विदेशको कमाइ विद्यालयलाई

नुवाकोट : प्रवासी भूमिलाई कर्मथलो बनाउने नेपालीले आफ्नो जन्मभूमिको विकासमा थोरै मात्र ध्यान दिने हो भने पनि यहाँका पिछडिएका गाउँवस्तीको मुहार फेरिन धेर बेर लाग्दैन । यही मर्मलाई बुझेर विगत २२ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका एक नेपाली नागरिकले नुवाकोटको एक गाउँमा विद्यालय भवन निर्माण थालेका छन् ।
जिल्लाको जिलिङ–७ मा जन्मिएका कृष्णप्रसाद भट्टले सोही गाउँमा व्यक्तिगत लगानीमै विद्यालय भवन निर्माण गरेका हुन् । उनको सहयोगमा जिलिङ गाविस–९, नलगाउँस्थित करुणाकर निम्नमाध्यमिक विद्यालयमा कम्प्युटर कक्षासहितको तीनकोठे पक्की भवन निर्माण भइरहेको छ । स्वर्गीय बुबा हेमप्रसाद भट्टको सम्झनामा बनाउन लागिएको पक्की भवनको शिलान्यास ६९ वर्षीया वृद्धा आमा डम्बरकुमारी भट्टबाट गराई निर्माणकार्य अघि बढाइएको छ । शिलान्यास कार्यमा विद्यालय पुगेका दाता भट्ट र उनकी आमालाई गाउँले र विद्यार्थीले अबिर र फूलमालाले भव्य स्वागत गरेका थिए । बेलायतस्थित लन्डनको एबिआई कलेजका निर्देशकसमेत रहेका भट्टले आगामी चार महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छन् । आफू जन्मेको ठाउँको शैक्षिक विकास गर्न पाउँदा गर्व लागेको भट्टले बताए । ‘प्रवासमा छँदा गाउँको हालत सम्झिरहन्थेँ,’ उनले भने, ‘यो मैले जन्मभूमिप्रति निभाउनैपर्ने दायित्व थियो ।’ उनका अनुसार भवन निर्माण गर्न करिब १२ देखि १४ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
विद्यालयलाई सहयोग गर्ने दाताले भवन निर्माणको काम अघि बढाएपछि अभिभावक र स्थानीय गाउँलेमा हौसला र उत्साह बढेको विद्यालयका प्रधानाध्यापक राजदेव रायले बताए । शिक्षाको विकासमा यस्तो सक्रियताले राम्रो सन्देश दिएको जिलिङ गाविसका युवा राजनीतिकर्मी माधव गजुरेलले बताए । (सौस)

प्रतिक्रिया