बेकारीमा उपन्यास !!!

aaराजव अहिले उनको नयाँ उपन्यास ‘बेकारीमा उपन्यास’का कारण चर्चामा छन् । कविता, कथा, व्यंग्यमासमेत समान कलम चलाउने चर्चित आख्यानकार राजवका ‘समय पीडा,’ ‘इतर जिल्लावासी’, ‘कङ्गन खित्का’, ‘क्यापटिल हिल’, ‘कमरेड ड्राइभर’ गरी पाँच कथासंग्रह र ‘एटलान्टिक स्ट्रिट’, ‘भूमिगत लीला दुई हजार बत्तीस’, ‘मोटेल अमेरिका’ जस्ता उपन्यास प्रकाशित छन् । उनीसँग नयाँ उपन्यासबारे गरिएको वार्ता–

लामो समय अमेरिका बस्नुभो । ‘बेकारीमा उपन्यास’ तपाईंले उतै लेख्नुभएको हो ?
यसको पहिलो ड्राफ्ट अमेरिकामै तयार पारिएको हो । थुप्रैपटक पुनर्लेखन गरेर पोहोर फाइनल गरिसकेको थिएँ । यसका तीनवटा अंश ‘रचना’ र ‘समकालीन साहित्य’मा पहिल्यै छापिसकिएका हुन् ।
उपन्यासको मुख्य विषयवस्तु के हो ?
एकजना एमए पास गरिसकेको बेरोजगार युवाको कथा हो उपन्यास । मूख्य पात्र शिव शर्माको घरको आर्थिक अवस्था राम्रै हुन्छ । बेरोजगार हुनुनपरोस् भनेर आफूलाई पढाउने अर्थशास्त्रको प्रोफेसरकहाँ पुग्छ र भन्छ– ‘सर, यहाँ काम पाइएन, पिएचडी गरौँ कि भनेर सल्लाह माग्न आएको ।’ सरले भन्छन्, ‘पिएचडी गरेर के गर्नु ? यहाँ सैयौँ छन् पिएचडी गर्ने । बेकार छौ भने उपन्यास लेख्न थाल । उसले भन्छ, ‘म साहित्यको मान्छे होइन, कसरी लेखौँ ? तर, प्रोफेसरले आफूले पनि उपन्यास नै लेख्न थालेको बताउँछन् । केटोले मामालाई भेट्छ, मामा पनि जागिरबाट बिदा लिएर उपन्यास लेखिरहेका हुन्छन्, र उनले पनि बेकारमा बस्नुभन्दा उपन्यास लेख्ने सल्लाह दिन्छन् । शिव शर्माले भेटेका सबै साथी उसलाई उपन्यास नै लेख्न सल्लाह दिन्छन् । उसको घरबेटी पनि ‘आफूले उपन्यास लेखिरहेको र उसलाई पनि बेकारको समयमा उपन्यास लेख्न सुझाउँछन् । माओवादी युद्धमा लागेको साथी, गाउँको वकिल पनि आफूले बेकारीको समयमा उपन्यास लेखिरहेको र उसलाई पनि उपन्यास नै लेख् भन्छन् । र, शिव शर्मा दिग्भ्रमित हुन्छ । बेरोजगारी युवकको सिर्जनाप्रतिको अन्तद्र्वन्द्व नै उपन्यासको थिम हो ।
bekareemaयो कहानी उपन्यासप्रतिको चर्को व्यंग्य होइन र ?
यो उपन्यासप्रति व्यंग्य गर्छु भनेर लेखिएको होइन । खासमा म स्वयं उपन्यासकार हुँ । र, मैले व्यंग्य गर्नु पनि हुँदैन । यो अवस्था नै त्यसरी सिर्जना भयो । यसमा कुनै आरोपित व्यंग्य छैन, कथानकले बोकेको व्यंग्य मात्र हो ।
तपाईं कवि पनि हो । उपन्यासले बजार निलिरहेको अवस्थामा कविता मर्दै गइरहेको हो ?
त्यस्तो होइन । मान्छेको ध्यान निश्चित रूपमा आख्यानमा बढी हुन्छ, उहिले पनि, अहिले पनि । आख्यानमा पनि उपन्यास बढी लेख्न थालियो । भावनात्मक दृष्टिकोणले कवितालाई रूचाइए पनि वास्तवमा आख्यान नै मानिसको रुचिको विषय हो । कवितामा पनि आख्यान हुन्छ । म कवितात्मक आख्यान लेखिरहेको छु । अमूर्त र भावनात्मक रूपमा कविता लेख्नुभो भने यो युगले नपत्याउला पनि ।
