आगलागीप्रतिको सजगता

Aagoनयाँ वर्ष २०७० को पहिलो दिन देशका विभिन्न दुईसय ४० स्थानमा आगालागी भएको समाचार आयो । अमेरिकी अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको संस्था ‘नासा’को भू–उपग्रह तस्बिरले यस्तो चित्र देखाएको हो । केही सातादेखि आगलागीको क्रम बढ्दै गएको र यो नै सुख्खायाम सुरु भएपछिको सबभन्दा बढी
स्थानमा भएको आगलागी हो । आगलागी विभिन्न बस्ती, निकुञ्ज, आरक्षित क्षेत्र र जंगलमा पनि भइरहेको छ । अहिले पनि दैनिक थुप्रै ठाउँमा आगलागी भइरहेका छन् जसले हज्जारौँ हेक्टर जंगल र सयौँ घर नष्ट भएका छन् ।
आगलागी हुन कुनै याम र समय आवश्यक पर्दैन । तर, सुख्खा र हुरीबतासको याममा यसको धेरै जोखिम हुन्छ । हामीकहाँ खासगरी फागुनदेखि वैशाखसम्मको अवधि आगलागीका दृष्टिले सबैभन्दा जोखिमपूर्ण मानिन्छ । हरेक वर्ष यिनै महिनामा आगलागीका धेरै घटना हुन्छन् र जन–धनको क्षति हुन्छ । यसपटक चैत महिना लागेदेखि दैनिकजसो कतै न कतै आगलागी भइरहेको छ जसले सयौँ परिवार घरबारविहीन भएका छन् ।
गाउँघरमा उज्यालोको लागि बाल्ने टुकी या खुला स्थानमा चुलो बनाई आगो बाल्ने गर्दा त्यसबाट
आगलागी हुने गरेको पाइन्छ । फुस वा खरका जोडिएर बनेका वा नजिकै रहेका कच्ची घरका कारण आगलागीले ठूलो नोक्सानी हुने गर्छ । यस्तै ग्यास, पेट्रोल, डिजल आदि प्रज्वलनशील पदार्थहरू असुरक्षित ढंगमा राख्नु र आगो उत्पन्न गर्ने सलाई, लाइटर आदि केटाकेटीको पहुँचमा राखिँदा परिणामको ख्याल नभएका केटाकेटीबाट त्यस्ता चिजहरू प्रयोग हुँदा पनि आगलागी हुनेगर्छन् । सहरमा आगलागीको प्रमुख कारक विद्युत् सर्ट रहने गरेको छ । असुरक्षित तरिकाले उपकरणहरूको प्रयोग गर्ने र विद्युत्प्रवाह घटबढ हुँदा त्यसलाई सन्तुलनमा राख्न नसक्दा पनि आगो निस्कन्छ ।
यसैगरी खाना पकाउने ग्यास चुहिएर र लोडसेडिङको समयमा मैनवत्ती आदिको प्रयोग गर्दा पर्याप्त सावधानी नअपनाइनुले पनि आगलागी हुने गरेको छ । उद्योगधन्दा, कलकारखाना र व्यावसायिक भवनहरूमा विद्युत् सर्ट, अत्यधिक ताप तथा अन्य विभिन्न कारणले आगलागी हुने गर्छन् । यस्तै पर्याप्त हावा ओहोरदोहोर गर्न नपाउने र धूवाँ सजिलै बाहिर नजाने, गुम्सिने साँघुरो ठाउँमा जेनेरेटर आदि राखेर चलाउने गर्दा वा जेनेरेटर राख्ने स्थान र पार्किङस्थल एउटै हुँदा पनि आगलागीको जोखिम बढ्छ ।
वनजंगलमा पनि डँढेलो र आगलागीको समस्या निकै बढी छ । वनजंगलमा अगालागीको प्रमुख कारण मानवीय कमजोरी नै हो । आगो आफँै लाग्दैन कसैले न कसैले आगोको बीउ हाल्नै पर्छ । यस्तो बीउ या त चुरोट आदि खाएर फालिने ठुटा हुन्छन् या नियतवश लगाइने डँढेलो । दाउरा संकलन गर्न र राम्रो घाँस, स्याउला पलाउने आशामा वस्ती छेउका वनमा
लगाइने डँढेलो र जथभावी फालिने चुरोटको ठुटा जस्ता आगोको बीउका कारण लाग्ने आगोले ठूलो रूप लिँदै गई त्यसले विभिन्न किसिमका प्रत्यक्ष र अप्रत्यक्ष क्षति पुर्‍याउँछ । यस्तो आगलागीले वातावरणीय प्रदूषण फैलाउने पक्ष त छँदै छ यसले जैविक विविधतामा समेत नराम्रो असर पर्छ । यसरी हाम्रो सानो कमजोरी र लापरबाहीले हामी आफूलाई नै जोखिममा पारिरहेका हुन्छौँ ।
