थ्रीस्टारको नाटकीय जित

धरान, २६ चैत । गोलरक्षक किरण चेम्जोंगको उत्कृष्ट प्रदर्शनको सहयोगमा थ्रीस्टार क्लब पन्ध्रौँ अन्तर्राष्ट्रिय बुढँसुब्बा गोल्डकप फुटबल प्रतियोगीताको सेमिफाइनलमा प्रबेश गरेको छ । साविक विजेता थ्रीस्टारले आइतबार भएको खेलमा टाइव्रेकरमा साहरा क्लव पोखरालाई ७–६ ले पराजित गर्‍यो । टाइब्रेकरको सुरुवाती पाच प्रहारमा ३–३ गोल भएको थियो । थ्रीस्टारको जीतमा खेलका म्यान अफ द म्याच रक्षक किरण चेम्जोंगको उत्कृष्ट योगदान रह्यो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगीएपछि समय अभावका कारण समय थप नगरी निर्णायकले टाइब्रेकरको निर्णय लिएका थिए । थ्रीस्टारका लागि पहिलो प्रहार गरेका फेमी जोसाओको प्रहार पोष्ट बाहिर गएको थियो भने यसलगत्तै नाजी भिक्टरको प्रहार पनि पोष्ट बाहिरीएको थियो । त्यस पछि रन्जीत श्रेष्ठ, विजय धिमाल र विजय गुरुंगको प्रहार भने सफल रह्यो । पोखराका सुवास गुरुंगको सूरुवाती प्रहार पनि विफल भएको थियो । त्यसपछि बाबाट्वागे अकिम, हेमन्त गुरुंग र हेम तामांगको प्रहार सफल भएको थियो । इब्राहिमको प्रहार भने थ्रीस्टारका गोलरक्षक किरणले रोके । टमा थ्रीस्टारका भिक्टर अमोबी, किरण चेम्जोंग र अनिल गुरुंगको प्रहार सफल भएको थियो । पोखराका दिपक गुरुंग र दिलबहादुर गुरुंगको प्रहार सफल भएपनि मनिष गुरुंगको पं्रहार किरणले रोके । यसअघि खेलको ३३ औँ मिनेटमा सुवास गुरुंगले गोल गरी पोखरेली टोलीलाई अग्रता दिलाएका थिए । हेमन गुरुंगको पासमा रक्षापंक्ति र रक्षक किरण चेम्जोंगलाई समेत छक्याउँदै डिबक्स बाहिरवाटै सुवासले सुन्दर गोल गरेका थिए । इन्जुरी समय सकिनै लाग्दा विपक्षि पोष्ट नजिक पुगेका रक्षक किरण चेम्जोंगले सन्दिप राईको पासमा थ्रीस्टारका लागि हेडवाट गोल गरेपछि खेल नाटकिय ढंगले टाइब्रेकरमा पुगेको थियो ।
सघर्षपूर्ण र नाटकीय जित हात पारे पनि थ्रीस्टारका प्रशिक्षक प्रदिप हुमागाईले जीत स्वाभाविक भएको बताए । पोखराका प्रशिक्षक किरण श्रेष्ठले भने रेफ्रीको गलत निर्णयकाकारण हार व्यहोर्नुपरेको बताए । रेफ्रीले अनावश्यक रुपमा इन्जुरी समय लम्ब्याएका कारण अन्तिम समयमा गोल खानुपरेको उनको भनाई थियो । सोमबारको खेल मनांग मस्र्यांदी क्लव काठमाण्डौ र त्रिभुवन आर्मी क्लव काठमाण्डौ विच हुनेछ ।

प्रतिक्रिया