दुई महिनापछि विद्युतीय चिता

काठमाडौं, ३ वैशाख । दुई महिनापछि पशुपति आर्यघाटमा विद्युतीय चिता सञ्चालनमा आउने भएको छ । ट्रान्सफर्मर, जेनेरेटरलगायतका केही उपकरण जडान गर्न बाँकी रहेकाले ती सबै जोडेर चिता सञ्चालनमा आउन दुई महिना लाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषकाअनुसार भारतको कलकत्तास्थित इन्डोमेन इञ्जिनियरिङ सर्भिसबाट विद्युतीय उपकरणका धेरैजसो पार्टपुर्जा करिब दुई करोड ५९ लाख रुपियाँमा ल्याइसकिएको छ । विद्युतीय चिता सञ्चालनमा आएपछि बाग्मती नदी र वरपरको वातावरण प्रदूषण नहुने कोषका सदस्यसचिव सुशील नाहटाले बताए ।
विद्युतीय चितामा एक हजार दुई सय डिग्री सेन्टिग्रेडको तापक्रममा एक घन्टामा शव जलिसक्ने कोषले जनाएको छ । परम्परागत शैलीमा जलाउन चाहनेहरूले पुरानै शैलीमा र विद्युतीयमा चाहनेले विद्युतीय चितामा शव जलाउन पाउने व्यवस्था गरिनेछ । यसो गर्दा शव जलाउने प्रक्रियाबाहेक सबै चलिरहेकै धार्मिक संस्कारअनुसार गर्न सकिनेछ । यसअघि पटकपटक प्रयास गर्दा पनि सरकारले विद्युतीय चिता निर्माण गर्न सकेको थिएन ।

प्रतिक्रिया