मञ्चको नेतृत्वमा अजय

Sports-Journalistकाठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चको शनिबार सम्पन्न नवौँ साधारणसभाले अजय फुयाँलको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । मतदानबाट फुयाँल निर्वाचित भए । हिमेशरत्न वज्राचार्य अध्यक्षका अर्का प्रत्याशी थिए । खेलपत्रकार–माझ शालीन व्यक्तित्वको छवि बनाएका ध्रुव तुलाधर प्रथम उपाध्यक्षमा निविरोध निर्वाचित भए ।

महासचिवमा महेश आचार्य, सचिवमा प्रकाश तिमिल्सिना र कोषाध्यक्षमा प्रमोद पोखरेल निर्विरोध निर्वाचित भए । दुई महिला सदस्यमा पवित्रा राउत र प्रतीक्षा दुलाल निर्विरोध चयन भए । दुई उपाध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) र रितेश रिजाल विजयी भए । श्रीलोचन राजोपाध्याय उपाध्यक्षका अर्का प्रत्याशी थिए । दुई सदस्यमा राजु घिसिङ र प्रज्वल ओली निर्वाचित भए । शनिबार नै बसेको मञ्चको नवनिर्वाचित केन्द्रीय समितिको बैठकले हिमेशरत्न वज्राचार्यलाई सदस्यमा मनोनीत गरेको छ । १५ सदस्यीय कार्यसमितिमा दुई सदस्य पछि मनोनयन गरिनेछ । मञ्चको विधानअनुसार निर्वतमान अध्यक्ष निरञ्जन राजवंशी कार्यसमितिमा रहनेछन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश थापा प्रमुख रहेको निर्वाचन समितिमा शेषराज खतिवडा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठ निर्वाचनअधिकृत थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले साधारणसभाको उद्घाटन गरेका थिए ।
यसैबीच नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघले विज्ञप्ति प्रकाशित गर्दै फुयाँलको नेतृत्वमा मञ्चले खेलकुद पत्रकारिताको व्यावसायिक विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ । संघका महासचिव राधेश्याम दाहालले मञ्चको नयाँ नेतृत्वको कार्यकालको शुभकामना व्यक्त गरेका छन् । (सौस)

प्रतिक्रिया