“चुनावको मिति नतोक्नुको कारण चाहियो”

Puspakamal-Dahalबाग्लुङ, २८ चैत । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले अन्तरिम चुनावी मन्त्रिपरिषद्समक्ष अहिलेसम्म पनि चुनावको मिति घोषणा नगर्नुको कारण माग गरेका छन् ।

असार पहिलो साता चुनाव गर्ने सर्तमा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारले चुनावको मिति घोषणा नगर्दा प्रश्न उब्जेको दाहालको भनाइ छ । ‘यसको कारण सरकारले उच्चस्तरीय राजनीतिक समिति र जनतासामु पेस गर्नुपर्छ,’ दाहालले भने । कांग्रेस र एमाले आफ्नो अनुकूल नहुँदासम्म चुनाव भाँड्ने षड्यन्त्रमा रहेको आरोप लगाउँदै उनले सरकार त्यसको पछि लाग्न नहुने बताए ।
एकीकृत माओवादी पश्चिम ब्युरोले मंगलबार बाग्लुङमा गरेको जनसभालाई सम्बोधन गर्दै दाहालले काबुबाहिरको परिस्थितिलाई मात्र ध्यान दिएर मंसिर भनिएको भए पनि अहिले बिनाकारण चुनावपछि धकेल्ने प्रयास भइरहेको जिकिर गरे । अझै असारमा चुनाव सम्भव रहेको दाबी गर्दै उनले सरकारले जतिसक्दो छिटो चुनावको मिति घोषणा गर्नुपर्ने बताए ।
‘हामी जनतासामु जान आतुर छौँ,’ उनले भने, ‘हुँदा खाँदाको सरकार छोडेर रेग्मी नेतृत्व सरकार गठन गर्नु चुनावको एक मात्र सर्त हो ।’
कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको निधनसँगै सैद्धान्तिक अवसान भएको र एमाले त्यसकै पुच्छर भएको आरोप लगाउँदै उनले एमाओवादी देशको पहिलो शक्तिका रूपमा स्थापित हुने दाबी गरे ।
७ असारभित्र चुनाव गर्ने सहमति थियो : भट्टराई
एमाओवादी उपाध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ७ असारभित्र चुनाव गर्ने सहमतिमा आफू सरकारबाट बाहिरिएको भए पनि एक महिनासम्म चुनावको मिति घोषणा नगर्दा प्रश्न उब्जिएको बताए । यही ढंगले चुनावको मिति घोषणा नगरे एमाओवादी सडक संघर्षमा जाने उनले चेतावनी दिए ।
उनले अर्को प्रसंगमा आफू नेतृत्वको सरकारले भ्रष्टाचार गरेको भन्दै राष्ट्रपति डा. रामवरण यादवले वर्तमान मन्त्रीहरूसँग कुरा उठाएकोमा आपत्ति जनाए । ‘राष्ट्रपतिजस्तो गरिमामय पदमा आसीन व्यक्ति विनाप्रमाण अनियमितताको वास्तविकता नबुझी हल्लाका पछाडि लाग्नु विडम्बना’ भएको भट्टराईको भनाइ थियो । ‘मेरो नेतृत्वको सरकारले आर्थिक अनियमितता गरेको भ्रम छरिएको छ,’ उनले भने, ‘सत्यतथ्य छानबिन गरी प्रमाणित भए सामना गर्न तयार छु ।’

प्रतिक्रिया