खोप्लाङको ख्याकले खाला हजुर !

JD-Dai-ko-photoजीवनको दगुराइमा बेलाबखत कर्मयात्रा गरिरहनु पर्छ । कर्मयात्राले जिन्दगीको यात्रालाई रामै्र सहयोग पुर्‍याउँछन् र जीवन चक्षुलाई पनि केही गहकिलो पार्न सघाउँछन् । यस्तै एउटा कर्मयात्राको क्रममा कुनै बेला गोरखा जिल्लाका केही ठाउँ पुग्नु परेको थियो । नेपालका प्रथम प्रधानमन्त्री मानिएका जनरल भीमसेन थापा जन्मेको र उनका तमाम आफन्त एवं नातेदारहरूको सघन बस्ती रहेको बोर्लाङ गाविसदेखि माथिल्लो भेगमा रहेको उहिया गाविससम्म मेरो त्योबेलाको कर्मयात्रा थियो । बेला छँदै कलम उचालेको भए बग्रेल्ती विषय–सन्दर्भ उद्घाटित हुने थिए, तर त्यसो गरिएन । तसर्थ, स्वाभाविक छ, धेरै कुरा र प्रसंग अचेल भुलिसकिएका छन्– बस्, केही सम्झना र फाट्टफुट्ट टिपोट मात्र बाँकी छन् ।
‘मैले कहिल्यै बिर्सन सक्दिन त्यसरी अचानक साक्षात्कार हुनुपरेको त्यो प्रसंग । सपना हो कि विपना भनेझैँ भएको थियो त्योबेला । कुनै नराम्रो सपनासरी घटेको त्यो घटना ०४७ साल चैत ५ गते भएको थियो । प्रयास गर्दागर्दै पनि म यसलाई भुल्न सक्दिन,’ मथुरा कोइरालाले आफूसँग खोप्लाङमा घटेको त्यो घटनालाई आँखाभरि भरेर बताएकी थिइन् । वर्षौं पुरानो अतीतले मानौँ वर्तमान भएर उनलाई ढाकिरहेको थियो ।
०००
tribal-mगोरखा जिल्लाका ६९ गाउँ विकास समितिमध्येकै एक हो खोप्लाङ गाविस । यो सदरमुकाम गोरखाबजारबाट त्यति टाढा पनि छैन । सदरमुकामभन्दा केही तल रहेको तेह्र किलो क्षेत्रबाट हिँडेको दुई–तीन घन्टामा यस गाविसमा पुग्न सकिन्छ । कतै पातलिएको, कतै छितरिएको र कतै बाक्लिएको बस्ती रहेको खोप्लाङ गाविसमा भैँसीपानी जस्ता कतिपय वडाहरूमा सार्की, कामी, दमाई, गुरुङ र घले जस्ता अत्यन्त पिछडिएका जनजातिहरूको बसोबास छ, बाहुन र क्षत्रीहरूको बसाइँ पनि कम्ती नै त छैन । त्योबेला संयुक्त जनमोर्चा नेपालका संयोजक रहेका डाक्टर बाबुराम भट्टराई यही खोप्लाङ क्षेत्रभन्दा अलि माथि रहेको आँपपीपल गाविसमा परिश्रम र प्रतिभाको बेजोड प्रतीकका रूपमा सम्मानित रहेछन् ।
एउटा संस्था थियो तिनताका निकै सक्रिय र चर्चित, ग्रामीण स्वावलम्बन कार्यक्रम (आरएसडिसी) । त्यसले खासगरी विपन्न र दलित समुदायमा कार्यक्रम केन्द्रित गरेको थियो । मैले मथुरालाई भेटेको समयताका गोरखाको फुजेल गाविसको शिखरजुङ भन्ने ठाउँमा ग्रामीण स्वावलम्बन कार्यक्रम सुरु भइसकेर अपेक्षाकृत उत्साहजनक परिणाम देखाउन