दलहरू जनताका नाममा अपराध गर्दै छन्

anil-yogi-1राजनीतिक दलका नेताहरूले देशको राजनीतिक, समाजिक, आर्थिक सबै क्षेत्रमा आफ्नो निहित स्वार्थपूर्तिका लागि भित्र्याउनै नसकिने विकृतिको बाली लगाए । आफ्नो राजनीतिक जीवन मात्र होइन देशको भविश्य जोखिममा पारिदिए । जसले यो राष्ट्र निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए उनीहरूका सालिक हमरले किच्ने काम गर्दा हामी नेपालीलाई कुनै प्रकारको लज्जा बोध भएन । शासकहरूको राजनीतिक अयोग्यताका कारण देश बहालवाला र अवकाश प्राप्त कर्मचारीका पन्जामा सहज ढंगले पुग्न गयो । जमिन्दारको मानसिक सन्तुलन गुमेपछि खेताला र हलियाको रजाइ भए जस्तै देशमा कर्मचारीको शासन चल्दै छ । दलीय व्यवस्थाको यो चरम असफलता हो ।
हामीले राजनीतिमा विवेकको कुरा गरिरहँदा विगत जसलाई हामी सबैले तानाशाह भन्ने गरेका थियौँ उनीहरूको विवेकले राष्ट्र बनाएको र बचाइदिएको तथ्य लुकाउने मौकावादी अराजनीतिक चरित्रलाई लोकतन्त्रको लेप लगाएर कम्जोर राष्ट्रियता भएको राष्ट्रभित्र उफ्रिनु भनेको यो राष्ट्रको अमर र अजर अस्तित्वको रक्षा गर्न अस्वीकार गर्नु जस्तै हो । कर्मचारीले देश हाक्ने हो भने चार दल, ठूला दल, तेत्तीस दल भनेर राजनीतिमा नैतिकता नभएका चरित्रहीन कथित नेताहरूको राष्ट्रमा आवश्यक्ता किन परिरहेको छ भन्ने विषयमा नेपाली जनतालाई कसैले वास्तविकता बुझाएको छैन । हामी नेपाली जनताले लोकतन्त्रको नाममा राष्ट्रलाई गन्जागोल पारेर सत्ता र शक्तिमा जबर्जस्ती बसिराख्न रहर गर्ने तानाशाहहरू जन्मायौँ, आजको यर्थात् यही हो । राष्ट्रको अस्तित्व धरापमा परेको अवस्थामा एउटा जात, धर्म र सम्प्रादायको कुरा गरेर देशभित्र राजनीतिको नाममा रडाको मच्चाउने अल्पज्ञानीहरूले शनैशनै देश मार्ने काम गर्दै छन् । तिनीहरूले यो राष्ट्रको रक्षा गर्न सक्दैनन् भन्ने कुरा दिनको घमझँै छर्लंग भैसकेको छ ।
देशलाई कम्जोर बनाएर आफ्ना सन्तानका लागि यही नेपाली माटोमा बंगला बनाउने, लाखौँ पैसा बैंकमा जम्मा गर्नेलाई देश रहेन भने त्यो सम्पत्ति र बंगला के काममा आउला भनेर ज्ञात भएको छैन । फेरि पनि राजनीतिको नाममा नेपाल राष्ट्रलाई कंगाल र अशिक्षित मूर्खहरूको राज्य बनाउने धन्दामा दलका नेताहरू कम्मर कसेर लागेका छन् । विचार र नैतिकताविनाको अराजनीतिक गतिविधिहरू निर्वाद रूपमा किन चल्दै छन् देशभित्र ? देशलाई असल राजनीतिक विचारले चलाउने हो कि सहमति र सहकार्यको नाममा बर्बाद बनाउने हो ? यो सवाल यो देशका बौद्धिकहरूले जोडले उठाउन सकेको देखिँदैन ।
