आर्थिक वृद्धिदर ६ वर्षयताकै न्यून

काठमाडौ, २५ चैत । मनसुनले साथ नदिएर कृषि उत्पादनमा गिरावट आएपछि देशको आर्थिक वृद्धिदर ६ वर्षयताकै न्यून अंकमा सीमित हुने भएको छ ।

समयमा वर्षात नहुँदा प्रमुख बालीका रूपमा धान र मकै उत्पादनमा कमी आएको छ । सोही कारण राजनीतिक अस्थिरताले औद्योगिक उत्पादन घटेपछि आर्थिक वृद्धिदर लक्ष्यभन्दा कम हुन गएको हो ।
केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३ दशमलव ५६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो । यसअघि आर्थिक वर्ष ०६२/६३ मा मुलुकको आर्थिक वृद्धि दर ३ दशमलव ४१ प्रतिशत थियो । त्यसयता वृद्धि दर ६ दशमलव १ प्रतिशतसम्म पुगेको थियो । सरकारले यो वर्ष वृद्धि दर ४ दशमलब १ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सरकारले साढे ५ प्रतिशतको वृद्धि लक्ष्यलाई घटाएर ४ दशमलब १ मा सीमित गरेको हो ।
विभागले तीनदेखि सात महिनाको आर्थिक क्षेत्रको आँकडाका आधारमा यो अनुमान सार्वजनिक गरेको हो । विभागले कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादन १ दशमलव २६ प्रतिशतले र गैरकृषि क्षेत्रको ४ दशमलब ९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । विभागका अनुसार खाद्यान्न बालीको उत्पादनमा ४ दशमलब २९ प्रतिशतले ह्रास आउने अनुमान छ । खाद्यान्न बालीभित्र पनि धान र मकैको उत्पादनमा क्रमश: ११ दशमलव १९ र ८ दशमलव २७ प्रतिशतले ह्रास आउनेछ ।
यो वर्ष उद्योग क्षेत्रको वृद्धिदर १ दशलमब ८५ प्रतिशत रहनेछ । औद्योगिक उत्पादन सूचांकमा भटमास, तेल, मदिरा, रेजिन, जिआई पाइप, पशुआहार, चाउचाउ, हल्का पेय पदार्थ उत्पादनमा ह्रास आएको छ । यसले औद्योगिक क्षेत्रको वृद्धिदरलाई प्रभावित बनाएको छ । निर्माण क्षेत्रमा पनि सुस्तता आएको छ । निर्माण क्षेत्रको कुल गार्हस्थ उत्पादन १ दशमलब ५७ प्रतिशत रहने विभागको पूर्वानुमान छ । निर्माण सामग्री आपूर्तिमा उल्लेखनीय वृद्धि नभएको, सरकार र निजी क्षेत्रको निर्माणमा सुस्तता आएकाले निर्माणको वृद्धिदर घट्ने अनुमान गरिएको हो ।
चालु वर्ष पूर्णबजेट नआउँदा विकास निर्माण प्रभावित छ भने घरजग्गा कारोबारमा मन्दी आएकाले नयाँ अपार्टमेन्ट बन्न सकेका छैनन् । तर, विभागले यो वर्ष रियल स्टेटको कारोबार बढ्ने अनुमान गरेको छ । रियल स्टेट तथा व्यावसायिक सेवाअन्तर्गतको गार्हस्थ उत्पादनमा १ दशमलब ६४ प्रतिशतले बढ्ने अनुमान गरिएको हो ।

प्रतिक्रिया