थालिसकेको थियो । यही क्रममा खोप्लाङको वडा नं. चार भैँसैपानीमा यो कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रमको सुरु भएको समय ०४७ सालदेखि नै मथुरा कोइराला उत्प्रेरकका रूपमा त्यहाँ खटिएकी थिइन् । विकटता र विपन्नताभित्र बाँचिरहेका अनि अभाव, रोग, भोक र शोकसँग अनिच्छापूर्वक तर बाध्यतावश मितेरी गाँसेर जिन्दगी बिताइरहेका निरीह जनताबीच काम गर्नुपर्ने जिम्मेवारी बोकेकी मथुरा आफ्नो कामको प्रकृतिअनुरूप एउटा ‘नेपाली’ परिवारसित बसेकी थिइन् । सुखद कुरा, रामबहादुर नेपाली र मञ्जु नेपाली आफ्ना तीन छोरा र एक छोरीसहित बसेको त्यो परिवार तमाम कठिनाइका बीच पनि उनका लागि हम्मेसी सहयोगी थियो ।
मथुराबाट सुरु भएको स्वावलम्बन कार्यक्रमको गतिविधिसँगै भैँसेपानीको स्थिति क्रमश: फेरिन थालेको थियो । सरसफाइ हुने, घरघरमा चर्पी खडा गर्ने, तरकारी खेती गर्ने, आपसी सहयोगको भावना बढाउने, स्थानीय गाउँलेहरूकै बीचबाट प्रतिमहिना निश्चित रकम उठाउने गरी स्वावलम्बन आयआर्जन समिति सञ्चालन गर्ने, सानोतिनो आवश्यक रकम त्यही स्वावलम्बन कोषबाट लेनदेन गर्ने आदि–इत्यादि कामहरू हुन थालेका थिए । गाउँका साहूहरूकहाँ जाने क्रम विस्तारै घट्न थालेको थियो (अहिले त त्यस्तो क्रम बन्द नै भइसकेको छ) । सार्की, कामी आदिजस्ता सदियौँदेखि हेपिँदै र चुसिँदै आएका ‘रैतीहरू’ साहूहरूका काममा जानसमेत क्रमश: छोड्न थालेका थिए । वडा नं. ७ लुङ्गाका कर्णबहादुर गुरुङ र सुनबहादुर तिवारीसमेत २० घरधुरीका गाउँलेहरू मात्र नभई खोप्लाङ र आँपपीपलसमेतका अनेक पिछडिएका परिवारले स्वावलम्बन कोषबाट ऋण सापटी लिएर बाख्रा, भैँसी, बंगुर पालनदेखि लिएर तरकारी उमार्ने, उन्नत बीउबिजन लगाउने गर्न थालेका थिए । उनीहरू सबै त्योबेला केही आर्थिक स्रोत र बाटो देखाउने कोही भएमा जनता आफ्नो श्रम र सीपको जति पनि सदुपयोग गर्न सक्छन् भन्ने कुराको असल उदाहरण बनेका थिए । सम्भवत: मथुरा कोइरालासँग घटेको घटना त्यस परिणामकै एउटा अनपेक्षित पूर्वजटिलता थियो ।
०००
‘भैँसेपाटी, खोप्लाङमा त्यतिबेला साँझको पाँच बज्दै थियो । अचानक म बस्ने घरको चर्पीमा हुर्हुर्ती आगो दन्किन थाल्यो । म यता घरमै बसेर लेखापढी गर्दै थिएँ, गाउँमा हल्लीखल्ली सुरु भयो,’ मथुराले मसितको भेटमा त्यो घटना सम्झेकी थिइन्, ‘चर्पी कच्ची थियो र सेउलाले बेरेर बनाइएको थियो । त्यस्तो किसिमले बनाइएको साधारण चर्पी एकै छिनमा खरानी भयो । पछि, धेरैपछि, थाहा भयो– त्यो आगलागी म चर्पीभित्रै छु भन्ने सोचेर बदनियतपूर्वक लगाइएको रहेछ । मार्न नै नसकिए पनि कम्तीमा मलाई गाउँबाट हर हालतमा लखेट्ने उद्देश्यले गाउँका ‘साहूहरू’ले चालेको चाल रहेछ त्यो ।’