नेताका गतिविधिले गर्दा जनताले आफ्नो प्रगति र राष्ट्रको उन्नति दलका नेताबाट हुन सक्दैन भनेर आश मारिसकेका छन् । यो जटिल अवस्था हो, राजनीति बुझ्नेहरूका लागि । देश बर्बाद भैरहँदा र निमुखा जनताको जीवन जोखिममा परेको अवस्थामा राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिले केही त गर्नुपर्छ अथवा गर्छन् भन्ने आवाज देशभित्र उठिरहेकै अवस्थामा राष्ट्रपतिले आफ्नो राष्ट्रप्रतिको धर्म निर्वाह गर्न सकेनन् न्यायपालिकाको प्रमुखलाई कार्य पालिकाको प्रमुख बनाएर चैनका साथ वक्तव्यबाजी गर्दै बसेका छन् राष्ट्रपति । बाह्रबँुदे दिल्ली सम्झौतापश्चात् नेपालका राजनीतिक दलहरूलाई प्रजातन्त्रको परिभाषा बदलेर लोकतन्त्र ल्याएको हल्ला मच्चाउनु बाध्यता थियो । निमुखा जनताको रगतमा पौडी खेल्दै राष्ट्रको जीवन धरापमा पारेर राज्यको शक्तिमा आएका दलका नेताहरूले नेपाली जनता र यो राष्ट्रलाई बच्चाको खेलौना सम्झेका छन् । राष्ट्र र जनतालाई कम्जोर बनाउँदै, दलका नेता र विदेशीलाई मात्र देशभित्र सजिलो हुने अव्यवस्थालाई लोकतन्त्र भन्न सजिलो छैन ।
राष्ट्रियता र स्वाधिनतामाथि यतिबेता गम्भीर प्रकारको संकट आइपरेको छ । यो संकटबाट राष्ट्रलाई जोगाउन अब विदेशिका सुझावमा देश हाँक्ने राजनीतिक नेतृत्वले राष्ट्र बचाउन सक्ने आधार कम्जोर हुँदै गएको छ । राष्ट्र र जनताको रक्षाका लागि देशभित्रका राष्ट्रवादी राजनीतिक शक्तिहरूको आन्तरिक एकता टट्कारो आवश्यक्ता बनेको छ । यो राष्ट्र सजिलो अवस्थामा छैन भौतिक एकताले मात्र अब राजनीति चल्दैन विचारको एकता आजको अपरिहार्यता भएको छ । दलका नेता एकआधबाहेक सबै विदेशिका दलाल हुन सक्दैनन् । जो राष्ट्रवादी छन् उनीहरूबीच एकता हुन सक्यो भने राष्ट्र बाँच्न सक्ने सम्भावना टरेको छैन ।
विदेशीसँग पैसा मागेर एनजिओ चलाउनेहरूले गरेको सानोतिनो सहयोगमा रमाउने नेपाली जनतालाई नेपालका राजनीतिक शक्तिहरूले राज्यप्रति भरोसा गर्न सक्ने बनाउन सकेनन् । नेपालका कुनै पनि राजनीतिक शक्तिहरूप्रति नेपाली जनताले पूर्णरूपमा भरोसा गर्न सकिरहेका छैनन् र अब गर्न पनि सक्दैनन् । यस्तो हुनुको मुख्य कारण भनेको सबै राजनीतिक शक्तिहरूले नेपाली जनताप्रति भन्दा विदेशीको आशीर्वादमा राज्यसत्ता हत्याउने फगत खेलमा लिप्त भइरहनु नै हो । नेपाली जनता जस्तो सुकै कष्टमा पनि आफ्नो राष्ट्रप्रति बफादार र इमान्दार छन् तर कुनै पनि राजनीतिक नेतृत्व नेपाली जनता र राष्ट्रप्रति इमान्दार नभइदिनु यो राष्ट्रको विडम्बना हो । नेपाली जनताले असल राजनीतिज्ञ र पारदर्शी शासन व्यवस्था खोजेका हुन, यसको अर्थ लोकतन्त्रको नाममा जसले जे गरे पनि हुन्छ भन्ने होइन ।
