चलचित्रको लगानी बालुवामा पानी

Taruniकाठमाडौं १ बैशाख । वर्ष ०६९ नेपाली चलचित्रका लागि निराशापूर्ण रह्यो । अघिल्लो वर्षको अत्यमा (०६८) प्रदर्शनमा आएका ‘चपली हाइट’ र ‘लुट’ चलचित्रले केही आश देखाएको थियो । तर, त्यो आश वर्षको अन्त्यमा हमेसा र नोटबुकसम्म अइपुग्दा निराशामा बदलिएको छ । ‘मृगतृष्णा’को प्रदर्शनबाट सुरु भएको वर्ष ०६९ ‘हमेसा’ र ‘नोटबुक’मा आएर टुंगिएको छ ।

यस वर्ष ०६८ भन्दा संख्याका हिसाबले लगभग दुईगुना चलचित्र प्रदर्शनमा आए । तर, केही बाहेक अधिकांश चलचित्रले नत लगानी सुरक्षित गर्न सके नत प्राविधिक हिसाबले नै कायापलट गर्न नै । संख्याका हिसाबले मात्र धेरै चलचित्र प्रदर्शनमा आएको वर्ष बन्न पुग्यो ।
किनभने, गत वर्षका तुलनामा झनै ओरालो लागेको छ चलचित्र उद्योग यस वर्ष पनि । नयाँ र पुराना गरेर यसवर्ष करिब एक सय बीस संख्याका हाराहारी चलचित्र प्रदर्शनमा आए । ती मध्ये आफ्नो लगानी सुरक्षित गर्न भने आधादर्जन जति चलचित्र मात्र सफल छन् । निर्माता तथा वितरक सुनील मानन्धरका अनुसार यसवर्ष जति चलचित्र प्रदर्शनमा आए तिनका लगानी एकमुस्ट हिसाब गर्ने हो भने करिब ४६ करोड रुपियाँ हुन आउँछ । यतिका लगानी भएका चलचित्रमध्ये आधादर्जनले मात्र लगानी सुरक्षित गरेका छन् । निर्माता सुनील मानन्धरले भने, यी चलचित्रको प्रदर्शनबाट करिब ६ करोड उठेको अनुमान गर्न सकिन्छ । यसलाई नै आधार मान्ने हो ०६९ मा नेपाली चलचित्रले ४० करोड डुबाएको छ उनले अनुमान लगाए । यो सानो बजेट होइन ।
यसवर्ष जति चलचित्र प्रदर्शनमा आए ती मध्ये लगानी सुरक्षित गर्नेमा ‘मायाज बार’ ‘लंका’, ‘मालतीको भट्टी’, ‘अपवाद’, ‘किन लाग्छ माया’, ‘रिदम’ (अहिले पनि प्रदर्शनमा छ), ‘विन्दास’, ‘अध्याय’, ‘छड्के’ लगायतका छन् । अन्य चलचित्र प्रदर्शनमा आए तर दर्शक भएनन् । यसवर्ष यस्ता केही चलचित्र पनि आए जुन प्रदर्शनमा आएकै दिनमै चलचित्र भवनबाट उत्रिए । उदाहरणका रूपमा ‘ज्यान हाजिर छ’, ‘लेटर’, ‘खै को कसको’ लगायतलाई लिन सकिन्छ ।
चलचित्र धेरै प्रदर्शनमा आउनु र दर्शक नहुनुको पछाडि नेपाली चलचित्र प्रतिको चार्मीङ घट्नु हो । दर्शकका अभावले चलचित्रको लगानी बालुवामा पानी हाले सरह भए पनि निर्माताका भनाइमै भए पनि चलचित्रले कीर्तिमान कायम राखे । आफ्नो चलचित्रले कीर्तिमान राख्यो र अर्काको चलचित्रले पानी पनि खान पाएन भन्ने भनाइ यसवर्ष निकै सुनिए ।
