यथाअवस्थामा राष्ट्रपतिसँग पनि वार्ता हुँदैन

cp gajurelकाठमाडौं, ४ वैशाख । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले यथाअवस्थामा सरकार र राष्ट्रपतिसँग वार्ता नगर्ने दोहराएका छन् ।
‘वार्ताका लागि चैत–१ गते चार राजनीतिक शक्तिवीच भएको ११ बुँदे सम्झौता, राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अडकाउ फुकाउ आदेश, वर्तमान सरकारको विघठन हुनुपर्छ,’ उनले भने, ‘गोलमेचसम्मेलनबाट नयाँ सरकार गठनको ठोस प्रतिबद्धता नआएसम्म राष्ट्रपतिसँग पनि वार्ता हुँदैन ।’
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रपतिले आफूहरुलाई बारम्बार वार्ताका लागि बोलाएको बताए । गजुरेलले ठोस प्रतिबद्धता नआएकाले वार्तामा बस्न इन्कार गरेको उल्लेख गरे । यद्यपि सरकारले अहिलेसम्म आफूहरुलाई वार्ताका लागि पत्र नपठाएको उनले बताए ।
मंसिरमा पनि निर्वाचन हुनेमा आशंका जनाएका उनले भने, ‘यस्तै अवस्था रहेमा मंसिरमा पनि निर्वाचन हुँदैन ।’ उनले गोलमेच सम्मेलनबाट नयाँ सरकार बनाउने कुरा सुनिश्चित भएमात्रै आफूहरु निर्वाचनमा भाग लिने बताए ।

प्रतिक्रिया