आगो लगाउनका लागि कथित साहूहरूले ‘नेपाली’ परिवारकै एकजना नाबालक ठिटोलाई लगाएका रहेछन् । चामे नाम गरेको त्यस ठिटाले एकथरी राजनीतिक व्यक्तिहरूको आडभरोसा र उक्साहटमा आफ्नै गाउँको त्यो चर्पीमा आगो लगाएको थियो । आगलागी काण्डपछि त्यहाँ भेला भएका गाउँलेहरूले आगो लगाउने अपराधीलाई जेल पठाउनु पर्ने तीखो माग गरेका थिए । चामै त्यसरी आगो लगाएपछि लुकेको एकैपटक पाँच महिनापछि मात्र देखा परेको थियो । तर, यसबीच चामेका बाबु रिखी नेपाली र आमासमेत मञ्जु नेपालीको घर गएका थिए र मथुरासँग रोइकराई माफी मागेका थिए । त्यति मात्र नभै, तत्काल अर्को चर्पी पनि ठड्याइदिएका थिए । त्यसपछि उनीहरू स्वावलम्बन कार्यक्रमका अत्यन्त विश्वसनीय हितैषी बन्न पुगेका थिए ।
आगलागीको सिकार बनाइएको चर्पी त्यसपछि प्रयोगमा ल्याइएन । खाल्डो धेरै माथिसम्म पुिरइसकेको थियो र त्यसमाथि काँडा राखिएको थियो । मलाई लागेको थियो, एउटा संकेत लुकेको छ ती काँडाहरूमा– साहूहरूको इच्छाविपरीत विपन्नहरू आर्थिक र भौतिक रूपले माथि उठ्न थाले भने साहू–अहंकारको कोपभाजन पनि बन्नुपर्ने हुन सक्दो रहेछ । साथै, त्यस्तो कोपभाजन सहेर पनि धैर्य र संयमको सप्को नछोड्ने हो भने लक्ष्यप्राप्ति त्यति कठिनतर पनि हुँदैन रहेछ । त्यो आगलागीको घटनापछि त्रासवश भैँसेपानीका जनताले स्वावलम्बन गतिविधिलाई माया मारेको भए उनीहरू मैले त्यतिबेला देखेजस्तो स्वावलम्बी किसान बन्न सक्ने थिएनन् ।
०००
हेप्न बानी लागेकाहरू जेजसरी हुन्छ, सधैँ हेप्न नै खोज्छन् । उनीहरूको यस्तो निरन्तर प्रयास हुँदाहुँदै पनि विगतदेखि उनीहरूबाट हेपिँदै आएकाहरू धैर्य, संयम र साहसका साथ अगाडि लम्कँदै जाने हो भने निजी एवं सामूहिक जीवनलाई अलिकति सुविधायुक्त बनाउन सकिन्छ । विपन्न नै भए पनि जनता जागेको बेला कस्तै साहूहरूसमेत परिवर्तनको आँधीबेहरीसामु उभिइरहन सक्दैनन् – खोप्लाङको त्यो खाल्डोमा यही सम्झना सन्देश लुकेको छ । खोप्लाङभन्दा माथि, धेरैमाथि, आँपपीपल गाविसको लिगलिगकोट डाँडामा बस्ती भएका कुनै गन्धर्वको सारंगी यही सन्देशलाई टाढाटाढा पुर्‍याउन भाका बनाउँदै छ– खोप्लाङको ख्याकले खाला हजुर… ।

प्रतिक्रिया