करोडांै लगानी डुबेको यसवर्ष चलचित्रसँग सम्बन्धित संघ–संस्था आ–आफ्नै आन्तरिक द्वन्द्वमा अल्झिए भने निर्माताहरू व्यावसायिक पाटो तिर ख्यालै नगरी चलचित्र रिलिजका लागि क्यालेन्डरका रातो अंक अर्थात् बिदा दिनका पछि लागेर एउटामाथि अर्को चलचित्र खप्ट्याउँदै एकैदिन चार वा सो भन्दामाथी संख्याका चलचित्र जुधाइरहे । जसका कारण पनि चलचित्रमा गरिएको लगानी बालुवामा पानी सरह हुन गयो ।
चलचित्र क्षेत्रको हकहितका लागि गठन भएको विकास बोर्ड यसवर्ष राजनीतिमै अल्झियो भने निर्माताहरूका छाता संगठन नेपाल चलचित्र निर्माता संघको आँखा पनि डुबेको चलचित्रमाथि पर्न सकेन । थोरै चलचित्र मात्र सफल भएको यसवर्ष ‘बिन्दास’ आलोचना खेप्दाखेप्दै पनि सफल हुन सक्यो । ग्ल्यामर तथा भल्गरका दृश्य प्रस्तुत गरेको यो चलचित्र यही कारणले सफल पनि बन्यो । थोरै लगानी र धेरै प्रचारप्रसारका कारण ‘अपवाद’, ‘लंका’ एवं ‘छड्के’ले भने जेनतेन आफ्नो लगानी उठाउन सके ।
हुनत वर्ष ०६९ दुई दर्जन हाराहारीका चलचित्रले प्रदर्शन अगावै दर्शकमा आश जगाउने काम गरे । तर, ती चलचित्रले प्रदर्शनपछाडि न दर्शकलाई सन्तुष्ट पार्न सके नत लगानी नै सुरक्षित गर्न । यसमा ‘छड्के’, ‘भिसा गर्ल’, ‘सो सिम्पल’, ‘कलिउड’, ‘बडीगार्ड’, ‘मृगतृष्णा’, ‘फेसबुक’, ‘पद्मिनी’, ‘थ्री लभर्स’लगायतका छन् । आस गरिएको चलचित्रले पानी पनि पिउन नपाउनु यो वर्षको विडम्बना एवं दु:खदायी कुरा हो ।
०६८ को तुलनामा यसवर्ष चलचित्र क्षेत्रमा ग्ल्यामरका नाममा निकै भल्गारिटी भित्रियो । ‘लुट’ र ‘चपली हाइट’ चलचित्रको व्यावसायिक सफलता पछि यसको सिको गर्दै ‘द लास्ट किस’, ‘लभ यू म्यान’, ‘एटिएम’, ‘बिन्दास’, ‘नाइन ओ क्लक’, बर्बाद जस्ता चलचित्र अश्लीलतालाई पछ्याउँदै निर्माण भए । न यी चलचित्रले दर्शक तान्न सके नत लगानीका हिसाबले सुरक्षित बन्न नै । यस्ता चलचित्र केही दर्शकले बहिष्कार गरे भने केही सेन्सरमा नै अड्किए । ‘लुट’ र ‘चपली हाइट’ले जगाएको आस फेरि निराशाले ढाक्यो । निश्चल बस्नेतको ‘लुट’ र दीपेन्द्र के.खनाल ‘चपली हाइट’ को सफलताले प्रस्तुतीकरणमा ट्रेन्ड परिवर्तन भएको चर्चा चल्यो । ‘लुट’ र ‘चपली हाइट’ को ट्रेन्ड पछ्याउन खोज्नेहरूले अश्लीलतालाई जोड दिएकाले व्यावसायिक तवरमा झनै पछि परे ।
