ठूलो पार्टी बनाउन आग्रह

चैत, २७ बुटवल । आगामी संविधानसभा चुनावमा कांग्रेसलाई बहुमतसहितको पहिलो पार्टी बनाउन कांग्रेस शीर्षनेताहरूले आग्रह गरेका छन् । कांग्रेस बहुमतसहित पहिलो पार्टी हुन सकेमात्रै लोकतान्त्रिक संविधान बन्ने उनीहरूको दाबी छ ।

नवलपरासीमा सुरु भएको महासमिति बैठकको उद्घाटन गर्दै सभापति सुशील कोइरालाले चुनाव पार्टीको प्राथमिकता भएको बताए । एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकार चुनावको विपक्षमा देखिएकाले विस्थापित गर्नुपरेको उनले बताए । नयाँ सरकार गठन भएपछि देशमा चुनावको वातावरण बन्दै गएको उनले बताए ।
प्रजातन्त्र रक्षाका लागि कांग्रेस कटिबद्ध रहेको र मुलुकले शिर निहुर्‍याउने काम पनि कहिले नगरेको कोइरालाको दाबी छ । ‘कांग्रेसको मुलुक र जनताप्रति जिम्मेवार छ, टाउको निहुराउने काम कांग्रेसले गरेको छैन । हामीले कहिले प्रजातन्त्रसँग सम्झौता गरेनौँ । यहाँका जनताको समृद्धिको लागि कांग्रेस नै आवश्यक छ । बिपीले यही बताउनुभएको हो’, उनले भने ।
चुनाव प्रजातन्त्रको आत्मा भएको बताउँदै सभापति कोइरालाले १५ वर्षदेखि स्थानीय निर्वाचन नभएकाले पनि आफ्नो पार्टीले सबैकुरा त्यागेर चुनावलाई जोड दिएको
जिकिर गरे । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत सरकार निर्माण भएको भन्ने आरोपको खण्डन गर्दै उनले अदालतमा प्रधानन्यायाधीशको छाया पर्न नदिने बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दहालको असारमा नभए मंसिरमा पनि चुनाव हुन दिइन्न भन्ने अभिव्यक्तिप्रति कोइरालाले आक्रोश व्यक्त गरे । काठमाडौं फर्किनासाथ दाहाललाई भेटेरै यस विषयमा कुरा गर्ने उनले बताए । ‘म काठमाडौं फर्किनासाथ उहाँलाई भेटेरै कुरा गर्छु, एउटा कुरामा सहमति गरेर अर्काे अभिव्यक्ति दिन कसैले पनि मिल्दैन’, सभापति कोइरालाले भने ।
वरिष्ठ नेता शेरबहादुर देउवाले गत संविधान सभाको निर्वाचनमा मधेसमा पार्टीले चुनाव हारेको स्मरण गर्दै मधेसका जनतालाई यसपटक कांग्रेसलाई रिझाउनुपर्ने बताए । मधेस र कांग्रेसको हितैसी सम्बन्ध रहेकाले पार्टीको महासमिति बैठक पनि मधेसमा गर्ने निर्णय गरिएको उनले बताए ।
मधेसमा कांग्रेस विरुद्ध झुठा हल्ला फैलाउने गरिएको बताउँदै नेता देउवाले कांग्रेस मधेस विरोधी कहिल्यै नहुने बताए । ‘कांग्रेस कहिले पनि जनजाती र मधेस विरोधी हुनै सक्दैन’, उनले भने । एमाले–एमाओवादीलगातका कम्युनिस्ट पार्टीहरू प्रजातान्त्रिक प्रक्रियामा रूपान्तरित हुन खोजिरहेको बताउँदै देउवाले आफूलाई मधेसवादी भन्नेहरू मधेसवादी नभएर ‘लुटवादी’ भएको दाबी गरे ।
०५२ सालमा आफू प्रधानमन्त्री रहेको बेला ४० बुंदे माग राखेर सशस्त्र युद्धमा गएका एमाओवादी नेताहरू शान्ति प्रक्रियापछि २/२ पटक प्रधानमन्त्री हुँदा एउटै बुँदा पनि पूरा नगरेको देउवाले बताए । ‘त्यसैले उनीहरूलाई देशको चिन्ता छैन, किन काटमार गरेको ? किन यत्रा मान्छे मारेको ?’, उनले भने । वर्तमान चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी तानाशाह हुन नसक्ने बताउँदै उनले चुनाव भएको भोलिपल्टदेखि यो चिन्ता सकिएर जाने जिकिर गरे ।
पार्टी उपसभापति रामचन्द्र पौडेलले संविधानसभामार्फत नयाँ संविधान बन्न नेपाली कांग्रेस ठूलो पार्टी बन्नुपर्ने बताए । देश चुनावमा अगाडि बढेको भन्दै उनले नेता/कार्यकर्तालाई चुनावमा लाग्न अनुरोध गरे । ‘चुनाव एक मात्र लक्ष हो, एकलव्य भावले चुनावमा जाने भन्ने निर्णय गरेर आएका छौँ’, उनले भने ।
मंगलबारदेखि सुरु हुने बैठकमा मुख्यत: ४ वटा प्रस्तावमा छलफल हुनेछ । राजनीतिक प्रस्ताव, पार्टीको विधान मस्यौदा, महामन्त्रीको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ । बन्दसत्रमा १ हजार ४ सय महासमिति सदस्य र १ सय प्रर्यवेक्षक सहभागी छन् ।

प्रतिक्रिया