राजनीतिक प्रतिवेदन नै पारित भएन

nc-office-sanepaकाठमाडौं, ३० चैत । अपुरो र स्पष्ट नभएको भन्दै सदस्यहरूबाट तीव्र आलोचना भएपछि नवलपरासीमा जारी कांग्रेस महासमिति बैठक उपसभापति रामचन्द्र पौडेलले पेस गरेको राजनीतिक प्रतिवेदन पारित नगरिकनै सकिएको छ । सदस्यहरूबाट आएका सुझावहरूलाई समेटेर पछि केन्द्रीय समितिले प्रतिवेदन पारित गर्ने निर्णय बैठकले गरेको छ ।

राजनीतिक प्रतिवेदनका बारेमा आएका सुझावहरू अध्ययन गरी प्रतिवेदनलाई अन्तिम रूप दिन उपसभापति पौडेलको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । गत २६ चैतबाट सुरु भएको महासमिति बैठकमा पौडेलले संघीय संरचना, निर्वाचनका रणनीतिसहितका विषय समावेश गरेर राजनीतिक प्रस्ताव पेस गरेका थिए । महासमितिअघि बसेको केन्द्रीय समिति बैठकले नयाँ संविधानसभा चुनावको घोषणापत्रको आधारपत्रका रूपमा प्रतिवेदन तयार गर्न पौडेललाई निर्देशन दिएको थियो ।
संघीयता र शासकीय स्वरूपको विषयमा पनि महासमितिले कुनै निष्कर्ष निकाल्न सकेन । पौडेलले आफ्नो प्रतिवेदनमा ७ र १३ प्रदेशसहितको संघीयतामा जान सकिने दुई वटा विकल्प पेस गरेका थिए । तर, सदस्यहरूबाट समान सुझाव आउन सकेन । बहुमत सदस्यहरूले बहुपहिचानलाई आधार मानी संघीयतामा जान सुझाएका छन् । यसबारे पनि बैठकले थप छलफल गरेर मात्रै धारणा तय गर्ने निर्णय गरेको छ ।
दलहरूबीच यसअघि मिश्रित शासकीय स्वरूपमा जाने सहमति नभएको दाबी पौडेलले आफ्नो प्रतिवेदनमा गरेका छन् । साझा पहिचान र सामथ्र्यका आधारमा संघीयतामा जानुपर्ने सदस्यहरूको सुझाव छ । संसद्बाट निर्वाचित प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति हुनुपर्ने कांग्रेसको माग छ ।
बैठकले महामन्त्री कृष्णप्रसाद सिटौलाले पेस गरेको विधान संशोधन प्रस्ताव र कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवेदन भने पारित गरेको छ ।
अब चुनावमा लागौँ : शीर्ष नेता
बैठक समापनमा शीर्ष तीन नेताले देशमा चुनावी माहोल सुरु भएको भन्दै एक भएर चुनावमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति सुशील कोइरालाले लोकतन्त्र र राष्ट्रियता बचाउन अबको चुनावमा कांग्रेसले जित्नुपर्ने बताए । ‘देशमा चुनावी माहोल सुरु भइसक्यो । अब तपाईंहरू चुनाव तयारीमा लाग्नुस् । प्रजातन्त्रलाई जोगाउन पनि कांग्रेसको जित अपरिहार्य छ’, समापन समारोहलाई सम्बोधन गर्दै उनले भने ।
आपसी मतभेद बिर्सिएर चुनावमा जानुपर्ने भन्दै सभापति कोइरालाले मधेसमा आफ्नो दल कमजोर नभएको जिकिर गरे । मधेसको पुरानो पार्टी कांग्रेस भएकोले मधेसी, महिला, मुस्लिमआदिका जायज मागमा पार्टी प्रतिवद्ध भएको उनले बताए ।
वरिष्ठ नेता शेरबहादुर देउवाले पनि सिंगो पार्टी अब चुनावमा केन्द्रित हुनुपर्ने बताए । कसैले पनि अब चुनावलाई टार्न नसक्ने भन्दै उनले कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्ने बताए । ‘बलियो र ठूलो कांग्रेस निर्माणको लागि हामी सबै मिलेर अघि बढ्नुको विकल्प छैन’, देउवाले भने ।
उप–सभापति रामचन्द्र पौडेलले एमाओवादीको सर्वसत्तावादलाई परास्त गर्न प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार स्वीकार्नु परेको बताए ।

प्रतिक्रिया