हुनत वर्ष ०६९ चलचित्र निर्माणका हिसाबले पनि अग्र स्थानमा रह्यो । ‘सो सिम्पल’ चलचित्र निमार्णको थालनीसँगै सुरु भएको यसवर्ष ‘टिचर’मा आएर सकियो । ‘बिन्दास’, ‘जाउ हिँड पोखरा’, ‘धँुवा’, ‘नागरिक’, ‘ब्ल्याक नाइट’, ‘द फेमस’, ‘रिदम’, ‘तोरी लाहुरे’, ‘स्टार’, ‘ब्ल्याक डायरी’, ‘अन्तराल’, ‘टाइम’, ‘जिगोलो’, ‘नोटबुक’, ‘सेफल्यान्डिङ’, ‘कर्कस’, ‘सरी ल’, ‘दम द पावर’, ‘हमेशा’, ‘वनफूल’, ‘भाइरस’, ‘जन्जिर’, ‘प्रोड्युसर’, ‘डु यू लभ मी’, ‘बितेका पल’, ‘खुर्पा’(काले), ‘सिसा’, ‘आँचल’, ‘मै छोरी सुन्दरी’, ‘फिट्किरी’लगायत चलचित्र निर्माणको थालनी भए । यी मध्ये केही चलचित्र प्रदर्शनमा आइसके, केही प्रदर्शनका तयारीमा छन् र केही पोस्ट प्रोडक्सनमा पनि । चलचित्रको लगानी असुरक्षित भइरहेको समयमा पनि चलचित्र निर्माणको क्रम जारी रह्यो र एकमाथि अर्काे चलचित्र थुप्रि नै रह्यो ।
वर्ष ०६९ प्राविधिक रूपले सबल रह्यो । यसवर्ष जति चलचित्र निर्माण भए प्राय: सबै डिजिटल प्रविधिमा नै देखिए । यसैवर्ष नेपाली चलचित्र उद्योगमा पनि थ्रिडी प्रविधि भित्रियो । छिमेकी मुलुक भारतको चलचित्र नगरी बलिउडमा समेत तीन Taruni-2चलचित्र मात्र निर्माण भएको थ्रिडी प्रविधी नेपालमा ‘भिजिलान्ते’मार्फत भित्रिन पुग्यो । भर्खर मात्र भित्रिएको थ्रिडी प्रविधिले सबैको ध्यान खिच्न सफल भयो ।
प्रविधिक रूपमा थ्रिडी भित्रिएको यसवर्ष चलचित्र लेखनका दृष्टीले पनि उत्कृष्ट रहन सकेन । आफूलाई महँगो स्कृप्ट राइटर भन्ने प्रदीप भारद्वज र व्यस्त रहेका शिवम् अधिकारी र लामो समयदेखि लेखनमै रहेका मौनता श्रेष्ठका लेखनले न कुनै छाप छोड्न सके नत तीनका लेखन रहेका चलचित्रले व्यवसाय नै गर्न । यसवर्ष चलचित्र नचल्ुनको मुख्य कारण कमजोर लेखन भएको सबैले मुल्यांकन गरे ।
हुन त यसवर्ष धेरै यस्ता क्रियाकलाप भए जसले चर्चा पाउनुको शिवाय चलचित्र क्षेत्रलाई कुनै टेवा दिन सकेन । न चलचित्रका व्यवसायलाई नै यसले मद्दत गर्‍यो । केवल त्यो सस्तो लोकप्रियताका लागि मात्र सिद्ध भयो । जसले गर्दा चलचित्रकर्मीले हाम्रो धर्म, मूल कर्म चलचित्र नै हो भन्ने बिर्सन पुगे । फलत चलचित्र क्षेत्रले अहिलेसम्म नभोगेको परिणाम भोग्न बाध्य भयो । जानेर होस् या नजानेर होस् चलचित्रमा गरेको लगानी बालुवामा पानी सरह भयो ।

प्रतिक्रिया