएनन् । आफन्त भनेकै तिनै साथीहरू थिए । म नोकर बसेको भए पनि तिन्ले कहिल्यै पनि मलाई नोकरलाई गर्ने व्यवहार गरेनन् । सबैकाबीच सम्मानित थिएँ । साथीहरू मेरा साहित्यिक रचना सुन्न आतुर हुन्थे ।
पछिल्लोपटक ०४९ सालमा म विकासकोमा गएका थिएँ । उसले मेरा लागि जम्मा पारेर राखिदिएका मधुपर्क र युवामञ्च खुसी हुँदै झोलामा हालेँ । खानापछि हामी छुट्टियौँ । त्यसयता हाम्रो भेट भएको छैन । ०५० सालबाट विकासले मलाई चिठी पनि पठाउन छाड्यो । सम्झन्छु, विकास कहाँ के काम गर्दो होला ! अरू साथीहरू कहाँ पुगे होलान् ! साथी खोज्दै जाउँm भने मेरो उपन्यास ‘सीमान्त विचलन’ को मुख्यपात्र ‘सागर’ कै जस्तो हविगत हुने त हैन !

प्रतिक्रिया