थ्री–स्टार सेमिफाइनलमा निराश

three_starकाठमाडौं,३० चैत । साविक विजेता थ्री–स्टारलाई हराउँदै हङकङ–नेपाल फुटबल क्लब धरानमा जारी बूढासुब्बा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । हङकङ–नेपालले उपाधिका लागि नेपाल आर्मीको सामना गर्ने छ ।

बिहीबार भएको सेमिफाइनलमा डोडोजले अतिरिक्त समयमा गोल गरी हङकङ–नेपाललाई थ्री–स्टारविरुद्ध १–० ले जित दिलाएका हुन् । एक सयौँ मिनेटमा जगजित श्रेष्ठले दिएको पासलाई सदुपयोग गरी डोडोजले निर्णायक गोल गरेका थिए । यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । सागर थापाको कप्तानीमा रहेको हङकङ नेपालले साताँै मिनेटमा राम्रो प्रहार गरे पनि थ्री–स्टारका गोलकिपर किरण चेम्जोङले सानदार बचाउ गरे । सागरले डी–बक्सको नजिकैबाट गरेको प्रहारमा किरणले राष्ट्रिय टिमका कप्तानलाई सफल हुन दिएनन् ।
१०औँ मिनेटमा डिफेन्डर सागरले गोल लाइनबाट बल क्लियर गरेपछि थ्री–स्टारले अग्रता लिन सफल हुन सकेन । ३२औँ मिनेटमा विजय गुरुङको राम्रो प्रहारलाई हङकङ–नेपालका गोलकिपर विकेश कुथुले विफल बनाए । खेलभर दुवै टोलीले बराबर अवसर सिर्जना गरेका थिए । आयोजक धरान फुटबल क्लबलाई अतिरिक्त समयमा गोल गर्दै पाखा लगाएर आर्मी फाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया