जग्गा दर्ता दस्तुरमा महिलालाई छुट

नुवाकोट : सम्पत्तिमा महिलाले पनि समान हकको कुरा जोडतोडका साथ उठ्न थालेको छ । यसैलाई सघाउ पुर्‍याउन नुवाकोट जिल्ला मालपोत कार्यालयले पनि महिलाको नाममा जग्गा दर्ता गर्दा दस्तुरमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । यसबाट महिलाको नाममा जग्गा दर्ता हुने क्रम बढेको मालपोतको तथ्यांकले देखाएको छ ।
महिला र पुरुषको सम्पत्तिमा बराबर हक स्थापित गराउनका लागि नुवाकोटमा संयुक्त लालपुर्जा अभियान सुरु भएको हो । जिल्ला भूमिअधिकार मञ्चले यो अभियानको अगुवाई गरेकाले गाउँगाउँमा पुगेर संयुक्त लालपुर्जा बनाउनका लागि सचेतना फैलाइरहेको छ । मञ्चले गाउँमा पुगेर महिला र पुरुषलाई संयुक्त लालपुर्जाको महत्त्व बुझाउनुको साथै सदरमुकाममा आएर संयुक्त लालपुर्जा बनाउन पनि आवश्यक आधारभूत सहयोग गर्दै आएको मञ्चका अध्यक्ष चूडामणि गजुरेलले बताए ।
यो अभियानबाट महिलाले सम्पत्तिमा बराबर हक दिलाएको महसुस गरेका छन् । यसले महिला हिंसा घटाउन सघाउ पुर्‍याउने महिलावादीहरूको भनाइ छ ।
मालपोत कार्यलयमा भेटिएकी जिलिङकी पविना लामिछाने भट्टले बताइन् श्रीमान्को नाममा मात्र लालपुर्जा हुँदा आफूखुसी बेचबिखन गर्ने, घरसल्लाह नगरी ऋण लिन बैंकमा राख्ने र पछि सम्पत्ति नै सकिने समस्याले पीडित महिलाका लागि यो अभियान उपयोगी भएको बताइन् । छेउमा उभिएका श्रीमान् कृष्णप्रसाद भट्टलाई देखाउँदै भनिन्, ‘उहाँ त्यस्तो (सम्पत्ति उडाउने) त हुनुहुन्न । तैपनि, लालपुर्जा संयुक्त भएपछि हरेक कुरामा श्रीमान्–श्रीमतीको सहमतिमा मात्र जग्गाको उपयोग हुनेमा अब ढुक्क भएकी छु ।’ जिल्ला मालपोत कार्यालयबाट आफ्नो पति कृष्णप्रसाद भट्टसँग संयुक्त लालपुर्जा लिएपछि पविनाले सम्पत्तिमा महिला–पुरुष दुवैको हक बराबर भन्ने सन्देश यसले दिएको बताइन् । (सौस)

प्रतिक्रिया