ठगीको अरोपमा लोकगायिका पक्राउ

Srijana-Birahi-Thapaकाठमाडौं, ६ वैशाख । मलाई यति हुन लेखेको, 

नरोई सुख्ख के पाउँथे निरमाया,

 उही दिनमा रुन लेखेको, 

जानाजानी भीरमाथि बसेर,

आज घाइते भा’की छु खसेर ।

माथिको चर्चित लोकगीतकी गायिका सिर्जना थापा(विरही) गीतको शब्दजस्तै अहिले रोइरहेकी छन् । उनलाई ढुकुटीमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेबाट खटिएको टोलीले थापालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
गायिका थापाले ३० लाख ३५ हजार रुपियाँ ठगी गरेको भन्दै पूजा रायमाझीले उजुरी हालेपछि प्रहरीले उनलाई रानीबारीस्थित डेराबाट पक्राउ गरेको हो । रकम लेनदेनको विषयमा झगडा भइरहेको सूचना पाएपछि प्रहरीको टोली थापाको डेरामा पुगेको थियो ।
घटनास्थलमै मिलाउन खोजिएको दुई पक्षबीचको झगडा अनियन्त्रित बनेपछि छलफल गर्न भन्दै प्रहरीले दुवै पक्षलाई प्रहरी प्रभाव सोह्रखुट्टे लगेको थियो । छलफल निष्कर्षमा पुग्न नसकेपछि रायमाझीले थापाविरुद्ध ठगी गरेको भन्दै उजुरी हालेकी थिइन् । उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेपछि उक्त रकम ढुकुटी खेलाउने क्रममा लिएको खुलेको थियो ।
‘छलफलका क्रममा थापाले उक्त रकम ढुकुटी खेलाउन लिएको देखियो । तर, प्रमाण भने फेला परेको छैन । थप अनुसन्धानका लागि थापालाई हामीले हनुमानढोका पठायौँ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने । प्रहरीका अनुसार उजुरीमा ढुकुटीका लागि नभई ऋणस्वरूप घरायसी कामका लागि रकम दिइएको उल्लेख गरिएको छ ।
तर, रकम दिइएको प्रमाण भने भेटिएको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी चक्रबहादुर सिंहले रकम लेनदेन गरेको कुनै प्रमाण नभेटिएको बताए । ‘३० लाखभन्दा धेरै रकम ठगी गरेको भन्दै उजुरी परेको छ । तर, लेनदेन भएको प्रमाण भेटिएको छैन,’ उनले भने ।
प्रहरी हिरासतमा रहेकी थापाले पनि उक्त रकम ढुकुटी खेलाउने क्रममा लिएको
स्विकारेको प्रहरीले बताएको छ । तर, प्रमाण भने त्यसको पनि नभेटिएको प्रहरीको भनाइ छ । ‘ढुकुटी खेलाउने गरेको भन्ने सूचना हामीले पनि पायौँ । तर, त्यसको पनि प्रमाण भेटिएको छैन । ढुकुटी नै खेले पनि टिपोट गरिएको कागजपत्र त भेटिनुपथ्र्यो नि †’ डिएसपी सिंहले भने ।
थापाविरुद्ध ठगिएको उजुरी परे पनि प्रमाण केही फेला नपरेकाले कुन मुद्दाअन्तर्गत कारबाही गर्ने भन्ने विषयमा प्रहरी अलमलमा परेको छ । ‘ढुकुटी खेलाएको प्रमाण केही छैन । रकम लेनदेन गरेको प्रमाण पनि केही छैन । उनलाई कसरी कारबाही गर्ने भन्ने विषयमा हामी छलफल गर्दै छौँ,’ डिएसपी सिंहले भने ।
स्रोतका अनुसार थापा विगतदेखि नै ढुकुटीको पेसेवर खेलाडी हुन् । ढुकुटी खेलाएकै आरोपमा दुई वर्षअघि पनि प्रहरीले उनलाई पक्राउ गरेको स्रोतले बतायो । त्यतिबेला थापासहित केही व्यक्तिलाई प्रहरीले सामाखुसीस्थित घरबाट पक्राउ गरेको थियो । छापा मार्न पुगेको प्रहरीले थापालाई ढुकुटीको खालबाटै पक्राउ गरेको थियो ।
बैंकिङ कसुरअन्तर्गत ढुकुटी खेललाई गैरकानुनी मानिन्छ । ढुकुटीमा निक्षेप संकलन हुने भएकाले यो गैरकानुनी हो । बैंकिङ ऐनले बैंकबाहेक कसैलाई पनि निक्षेप संकलन गर्ने अधिकार दिएको छैन ।

प्रतिक्रिया