एक महिनाको ग्यापमा तपाईंको कथासंग्रह र उपन्यास आयो । खुब लेख्नुहुन्छ है !
मैले धेरै लेखेको होइन । ‘कमरेड ड्राइभर’का कथाहरू दश/बाह्र वर्षअघि लेखिएका र पूर्वप्रकाशित हुन् । म त्यति धेरै स्पिडमा लेख्दिनँ । सुस्त, धैर्य र संयम राखेर लेख्नुपर्छ भन्ने ठान्दछु ।
‘बेकारीमा उपन्यास’ तपाईंले देखे–भोगेको कुनै पात्रमाथि लेख्नुभएको हो ?
होइन । मान्छेलाई त्यस्तो लाग्न सक्छ । तर, कुनै पनि पात्रमाथि ‘पिन प्वाइन्ट’ गरिएको छैन । कुनै व्यक्तिलाई केन्द्रमा राखेर लेखिएका कथा/उपन्यासमा थुप्रै पूर्वाग्रह आउँछन् र त्यस्तो लेखन मलाई उति राम्रो लाग्दैन । यसको परिवेश मधेस हो । मैले पूर्वप्रकाशित अरू उपन्यासमा पनि रोजगारीको संघर्षबारे लेखेको छु । हामीजस्तो मध्यम र तल्लो वर्गका मान्छेले भोग्ने ठूलो समस्या नै रोजगारीको हो । अब पढेको पुस्ताले जागिर पाउँदैन । उसमाथि सबैको साझा सुझाव हुन्छ, ‘अरब जा, अमेरिका जा ।’ उपन्यासले बेरोजगारलाई ‘विदेश जा’ भन्ने अरूको सुझावमाथि व्यंग्य गरेको हो ।
तपाईंको उपन्यासले पाठकलाई ‘अब बेकारीमा बस्नुभन्दा उपन्यास नै लेख्नु जाति रहेछ’ भन्ने भावना जगाइदियो भने त जो पनि उपन्यासकार बन्ने खतरा भयो नि † भावनामा डुबेर पनि कोही उपन्यासकार बन्न सक्छ र ?
त्यो त राम्रो नि । समयको सदुपयोग हुन्छ । उपन्यास लेख्दैमा के फरक पर्छ र ? तर, मेरो उपन्यासमा क्वालिटीबारे पनि कुरा उठाइएको छ । खालि समयमा त्यसै बस्नुभन्दा उपन्यास लेख्नु राम्रै उद्यम हो । तर, मैले किताबमा उपन्यास कलात्मक, भाषा, कथ्य र शैलीको समन्वात्मक रूप हो भनेको छु । आक्रोशमा उपन्यास लेखिँदैन । अब म लेख्छु भनेर कनिकनि उपन्यास लेख्नेहरूमाथिको व्यंग्य हो यो किताब । तर, उपन्यास लेखनमाथिकै व्यंग्यचाहिँ होइन । ०३५ सालमा म पनि बेरोजगार थिएँ । र, त्यो खाली समयमा उपन्यास लेखेँ, ८० पृष्ठको । तर, छापिनँ र आवेगमा च्यातिदिएँ । अहिले सोच्दा लाग्छ, मेरो त्यो पहिलो उपन्यास निकै राम्रो थियो ।
नेपाली उपन्यास बजारमाथि तपाईंको टिप्पणी के छ ?
अहिले नेपाली उपन्यास बजार राम्रो छ । राम्रा/नराम्रा सबैखाले उपन्यास आएका छन् । तर, राम्रा नै बढी आएका छन् । उपन्यासको यस्तो ‘वेभ’ राम्रा उपन्यासकै उपज हो । पछिल्लो समय मैले पढेका श्रेष्ठ उपन्यास नयनराज पाण्डेको ‘लू’, जगदीश घिमिरेको ‘सकस’ हुन् ।
नेपालले भोगेको ‘जनयुद्ध’माथि लेखिएका उपन्यास कस्ता छन् ?
त्यस्ता उपन्यासमा हतारमा द्वन्द्व पोखिएको छ । द्वन्द्वको कलात्मक, राजनीतिक, ऐतिहासिक परिप्रेक्ष्य नहेरिकन लेखिएका छन् । विषय आयो, लेखिहालौँ, अरूले लेखिदेला भनेर छिनाझप्टीमा लेखिएका अहिलेका कुनै पनि युद्ध उपन्यास कामलाग्दा छैनन् ।
प्रस्तुति : दीपक

प्रतिक्रिया