नि:शुल्क यौनसेवा लिएर म्याच–फिक्सिङ

सिंगापुर : नि:शुल्क यौनसेवा लिएर म्याच–फिक्सिङ गरे/गराएको आरोपमा लेबनानका तीनजना फुटबल अधिकारीविरुद्ध सिंगापुरको अदालतमा मुद्दा दायर भएको छ । समाचारसंस्था ‘रोयटर्स’ले भ्रष्टाचारविरोधी अनुसन्धान ब्युरोलाई उद्धृत गर्दै जनाएअनुसार, उनीहरू तीनैजनालाई बिहीबार अदालतमा प्रस्तुत गरिएको थियो र उनीहरूविरुद्ध नि:शुल्क यौनसेवा प्राप्त गरेको मामिला दर्ता पनि गरिएको हो ।
अर्को समाचारसंस्था ‘ब्लुमबर्ग’ले जनाएअनुसार, उनीहरू तीनै जनालाई सिंगापुरको अमारा होटलमा म्याचकै दिन एक–एकजना युवती उपलब्ध गराइएको थियो । त्यसबापत उनीहरूले म्याच–फिक्सिङ गराउनुपर्ने थियो । यो मामिला एसियन फुटबल कन्फेडेरेसन (एएफसी) सँग सम्बन्धित भएको बताइएको छ । रोयटर्सले जनाएअनुसार त्यस म्याचको सम्बन्ध कोलकाताको ‘इस्ट बंगाल क्लब’सित रहेको थियो ।
उल्लेखित आरोपहरू सत्य ठहर भएमा उनीहरूलाई पाँच वर्षको जेलसजायँ र असी हजार डलर जरिवाना हुन सक्नेछ । यो मामिला फुटबल म्याचहरूमा निकै ठूलो स्तरमा म्याच–फिक्सिङ हुने गरेको प्रसंग निरन्तर जोडतोडका साथ सार्वजनिक भइरहेकै समयमा बाहिर आएको हो । फुटबलको विश्वसंस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले गत फेब्रुअरीमा इटाली, दक्षिण कोरिया र चीनमा म्याच–फिक्सिङको आरोप लागेका सम्बन्धित फुटबल अधिकारीहरूसित सोधपुछ गरेको थियो ।
युरोपोलले गरेको एक सर्वेक्षणबाट के देखिएको थियो भने, अन्तर्राष्ट्रिय स्तरमा भइरहेका फुटबल म्याचको फिक्सिङमा संलग्न व्यक्तिहरूको अखडा सिंगापुरमै छ । समाचार एजेन्सीहरूका अनुसार सन् २००८ देखि २०११ को अवधिमा खेलिएकामध्ये कम्तीमा ६८० म्याचलाई शंकाको घेराभित्र राख्न सकिन्छ । (बिबिसी)

प्रतिक्रिया