ताजकिस्तान युथ च्याम्पियनसिपमा छानियो

काठमाडौं, २५ चैत । ताजकिस्तान एएफसी यु–१४ फुटबल प्रतियोगिताका लागि छनोट भएको छ । एसियाली फुटबल महासंघको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल संघको आयोजनामा सम्पन्न छनोट खेलमा ताजिकिस्तान ६ अंकसहित पहिलो भयो । शनिबार भएको खेलमा ताजकिस्तानले अफगानिस्तानलाई २–१ गोलले पराजित गर्‍यो । ताजकिस्तानका लागि फुज्यलोभ जियाभादिनले पाँचौँ र मोहमादेभ आस्लिदिनले ५४ औँ मिनेटमा गोल गरे । अफगानिस्तानका लागि ओमिद गायद्यर सानेहले ३० औँ मिनेटमा गोल गरे ।

शनिबार नै भएको खेलमा छनोट हुन असफल भएको नेपालले भुटानलाई १३–० ले पराजित गरेको छ । नेपालका लागि मिङ्मा शेर्पाले ह्याट्रिक गरे । दोस्रो मिनेटमा पहिलो गोल गरेका शेर्पाले २६ औँ र ५४ औँ मिनेटमा गोल गरे । असीम राईले पनि ह्याट्रिक गरे । १६ औँ मिनेटमा पहिलो गोल गरेका असीमले सात मिनेटको अन्तरमा दुई गोल गरे । २५ औँ मिनेटमा गोल गरेका उनले ३२ औँ मिनेटमा थप गोल गरे । त्यसो त अन्तिम मिनेटमा गोल गर्दै सुसन श्रेष्ठले पनि ह्याट्रिक पूरा गरे । यसअघि उनले २४ औँ र ४६ औँ मिनेटमा गोल गरेका थिए । प्रिजन तामाङले ४० र ५० औँ मिनेटमा क्षितिज राजले ५५ तथा जितेश गुरुङले १८ औँ मिनेटमा गोल गरेका थिए ।
ताजकिस्तानका प्रशिक्षक क्युसेमोभ सु:तोनले जितका कारण उत्साहित भएको बताउँदै उनले चार टोलीमा नेपाल सबैभन्दा उत्कृष्ट भए पनि अफगानिस्तानसँगको खेलमा दुर्भाग्यशाली भएको बताए । अफगानिस्तानका प्रशिक्षक जासिरले रेफ्रीका कारण हारेको प्रतिक्रिया दिए । ताजकिस्तानले पेनाल्टीमा पहिलो गोल गरेका थिए ।

प्रतिक्रिया