जहाज खरिद गर्न सञ्चय कोषसँग ऋण लिने तयारी

aeroplaneकाठमाडौं, ५ वैशाख । नेपाल वायुसेवा निगमले दुईवटा नयाँ जहाज खरिदका लागि कर्मचारी सञ्चय कोषसँग रकम लिने तयारी गरेको छ । निगमले सरकार र वाणिज्य बैंकहरूसँग सो रकम माग गरे पनि तत्काल उपलब्ध हुन नसक्ने देखेपछि सञ्चयकोषसँग रकम लिने तयारी गरेको हो ।
सरकार जमानीमा बस्नेगरी सो रकम उपलब्ध गराउन सञ्चय कोषसँग माग गरिएको निगम अधिकारीले बताए । ‘निगमले कोषसँग नयाँ जहाज खरिदका लागि नौ अर्ब रकम माग गरेको छ । तर, व्याजको विषयमा सहमति हुन भने सकेको छैन्’ सञ्चयकोषका एक अधिकारीले भने ‘निगमले ८ देखि ९ प्रतिशत व्याज तिर्ने जनाएको छ तर हामीले ११ देखि १२ प्रतिशत व्याज दिनुपर्ने प्रस्ताव गरेका छौँ ’ ।
कर्मचारी सञ्चय कोषले नेपाल आयल निगमलाई १२ प्रतिशत व्याजमा ८ अर्ब ऋण प्रवाह गरेको छ । कोषले आयल निगमबाट लिइरहेको भन्दा कम व्याजमा क्रण प्रवाह गर्न नमिल्ने जनाएको छ । तर, वायुसेवा निगमले नौ प्रतिशतसम्म व्याज तिर्न आफूहरू तयार भएको जनाएको छ । कोषका प्रमुख प्रशासक कृष्ण आचार्यले जोखिम र सुरक्षाको हिसाबले निजी क्षेत्रहरूमा लगानी गर्नुभन्दा वायुसेवा निगमलाई ऋण प्रवाह गर्नु उचित हुने बताए । ‘वायुसेवा निगमलाई ऋण प्रवाह गर्ने विषयमा हामीलाई प्रस्ताव आइसकेको छ तर सञ्चयकोष सञ्चालक समितिका अध्यक्ष अहिले बाहिर भएकोले सञ्चालन समितिको बैठक बस्न सकेको छैन’ कोषका प्रशासक आचार्यले सौर्यसँग भने ‘हामीले कुन–कुन सर्तमा कसरी ऋण प्रवाह गर्ने भनेर हाम्रो तालुकवाला अर्थ मन्त्रालयसँग पनि छलफल गर्न बाँकी छ’ ।
निगमले न्युरोडमा रहेको आफ्नो कार्यालयसहित सो क्षेत्रको १४ रोपनी जग्गा, खरिद गरिने दुईवटा नयाँ जहाजलाई समेत धरौटीमा राख्नेगरी सञ्चयकोषसँग ऋण माग गरेको हो । निगमले सरकार जमानत बस्ने गरी ऋण प्रदान गर्न कोषलाई पत्र पठाइसकेको छ । प्रशासक आचार्यले सरकार जमानतविना सञ्चयकर्ताको रकम लगानी गर्न नसकिने बताए । निजी र सरकारी क्षेत्रका गरी कर्मचारी सञ्चयकोषमा झन्डै पाँच लाख सञ्चयकर्ता रहेका छन् । कोषमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती, बैंकिङ, शिक्षकलगायत विभिन्न क्षेत्रका सञ्चयकर्ताको एक खर्ब २५ अर्ब पुँजी रहेको छ । कोषले आफ्नो कुल पुँजीको ५० प्रतिशत रकम सञ्चयकर्तालाई कर्जा प्रवाह गरेको छ भने २७ अर्ब जलविद्युत् क्षेत्रमा लगानी गरेको छ । साथै, कोषले नेपाल सरकारकै जमानीमा आयल निगमलाई १२ प्रतिशत व्याजमा ८ अर्ब ऋण प्रवाह गरेको छ ।
स्वास्थ्य र आवासको व्यवस्था
कर्मचारी सञ्चयकोषले पाँच लाख सञ्चयकर्ताका लागि स्वास्थ्य बिमा तथा आवासको व्यवस्था गर्ने भएको छ । कोषले दीर्घ रोगका कारण उपचार गराउन नसक्ने तथा काठमाडौंमा रहेका सञ्चकर्ताहरूलाई लक्षित गरेका आवासको समेत व्यवस्था गर्ने भएको हो । कर्मचारी सञ्चयकोषमा सरकारी तथा निजी क्षेत्रका गरी करिब पाँच लाख सञ्चयकर्ता रहेका छन् । कोषले सञ्चयकर्ताको हितका लागि स्वास्थ्य बिमा तथा काठमाडौं क्षेत्रमा रहेका सरकारी जग्गाको खोजी गरी सो क्षेत्रमा आवाससमेत निमार्ण गर्ने जनाएको हो ।
कोषका प्रशासक आर्चायले सञ्चयकर्ताको औषधि उपचारका लागि सहयोग गर्ने तथा आवास निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए । ‘कति रकमसम्म सहयोग गर्ने भन्ने विषयमा सञ्चालक समितिमा छलफल भइरहेको छ’ प्रशासक आचार्यले भने । साथै, कोषले काठमाडौंका सरकारी क्षेत्रमा आवास निर्माण गरी न्यूनतम मूल्यमा सञ्चयकर्तालाई दिनेगरी छलफल भइरहेको आचार्यले जनाए ।

प्रतिक्रिया