कडा कानुनी शासनको स्थापनाबिना दलका नेताहरूले छाडा बनाएको नेपाली समाजलाई नियन्त्रणमा राखेर राज्य हाँक्न सजिलो छैन । राजनीतिक दलका नेताहरूले अवलम्बन गरेको राजनीतिक आचरण लोकतन्त्रको मर्म र भावनाविपरीत छ । भाँडतन्त्र, फुटतन्त्र र लुटतन्त्रलाई लोकतन्त्र भन्न थालियो भने हाम्रो योग्यतामाथि पनि प्रश्नचिन्ह लाग्नेछ । यही अव्यवस्थालाई सर्वश्रेष्ठ ठान्ने भनेको मुठ्ठीभर मौकावादी स्वार्थीहरूले मात्र हो, आमजनता यो अव्यवस्थाविरुद्ध छन् ।
जुन देशमा जनताको धन र ज्यानको सुरक्षा हुँदैन, कुनै पनि मौलिक विचारलाई हुर्कन र फैलन बन्देज गरिन्छ र परचक्रीका विचारमा जनतालाई दास बनाइन्छ त्यो व्यवस्था लोकतन्त्र हो भनेर जनताले मान्ने आधार हुँदैन । वास्तविक लोकतन्त्रको पक्षमा नेपालीहरू लाग्ने हो भने सर्वप्रथम स्वयं आफ्नो विचार स्वतन्त्र बनाउन जरुरी छ त्यति मात्र होइन आफ्नो विवेक आफँै चलायमान बनाउन सक्ने राजनीतिक र नैतिक तागत स्वयंमा विकास गर्न अति आवश्यक छ । त्यसो गर्न सकियो भने मात्र यो राष्ट्रमा शान्ति सुव्यवस्था कायम हुनसक्छ अन्यथा देश नयाँ चरणको आपसी काटमार र हिंसाको दलदलमा फस्ने खतरा विद्यमान छ । हामी कामना मात्र गर्न सक्छाँै, राष्ट्र त्यो असहज मार्गमा नजाओस् । राजनीति गर्ने मानिसहरूका क्रियाकलापले देश हरेक प्रकारका भयानक विवादको संघारमा छ । राष्ट्रिय राजनीतिको बागडोर नजानिँदो ढंगले विदेशिका अधिनमा पुगेको छ । यो तीतो यथार्थ हो, लाज मान्नु पर्ने कुनै कारण छैन । देशभित्र आपसमा मिलेको नेपाली समाज भाँडिँदै छ । जो जसका कारणले देश लथालिंग र भताभुङग भयो र बनाइयो, विडम्बना फेरि पनि यो राष्ट्र तिनै देश र जनताप्रति धोखाधडी गर्नेहरूका हाथमा छ ।
निरंकुश राजसंस्थाले बनाएका गाउँ पञ्चायत, हालका गाविसदेखि केन्द्रसम्म सबैदलका कार्यकर्ताको एकछत्र ब्रम्हलुट निर्वाद रूपमा चलेको छ । कांग्रेस, एमाले, माओवादी र मधेसवादीलाई एकछत्र राज्यमा लुट मच्चाउन दिइयो भने त्यो लोकतन्त्र अथवा प्रजातन्त्र हुने अन्यथा नहुने नेपालको राजनीतिमा गजबको राजनीतिक परिभाषा गरिँदै छ । अलोकतान्त्रिक दलीय राजनीतिका कारण सिंगो नेपाल, एकताबद्ध नेपाल, सबै जातजाति, भाषा, भाषिका अटाउने नेपाल यतिबेला अफ्ठेरोमा परेको छ ।

प्रतिक्रिया