आर्थिक वृद्धिदर तीन प्रतिशतमा सीमित रहने प्रक्षेपण

काठमाडौं, ५ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०१३ मा नेपालको आर्थिक वृद्धिदर (जिडिपी) ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आइएमएफले पाँच वर्षसम्म नेपालको आर्थिक विकास नहुने जनाएको छ । यस वर्षभन्दा सन् २०१४ मा नेपालको आर्थिक वृद्धि केही बढे पनि आगामी पाँच वर्षसम्म विकासले गति नलिने संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । आइमएफले २०१४ मा वृद्धि ४ प्रतिशत पुग्ने उल्लेख गरेको छ र सन् २०१८ मा यो बढेर ४ दशमलव १ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

एसियाली विकास बैंक (एडिबी) र सरकारले आर्थिक वर्ष सुरु भएपछि हालै जारी गरेको पूर्ण बजेटमा पनि आर्थिक वृद्धि साढे ३ प्रतिशतकै हुने अनुमान गरेको छ । सन् २०१२ मा आर्थिक वृद्धि दर ४ दशमलव ६ प्रतिशत थियो । यसअघि केन्द्रीय तथ्यांक विभागले एक साताअघि आर्थिक वृद्धि दर ३ दशमलव ५६ प्रतिशत रहने अनुमान गरेको थियो ।
विश्व बैंकअन्तर्गतको आइएमएफले सार्वजनिक गरेको वल्र्ड इकोनोमिक सर्वेमा नेपालमा चालु वर्ष मूल्य वृद्धि ९ दशमलव ६ प्रतिशत रहने अनुमान छ । समग्र एसियाको मूल्य वृद्धिदर भने ५ प्रतिशत मात्र हुने प्रक्षेपण सो सर्वेमा गरिएको छ । एसियाली विकास बैंकले मूल्य वृद्धि १० दशमलव ५ प्रतिशत र केन्द्रीय बैंकले साढे नौ प्रतिशत हुने सार्वजनिक गरेको थियो ।
निक्षेप परिचालन घट्यो
गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा यस वर्ष बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन घटेको छ । गत वर्षको फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ९४ अर्ब ७ करोड रुपियाँ बढेकोमा यस वर्षको फागुन महिनासम्म जम्मा ६८ अर्ब ६२ करोड रुपियाँ मात्र निक्षेप परिचालन बढेको छ । जुन गत वर्षको तुलनामा २६ अर्ब ८ करोड रुपियाँले कमी हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन महिनासम्म वाणिज्य बैंकको निक्षेप परिचालन ५ दशमलव ७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो वृद्धि १३ दशमलव ६ प्रतिशत रहेको थियो । त्यस्तै, गत आवको सोही अवधिमा ६ दशमलव ८ प्रतिशतले बढेको विकास बैंकहरूको निक्षेप परिचालन समीक्षा अवधिमा ८ दशमलव ५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा वित्त कम्पनीहरूको निक्षेप परिचालन ४ दशमलव ७ प्रतिशत बढेको छ । वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १७.८ प्रतिशत अर्थात् १ खर्ब ६३ अर्ब १४ करोड रुपियाँले वृद्धि भई फागुन महिनासम्म १० खर्ब ८० अर्ब ४४ करोड रुपियाँ पुगेको छ ।
त्यसैगरी, गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जाप्रवाह बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा कर्जा तथा लगानी प्रवाह १३ दशमलव ८ प्रतिशत अर्थात् १ खर्ब ३३ अर्ब ५१ करोड रुपियाँ बढेको छ । गत आवको सोही अवधिमा कर्जा तथा लगानी प्रवाह ७३ अर्ब २६ करोड रुपियाँले मात्र बढेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २३ अर्ब ८२ करोड रुपियाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५ अर्ब ९३ करोड रुपियाँले मात्र बढेको थियो । अघिल्लो वर्षको सोही अवधिसम्म कृषि क्षेत्रतर्फको कर्जा ४ अर्ब ९८ करोड रुपियाँले बढेकोमा समीक्षा अवधिमा ८ अर्ब ८९ करोड रुपियाँले बढेको छ ।
निर्माण क्षेत्रतर्फको कर्जा समीक्षा अवधिसम्म ७ अर्ब ४४ करोड रुपियाँले बढेको छ भने थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २६ अर्ब ८५ करोड रुपियाँले बढेको छ । त्यस्तै, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४ अर्ब ९७ करोडले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया