टीकोटालो गरी फरार भएको भन्दै सडक बन्द

Chitwanचितवन, ६ वैशाख । टीकाटालो गरेर विवाह नगरी एक व्यक्ति फरार भएको भन्दै पूर्वी चितवनको बकुल्लहरमा गरिएको सडक अवरुद्ध खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदशर्नकारीलाई सडकबाट हटाई प्रहरीले दुई घन्टापछि अवरुद्ध सडक सुचारु गरेको थियो ।

झडपमा परी प्रदर्शनकारीतर्फ एक महिला र अर्का एक प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले लाठी प्रहार गर्न थालेपछि करिब आधा घन्टा झडप भएको थियो । झडपमा परी रत्ननगर निवासी कल्पना मिया र प्रहरी हवलदार राजीव सिंह घाइते भएका छन् । घाइते दुवैलाई थप उपचारका लागि भरतपुर लगिएको छ । सडक अवरुद्ध गर्नुअघि प्रदर्शनकारीले नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय रत्ननगर घेराउ पनि गरेका थिए ।
रत्ननगर–३, वेल्सी निवासी सुजन खनाल र  रत्ननगर–८ पसौनी निवासी निशा ढकालबीच फागुन ३० गते टीकाटालो भएको थियो । वैशाख ११ गते उनीहरूबीच विवाह हुने निधो भएको थियो ।
कुनै कारणविना बिहेको मुखैमा केटा फरार भएपछि पीडित केटीपक्ष आक्रोशित भएका हुन् । केटाले केटीलाई फोन गरी ‘आफ्नो सुर गर’ भनी धम्की दिने गरेको केटीका काका रामबाबु ढकालले बताए ।  केटाले धम्की दिएपछि केटीपक्षले प्रहरीसमक्ष उजुरी गरेको थियो । उजुरीपछि पक्राउ परेका केटालाई प्रहरीले त्यसै छोडेपछि केटीका आफन्त र टोलवासीले सडक बन्द गरेका हुन् ।
एक्कासी सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु भने बीच बाटोमै अलपत्रमा परेका छन् । रत्ननगर–३ वेल्सी निवासी सुजन खनालले रत्ननगर–८ पसौनी बस्ने निशा ढकालसँग विवाहका लागि गत फागुन ३० गते भव्य रूपमा टीकाटालो गरेका थिए । यही वैशाख ११ गते विवाह गर्ने दिन तोके पनि केटाले विनाकारण सम्पर्क बाहिर रहेपछि आक्रोशित केटीपक्षले सडक अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया