नयाँ वर्ष

Devika-Raiप्रत्येक दिन दालभात तर्कारीसँगै मन पकाउँछु
नुन खुर्सानीको अचारसँगै अमिलो मन पिस्छु
जुठोभाँडा र लुगाहरूसँगै मनको मैलो पखाल्छु
घरका कोठासँगै मनका कोठा सफा गर्छु

त्यसपछि हरेक दिन दिनभरि मन टालेर बस्छु
फाटेको मन, उध्रेको मनलाई मिल्ने
आफ्नै टुक्रिएको मनको टालोले
छोपेर सिंगो मन सजाउन खोज्छु ।

एकातिर छोराको घुँडा टालूँ कि छोरीको चोली
अर्कोतिर चुहिने छानो टालौँ कि आफ्नै फाटेको धोती
खोई चुहेको मन टालूँ कि आफ्नै फाटेको चित्त

मट्टीको कसम खाने मन भट्टीमा लम्पसार परेपछि
मट्टी बनौँ कि भट्टी नै बनूँ
रक्सीले टाल्छ कि मन
चुरोटको सर्को प्यारो भएपछि
चुरोटको खिली नै बनूँ कि
धूवाँले टाल्छ कि मन

मन न हो, फाट्न कतिबेर लाग्दो रै’छ र
मनको रंग सधँैभरि एकै कहाँ हँदो रै’छ र
नोटले भोट किनेजस्तै कहाँ किनिन्छ र मन
बजारमा पाइने नयाँ लुगाजस्तो फेर्न कहाँ सकिन्छ र मन

धुजाधुजा मन टाल्दा टाल्दै
छरिएको खुसी मन बटुल्छु भन्दाभन्दै
एक्लो र संग्लो मन जिउँछु भन्दाभन्दै
सदाझँै बितिगएछ यो वर्ष पनि
खोइ, नयाँ वर्ष लागिसकेछ दिनहरू गन्दागन्दै ।

प्रतिक्रिया