ग्रामीण पर्यटनका लागि होम स्टे

भक्तपुर, २९ चैत । प्राकृतिक रमणीय स्थल नगरकोट पुगेर ग्रामीण पर्यटनको मज्जा लिन चाहने पर्यटकको लागि अब नगरकोटमा होम स्टे सेवा सुरु भएको छ ।

भक्तपुर र काभ्रे जिल्लाको संगम स्थलमा रहेको नगरकोट घुमेर फर्कदा पर्यटकहरूको लागि सस्तो र गुणस्तरीय बसोबासको समेत सेवा दिने उद्देश्यले होम स्टे सञ्चालनमा ल्याइएको स्थानीयले बताए ।
स्थानीय समुदायमा रमाउन चाहने विदेशी तथा स्वदेशी पर्यकटहरूलाई लक्षित गरी पूरै बास्तोला गाउँमा नै होम स्टे सेवा सञ्चालन हुने भएको छ । पर्यटनको माध्यमबाट समुदायलाई आर्थीक रूपमा सवल बनाउने उद्देश्यका सो बस्तीमा अल्पकालिन होम स्टे व्यवस्थापन तालिम समेत सम्पन्न भैसकेको छ । नगरकोट सामुदायिक होम स्टेको सहयोगार्थ नेपाल पर्यटन बोर्डको पहल तथा पर्यावरण पर्यटन समाजको प्राविधिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो । बाह्य तथा आन्तरिक पर्यटकहरूको आगमनलाई मर्यादित रूपमा नेपाली सांस्कृतिक परम्परा अनुरूप स्वागत, बसोबास र खानपानलगायत विषयमा प्रशिक्षण दिइएको छ । सहभागिहरूलाई होम स्टे के हो भन्ने देखि भाषा, फोहोर व्यवस्थापन देखि पर्यटकको बिदाई जस्ता विषयमा समेत तालिमको अवसरमा सिकाइएको थियो । प्रशिक्षणमा नगरकोट सामुदायिक होम स्टे समितिका र वरपरका २८ जना सहभागीहरूको सहभागिता रहेको थियो । हाल केही घरमा मात्र सञ्चालन गरिएको होम स्टे सेवा निकट भविष्यमा नै बास्तोला गाउँ भरि नै सञ्चालन गरिने संस्थाले जानकारी दिएको छ । तालिममा सहभागीहरूलाई नेपाल सेफ एसोसियसनका महासचिव सुरेशचन्द्र बस्नेत र नीलबदन सुवालले प्रशिक्षण दिएका थिए । तालिममा सिकेका ज्ञान र अनुभवले आफूहरूमा ग्रामीण पर्यटन व्यवस्थापनाको लागि निकै महत्त्व राख्ने सहभागी दशरथ बास्तोलाले बताए ।
समुदायलाई नै सांकृतिक रूपमा व्यवस्थापन गरी आवश्यक पूर्वाधारहरूको निर्माण गरी स्थानीय सबै घरमा होम स्टे सेवा सञ्चालन गरिने संस्थाका अध्यक्ष सुरज बास्तोलाले बताए । लोप हँुदै गएको खैजेडी भजन, घाँसे गीत, तामाङ संस्कृतिजस्ता सांस्कृतिक खुराक पर्यटकहरू माझ पस्कने लक्ष्य भएको बास्तोलाले बताए । एक सातासम्म चलेको सो तालिमको समापन अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले गरिबी निवारणको लागि होम स्टेले धेरै सहयोग पुग्ने बताए ।
उनले जातिजन जातिको बाहुल्यता रहेको हाम्रो जस्तो मुलुकमा साँस्तीक पर्यटनको निकै महत्त्व रहेको समेत बताए । कार्यक्रममा पर्यटन बोर्डका अधिकृत सूर्य थपलिया, रामकुमार लामिछाने र नगरकोट नाल्दुम पर्यटन विकाश समितिका दीपक लामिछाने लगायतले होम स्टेमा पर्यटकहरूको बसाई लम्ब्याउन सांस्कृतिक प्रस्तुति पस्कन सुझाव दिएका छन् ।

प्रतिक्रिया