अराकी फर्किए

काठमाडौं : निप्पोन स्पोर्ट साइन्स विश्वविद्यालयका प्रोफेसर तात्सुओ अराकी आइतबार जापान फर्किएका छन् । सबैका लागि जिम्न्याष्टिक शिक्षक तालिमका लागि अराकी यसै महिनाको १६ गते नेपाल आएका थिए । नेपालमा रहदा उनले मिसन सागअन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीका साथै प्रशिक्षकलगायतलाई पनि तालिम दिएका थिए ।
उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामा, सदस्य किरण गिरी, स्वकिय सचिव सिद्धार्थ लामा, जिम्न्याष्टिक प्रशिक्षक प्रकाशलाल श्रेष्ठलगायतले बिदाइ गर्नुभएको थियो ।
निप्पोन स्पोर्ट साइन्स विश्वविद्यालय र राखेपअन्तर्गत नेपाल खेलकुद प्रतिष्ठानबीच सहकार्य गर्ने सहमति भएको छ र राखेपले अराकीलाई त्यसको संयोजकमा चयन गरेको छ ।
बिदाइका अवसरमा सदस्य–सचिव लामाले आरकीलाई प्रशंसापत्रका साथै संयोजकको पत्र प्रदान गर्नुभयो ।
सदस्य–सचिव लामाले नेपालको खेलकुदलाई विज्ञान सम्मत प्रशिक्षण गराउन ठूलो योगदान पुर्‍याउने बताउदै अराकीको कार्याकालमा नेपाली खेलकुदको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सहमतिपछि जापान र नेपालबीच प्रशिक्षक आदान–प्रदान पनि हुने सदस्य–सचिव लामाले बताउनुभयो । सदस्य–सचिव लामालाई अराकीले सेप्तेम्बरमा हुने अल जापान महोत्सव र जर्मनीको मनहाइममा मे १८ देखि २४ तारिखसम्म हुने स्पोर्ट फेस्टिवलका लागि समेत निमन्त्रणा दिनुभएको थियो । (सौस)

प्रतिक्रिया