टुपी, जनै र निधारमा चन्दन अनिवार्य जाड–रक्सी र चुरोट खानेलाई पुरेत्याइँमा प्रतिबन्ध

काठमाडौं, २६ चैत । जाँड–रक्सी र चुरोट–खैनी खाने पण्डितले अब पुरेत्याइँ गर्न नपाउने भएका छन् । पुरेत्याइँ गर्ने पण्डितहरूको टाउकोमा टुपी र निधारमा चन्दन अनिवार्य हुनुपर्ने छ ।

राष्ट्रिय धर्मसभा नेपाल र नेपाल पञ्चांग निर्णायक समितिको संयुक्त आयोजनामा काठमाडौंमा दुई दिनसम्म चलेको पण्डितहरूको महासम्मेलनले यजमान र पण्डितहरूले पालना गर्नुपर्ने २७ बुँदे आचारसंहिता नै बनाएको छ । देशभरिका पण्डितहरू आचारसंहितामा बाँधिनुपर्नेछ । महासम्मेलनमा देशभरका ५ सय पण्डितको प्रतिनिधित्व रहेको थियो ।
आचारसंहिताअनुसार अब पंण्डितहरूको टुपी, शिखा, जनै र निधारमा चन्दन टीका अनिवार्य हुनुपर्नेछ । पण्डित पुरोहितहरूका घरमा वैदिक ग्रन्थ, धर्मसिन्धु, निर्णयसिन्धु र अरू ग्रन्थ अनिवार्य हुनुपर्ने आचारसंहितामा उल्लेख छ । त्यस्तै, अब पण्डितहरूले सात्विक आहार मात्र लिनुपर्नेछ । धूमपान र मध्यपान गर्नेलाई पण्डितको मान्यता नदिइने आचारसंहितामा उल्लेख छ ।
‘पण्डितहरूको टुपी, शिखा, जनै र निधारमा चन्दन टीका अनिवार्य हुनुपर्ने, पण्डित पुरोहितहरूका घरमा वैदिक ग्रन्थ, धर्मसिन्धु, निर्णयसिन्धु र अरू ग्रन्थ अनिवार्य रूपमा हुनुपर्नेछ,’ महासम्मेलनपछि धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पण्डितहरूले सात्विक आहार मात्र लिनुपर्नेछ, धूमपान र मध्यपान गर्न हुँदैन, गर्नेलाई पण्डितको मान्यता दिइने छैन ।’
महासम्मेलनले पण्डितहरूका लागि पोसाकको पनि आचारसंहिता तोकेको छ । धार्मिक कर्म गर्दा धार्मिक भेषभूषामा हुनुपर्ने र पोसाकको मर्यादा पालन गर्नुपर्ने, पण्डितले आºना छोराछोरीलाई पनि धर्म, संस्कार र संस्कृतिको शिक्षा दिनुपर्ने आचारसंहितामा उल्लेख छ । पण्डितहरूले आºनो आम्दानीको दशांश दान गर्न प्रोत्साहित गर्ने र सामाजिक कामका लागि दान हुनुपर्ने उनीहरूको ठहर छ ।
धर्मको खण्डन, विरोध र अपमान गर्नेको घरमा पुरेत्याइँ नगर्ने प्रतिबद्धता पनि महासम्मेलनले गरेको छ । यजमानलाई धर्म संस्कारको महत्त्व बुझाउनुपर्ने, सामूहिक ब्रतबन्ध र पैसा उठाउने हिसाबले गरिने यज्ञ, पुराण र धार्मिक कार्यलाई निरुत्साहित गर्नुपर्ने, शास्त्रका मर्यादाविपरीतका पुराण, निषेध गरेका दिन, महिनामा हुने विवाह र समारोहमा सहभागी नहुने नियम पनि पण्डितहरूले बनाएका छन् ।
त्यस्तै, सुटिङजस्ता अभिनयमूलक कार्यमा धार्मिक मन्त्रको दुरुपयोग नगर्ने पनि उनीहरूले आचारसंहितामा उल्लेख गरेका छन् । महासम्मेलनले विभिन्न ७ वटा कार्यपत्र पारित गर्दै पण्डित र ज्योतिषीका लागि आचारसंहिता पारित गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया