धरान : पन्ध्रौँ अन्तर्राष्ट्रिय उद्घाटनखेलमा आयोजक धरान ११ ले जित हात पारेको छ । उद्घाटनखेलमा आमन्त्रित भुटानलाई २–१ ले हराउँदै घरेलु टोली सेिमफाइनलमा प्रवेश गरेको छ ।
खेलको सातौं मिनेटमा उत्कृष्ट फर्ममा रहेका विंगर प्रकाश बुढाथोकीले गोलको खाता खोलेका थिए । प्रकाशले दीपक राईको लामो पासलाई उपयोग गर्दै गोल गरे । ७१ औँ मिनेटमा धरानका नाइजेरियन खेलाडी सेगुनले निर्णायक गोल गरे । विपक्षी मैदानबाट सीधै आएको पासलाई उपयोग गरी उनले गोल गरे । भुटानका लागि एकमात्र गोल ४२ औँ मिनेटमा पेनाल्टीमार्फत सोरनले गरे । धरानका कप्तान चाल्स राईको ह्यान्ड भएपछि भुटानले पेनाल्टीको अवसर पाएको थियो । खेलको ६० औँ मिनेटमा क्याप्टेन नोर्बुले एकल प्रयासमा गरेको प्रहार विपक्षी रक्षक विनय श्रेष्ठले रोकेका थिए । खेलको ६९ औँ मिनेटमा विनोदको पोस्टतर्फको प्रहार धरानका रिपेश अग्रवालले बचाएपछि भुटानले लक्ष्यतर्फ प्रहार गर्न सकेन । खेलको अन्त्यतिर भुटानको खेल थप रक्षात्मक थियो । तालमेल मिलाउन नसक्दा भुटानले गोलको अवसर निर्माण गर्न सकेको थिएन ।
धरानको खेल भने संगठित र आक्रामक थियो । तीन नाइजेरियन खेलाडीसहित नेपालका परिचित आठ स्टार लिएर मैदान छिरेको धरानले खेल अवधिभर सुन्दर अवसर सिर्जना गरे पनि धेरै ठाउँमा चुकेको थियो ।
धरानका प्रशिक्षक सागर थापाले प्रदर्शन स्वाभाविक भएको बताउँदै विपक्षी टिम कमजोर भएकाले सोचेअनुरूप प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । भुटानका प्रशिक्षक विकास प्रधानले खेलाडीहरूको समन्वय–अभावका कारण हार भएको बताए । भुटानका दुई राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको टिमका अधिकांश खेलाडी १९ वर्षमुनिका थिए ।
खेलको म्यान अफ द म्याच धरानका प्रकाश बुढाथोकी भए । आइतबारको खेल गत वर्षको उपाधिविजेता थ्रिस्टार क्लब काठमाडौं र सहारा क्लब पोखराबीच हुनेछ ।
प्रतिक्रिया