सुनको मूल्यमा भारी गिरावट

Goldकाठमाडौं, ३ वैशाख । नयाँ वर्षको सुरुआत सँगै सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबारको तुलनामा नेपाली बजारमा सोमबार सुनको मूल्यमा प्रतितोला तीन हजार तीन सय रुपियाँले घटेको हो । शुक्रबार ५५ हजार आठ सय रुपियाँ प्रति तोला सुन कारोबार भएकोमा सोमबार ५२ हजार ५ सय प्रति तोलामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कमोडिटी मार्केटका ठूला लगानीकर्ताले एकैपटक ठूलो मात्रामा सुन बजारमा ल्याउनु, यूरोपेयिन मुलुक साइप्रसमा देखिएको ठूलो आर्थिक मन्दी र तेलको मूल्यमा आएको भारी गिरावटका कारण नेपाली बजारमा अकस्मात ठूलो मात्रामा गिरावट आएको हो ।

त्यसैगरी तेजाबी सुन तोलाको ५२ हजार २ सय रुपियाँमा झरेको छ । ०६९ साल भदौ अन्तिम साता ६१ हजार ८ सय रुपियाँसम्म पुगको सुनको मूल्य ५२ हजार ५ सय रुपियाँमा झर्नुमा अन्तर्राष्ट्रिय सुन बजारमा आएको गिरावट मुख्य कारण रहेको छ । महासंघका अध्यक्ष मणिरत्न शाक्यले अकस्मात सुनको मूल्यमा आएको गिरावटले नेपाली बजारमा सुनको अभाव देखिने बताए । ‘दुई वर्षको अन्तरालमा यति धेरै मात्रामा सुनको मूल्यमा आएको गिरावट यो पहिलो हो’ महासंघका अध्यक्ष शाक्यले भने ‘गएको वर्ष २ वैशाखमै सुनको मूल्य प्रतितोला ५४ हजार एक सय थियो तर एक वर्षपछि यो मूल्यमा दुई हजार चार सयले गिरावट आएको छ’ । नेपाली बजारमा दैनिक ३० देखि ३५ सम्म किलो सुनको माग भए पनि नेपाल राष्ट्र बैकमार्फत ‘क’ वर्गका वाणिज्य बैंकहरूले बजारमा प्रतिदिन १५ किलो सुन बिक्री गर्दछन् । केही दिनको अन्तरालमा भारतीय बजारमा समेत प्रति दश ग्राम सुनमा एक हजार दुई सय ५० भारतीय रुपियाँले गिरावट आएको छ ।
महिनाको सुरुआतसँगै विवाहको मौसमसमेत सुरु भएको छ । बजारमा सुनको अभाव भइरहे पनि सुनको मूल्यमा आएको व्यापक गिरावटले विवाहको तयारी गरिरहेकालाई भने केही राहत मिलेको छ ।

प्रतिक्रिया