शिक्षकले छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने भन्दै तालाबन्दी

पाल्पा : जिल्लाको चिर्तुङ्धारास्थित ग्राम्य उच्च माविका अभिभावकले विद्यालयको कार्यालय कक्षमा बुधबार तालबन्दी गर्दै सरकारी विद्यालयमा पढाउने शिक्षकले आफ्ना छोराछोरी पनि सरकारीमै पढाउन माग गरेका छन् ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यार्थीका अभिभावक विद्यालयमा जम्मा भएर नाराबाजी गर्दै धर्ना दिएका छन् । उनीहरूले निजी स्रोत, स्थायी, अस्थायी, राहत कोटामा पढाउने सबै शिक्षकले सरकारीमै पढाउनुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् । जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले नीतिगत व्यवस्था भए पनि नैतिकताको आधारमा आफूले पढाउने विद्यालयमा आफ्ना छोराछोरी पढाउनुपर्ने बताए । अभिभावक जागरुक हुनु राम्रो भएको उनले बताए ।
यस विद्यालयका विगत १५ दिनदेखि चरणबद्ध आन्दोलन गर्दै आएका अभिभावकले शिक्षकले अटेर गरेपछि तालाबन्दी गर्नुपरेको शिक्षक अभिभावक संघका अध्यक्ष कुलप्रसाद ढुंगानाले बताए । उनका अनुसार सबै शिक्षकले आफ्ना छोराछोरी सरकारीमै पढाउनुपर्छ भन्ने माग हो । ‘माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘शिक्षकहरूले चाँडै यसलाई बुझिदिए हुन्थ्यो भन्ने माग हो ।’ अभिभावकको आन्दोलनले विद्यार्थीको पढाइ समेत प्रभावित बनेको छ । विद्यार्थीले कार्यालयमा तालाबन्दी भएपछि पुस्तक नपाएको र शिक्षकले नपढाएको बताए । (सौस)

प्रतिक्रिया