डँढेलोले चरा–चुरुंगी, घस्रने जीवजन्तु र साना जनावर बढी प्रभावित हुन्छन् भने बारम्बारको डँढेलोले बुट्यानहरू मासिन्छन्, बहुमूल्य जडीबुटी र साना घां‘सजन्य वनस्पतिको प्रजाति नै नाश हुने जोखिम हुन्छ । जैविक विविधता प्रभावित हुने, जीवजन्तुका वासस्थान नाशिने र ती विस्थापित हुने र दुर्लभ जडीबुटी र वनस्पतिका प्रजाति नै नाश हुने, पानीका मुहानहरू प्रभावित हुने भूक्षय र पहिरोको जोखिम बढ्ने प्रदूषण फैलनेलगायत प्रभाव पर्छन् । यस्तै विश्वव्यापी तापमानमा भइरहेको वृद्धिको विभिन्न रूपमा प्रभाव परिरहेको सन्दर्भमा यस्तो डँढेलोले यसैलाई थप सहयोग पुग्नेतर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ ।
आगलागी आकस्मिक रूपमा हुने घटना हो । आवासीय घर, व्यावसायिक भवन र उद्योग आदिमा हुने आगलागीबाट सुरक्षित हुनका लागि कमसल सामग्रीको प्रयोग नगर्ने र आगलागी भइहाले त्यसबाट जोगिन आवश्यक आकस्मिक सहज निकास बनाउने, हावा राम्ररी खेल्न सक्ने ठाउ‘ राख्ने तथा नियन्त्रणका लागि बालुवा, ढुंगा, माटो तथा आधुनिक प्रविधि र रसायन आदिको प्रबन्ध गरेमा जनधनको नोक्सानी धेरै हदसम्म कम गर्न सकिन्छ । लापरबाही र सानो गल्तीले ठूलो क्षति हुने भएकाले यसप्रति हामी सचेत रहनुपर्छ ।
यस्तै ग्यास एवं प्रज्वलनशील पदार्थको प्रयोगमा सजगता अपनाउने, जथाभावी आगो नबाल्ने, चुरोट, बिँडी आदिका ठुटा राम्ररी निभाएर मात्र फाल्ने, विद्युत् सर्ट नहोस् भन्नेमा सजग रहने, सलाई, लाइटर आदि केटाकेटीले भेट्न नसक्ने ठाउँमा सुरक्षित राख्ने, आगोमा खाना बनाइन्छ भने खाना पकाइ सकेपछि चुल्होको आगो राम्ररी निभाउने आदि गरेमा आगलागीको जोखिम कम गर्न सहयोग पुग्छ । घटना घटिसकेपछि पछुताउनुभन्दा घटना हुनै नदिन सक्दो सुरक्षात्मक प्रबन्ध मिलाउनु उचित हुने हुँदा सम्बन्धित सबैले यस विषयमा आफूलाई जिम्मेवार बनाउनुपर्छ । सरकारका
सम्बन्धित निकायले घटनाप्रति दु:ख व्यक्त गर्ने र राहतका झारा टार्ने मात्र होइन विपन्न परिवारलाई सुरक्षित आवासको यथोचित प्रबन्ध गर्ने तथा आगोबाट बच्न सन्देशमूलक र सचेतनाजन्य सामग्रीहरूको प्रचारप्रसारमा आफ्ना संयन्त्रलाई परिचालन गर्नुपर्छ । यस्तै अगलागी भइहालेमा
निभाउनका लागि यथेष्ट मात्रामा वारुणयन्त्रहरूको व्यवस्था गर्ने जिम्मेवारी राज्यको हो । यसो हुन सकेमा आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्छ ।
समग्रमा, चाहे जहॉसुकै हुने आगलागी होस्, यसलाई एउटा विपत्तीको रूपमा मात्र लिने होइन यो हामी आफँैले अर्थात् मानवीय कारणले निम्त्याएको दु:ख हो भन्ने रूपमा लिनुपर्ने हुन्छ । आगलागीप्रति र खासगरी वन जंगलमा हुने आगलागी नियन्त्रण गर्न समुदाय नै सजग हुनुपर्छ । कतै आगो लागेको देख्नासाथ हरेक नागरिकले वनजंगल साझा सम्पत्ति हुने र वनमा लागेको आगोले समुदायकै नोक्सानी गर्ने भएकाले यसलाई आफ्नै सम्पत्तिको क्षतिको रूपमा लिने तथा वन जंगलको संरक्षण समुदायकै संरक्षण हो भन्ने महसुस गर्दै हरेक नागरिकले यसलाई आफ्नो कर्तव्य ठानी सोही अनुरूप जिम्मेवार भूमिका निर्वाह गर्न सकियो भने यसबाट हुने क्षति र पर्ने असरहरू न्यूनीकरण गर्न सहयोग पुग्छ । आगलागी र डँढेलो नेपालीको नियति नै भएको सन्दर्भमा यसका प्रतिको चेतना अभिवृद्धि आजको टड्कारो आवश्यकता भएकोले सबैले यसमा आ–आफ्नो क्षेत्रबाट आवश्यक भूमिका निर्वाह गर्नु जरुरी छ ।

प्रतिक्रिया