ग्रहणको ‘उज्यालो विम्ब’

book_1मैले चिन्दा सानु घिमिरे कवि थिइनँ । परिचयपछिका एक/दुई संवादमा ऊ केही रमाइली र केही दिक्क लाग्दी थिई र केहीपछि सम्पर्कका सबै बन्धन छिनालेर बेपत्तै भई । निकै लामो समयपछि एकदिन अनलाईनमा झुलुक्क झुल्किई र भनी, ‘कता छौ तिमी ? के अरूको मात्रै न्युज लेख्छौ, आफ्नो साथीको पनि लेख न ।’ न्युज लेख्नुपर्ने के गरी उसले ? चार वर्षअघिदेखि देश छोडेर अष्ट्रेलिया बसेकी उसले कवितासंग्रह निकालेकी रहिछे, ‘ग्रहण’ ।
एकदिन उसको किताब ‘ग्रहण’ पाउँछु । त्यसमा ऊ मन्तव्य लेख्छे– ‘म दिक्कलाग्दी छुइनँ, खुसी हुनु, रमाइरहनु, जिन्दगीलाई फरक–फरक कसौटीबाट प्रयोग गरिरहनु र यसको परिणामलाई स्वीकार गरेर बाँच्नु मेरो स्वभाव हो, यत्ति भनिरहँदा मभित्रको कर्ताभाव विलुप्त होस्, म अस्तित्वसँग प्रार्थना गर्छु ।’ कतै उमाथिको मेरो बुझाइलाई नै स्पष्टीकरण दिएजस्तै उसको लेखाइ । लाग्यो, ‘उभित्रको कर्ताभाव विलुप्त भई नै सक्यो, साथी सानु बिलाई, अस्तित्वहीन भई र मेरो अगाडि एक कवि अनुहार आयो, लेख्यो–
म जवान हुँदै गएपछि
मेरो गाउँ बदलियो
अब मेरो गाउँले मेरो चियोचर्चा गथ्यो
संस्कारको नाममा
घरभित्रै बस भन्थ्यो
आकाश हेर्न दिँदैनथ्यो निर्धक्क दौडिन दिँदैनथ्यो ।
कविताका यी लाइन सानुको वर्तमान होइन विगतजस्तो लाग्छ मलाई र गाउँ अहिले पनि व्यक्तिको नैसर्गिकतामा चियोचर्चाे गर्छ र आफूले खडा गरिदिएको नैतिकताको कृतिम पर्खालभित्रै वैयक्तिक भावनाहरूलाई कैद गरिरहेछ । यत्ति हो सानुले यसको साबिती उता अष्ट्रेलिया पुगेर दिई । ऊ आध्यात्मिक छे र त्यही चेतले मान्छेभित्रको मान्छे पहिचान गर्न खोज्छे । मान्छे जे देखिन्छ मुखुन्डो मात्र, भित्रभित्रै त केके छ केके † प्याजको पत्र छोडाउँदै गएझैँ ऊ मान्छेको मुखुन्डो उतार्दै जान्छे कवितामा, लेख्छे–
मुकुन्डोसँगै प्रेम मरेको छ
अनुहारसँगै घृणा जन्मेको छ
आत्माको कुरा †
भो, नहँसाऊ फेरि ……
आत्मा मृत्युसँगै सती गएको छ ।
ओहो † साँच्चै है सानु † ठीक भन्यौ आत्मा मृत्युसँगै सती गएको छ । मानवीय सम्बन्धमा आज आत्मा खोज्नेहरूलाई सानुले ठीकै भनिदिएकी छे ।
प्रेम, अध्यात्म, समाज सबै छ सानुका कवितामा । ३४ कविता अटाएको ‘ग्रहण’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाले प्रकाशन गरेको हो । उत्कृष्ट भन्न नसके पनि राम्रा कविता सानुको पहिलो रचनाकृतिमा छन् । ‘ग्रहण’ शीर्षक अप्राप्ति, अँध्यारो, अतृप्ति र धोकाको बिम्ब हो । तर, प्रेममा ग्रहण लाग्दैन बरु ग्रहण खुलेको चन्द्रमाझैँ प्रेमको दर्दबाट सुखानुभूति गरेकी छे सानुले । भन्छे–
तुलोमा नजोखी आत्मीयता
रित्याउँदै प्रेमको घडा
मसक्क कसौँ न सितारका तारहरूझैँ
ता कि
धून बनोस् हाम्रो सम्बन्ध ।
– रामशरण बजगाईं

प्रतिक्रिया