सफलतासँगै क्रिकेटलाई नयाँ चुनौती

काठमाडौं, २४ चैत । हिमाली राजधानीमा भर्खरै सम्पन्न चौथो एसिसि टि–ट्वान्टी–२०१३ क्रिकेट प्रतियोगितामा नेपालले ऐतिहासिक सफलतासित हातेमालो गर्दै फाइनलसम्मको यात्रा गर्‍यो । फाइनलमा राम्रो प्रदर्शन गरे पनि नेपाली टोली अफगानिस्तानको ‘टप क्लास’ प्रदर्शनविरुद्ध पराजित भयो । तर, यसरी फाइनलमा हजाराँै दर्शकलाई निराश तुल्याउँदै पराजय व्येहोर्नुपरे पनि नेपालले यसअघिको सारा इतिहास बिर्साउँदै भविष्यमा निकै आशा गर्न सकिने टोलीका रूपमा आफूलाई उभ्याएको भने छ ।khel

उपाधि जित्न सक्नु धेरै नै बेस हो, तापनि फाइनलमा पराजय ठूलो कुरो रहेन किनभने नेपालको लक्ष्य टि–ट्वान्टी विश्वकपका लागि हुने विश्वस्तरको छनोटका लागि आफूलाई क्वालिफाई गर्नु थियो, जुन सेमिफाइनल प्रवेशसँगै हासिल भइसकेको थियो । रह्यो सवाल ट्रफी उचाल्ने, त्यो नेपालले हेरेको हेर्‍यै अफगानिस्तानले उचाल्यो भने पनि त्यसले नेपाली क्रिकेटले मारेको फड्कोलाई कुनै असर पारेन ।
युएईविरुद्ध सानदार प्रदर्शन गर्नु र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गर्नु नेपाली टोलीका लागि दुई ठूला उपलब्धि रहे । समूह चरणमा नेपालले केही उपलब्धिबाहेक खासै स्तरियता देखाउन सकेन । पछिल्लो समय आफूसँग लगातार पराजित हँुदै आएको हङकङविरुद्ध हार व्यहोरे पनि नेपाल सेमिफाइनल प्रवेश गर्ने टोलीका रूपमा स्वाभाविक दावेदार थियो । र, समूहका अन्य टोली माल्दिभ्स, मलेसिया र सिंगापुरलाई पराजित गरी नेपाल दुई वर्षअघि ऐतिहासिक यात्राका रूपमा तय गरेको सेमिफाइनल यात्रालाई यसपटक पनि कायमै राख्न सफल भयो ।
अर्को समूहबाट अफगानिस्तान र युएई सेमिफाइनल पुगेपछि प्रतियोगिताअघि नै गरिएको अनुमानमा कुनै आश्चर्य छाएन र नेपालले आगामी वर्ष बंगलादेशमा हुने टी–ट्वान्टी विश्वकपका लागि आगामी नोभेम्बरमा हुने विश्वस्तरको छनोटका लागि सहभागिता निश्चित गर्‍यो । यसअघि नै छनोट भइसकेका बलिया टोली अफगानिस्तान र युएई एउटै समूहमा रहेको र यी दुई टोलीबाहेक यस प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोली पनि उक्त छनोटमा सहभागी हुने व्यवस्थाअनुरूप नेपालले यो सफलता हात पार्ने सम्भावना प्रतियोगितापूर्व नै गरिएको थियो । समूहमा हङकङ मात्र नेपाललाई पराजित गर्नसक्ने बढी सम्भावनाको टोली थियो ।
पहिलो लक्ष्य पूरा भएको जगमा नेपालले समूह चरणमा अफगानिस्तानलाई समेत पराजित गरेको युएईविरुद्ध पहिलोपटक विजय प्राप्त गरेर फाइनल यात्रा तय गर्‍यो । हाल वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेलिरहेको युएई लगातार तीनपटकको विजेता अफगानिस्तानलाई पराजित गरेर उच्च मनोबलमा देखिए पनि नेपालले स्तरिय प्रदर्शन गर्‍यो ।
फाइनलमा अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपालले मध्यम स्कोर तयार गर्‍यो, भलै प्रतिद्वन्द्वीको ‘टप क्लास’ ब्याटिङसामु घरेलु टोलीले उपविजेतामा चित्त बुझाउनु निर्विकल्पझँै देखियो । हारपछि नेपाली टोलीका प्रशिक्षक पुवुदु दसानायकेले नेपालले टि–ट्वान्टी विश्वकपमा सहभागी हुनसक्ने बताए । युएईलाई पराजित गर्नुका साथै अफगानिस्तानविरुद्ध राम्रो प्रदर्शन गरेर नेपालले विश्वस्तरको छनोटमा शीर्ष ६ मा रहने हैसियत देखाएको उनको भनाइ छ । नेपाली टोली ‘स्प्रिटेड’ रहेको भन्दै उनले खेलाडीमा आत्मविश्वास बढिरहेको बताए ।
‘कसरी टप क्लासको क्रिकेट खेल्नुपर्छ र ठूला टिमविरुद्ध आफूलाई कसरी तयार गर्नुपर्छ भन्नेमा नेपाली खेलाडीमा आत्मबल बढिरहेको छ,’ दसानायकेको भनाइ छ । सेमिफाइनल पराजयपछि युएईका प्रशिक्षकले फाइनलमा नेपालले अफगानिस्तानलाई हराउन सक्ने अनुमान गरेका थिए । यता यसअघिका खेलमा भन्दा कठिन चुनौतीको सामना गरेपछि अफगानिस्तानका प्रशिक्षकले नेपाल ‘टप क्लास’तर्फ उन्मुख भइरहेको बताए ।
पछिल्ला केही वर्ष सुदृढ प्रदर्शन गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को गरी राष्ट्रियस्तरमा ऐतिहासिक सफलता हात पारिरहेको छ । पछिल्ला तीन वर्षबीच आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फाइभ र फोरको उपाधिसहित एसिसी ट्रफीको उपाधि जित्दा नेपालले खेलिएका प्राय: सबै सिनियर प्रतियोगितामा केही न केही सफलता चुमिरहेको अवस्था एकपछि अर्को गरी आइरहेको छ ।
प्रमुख समस्याका रूपमा रहेको नेपाली टोलीको ब्याटिङ सुधार हुँदै जानु नेपालको आशाको प्रमुख आधार हो । बलिङमा सधँै स्तरियता देखाउँदै आएको नेपालले त्यसलाई हरेकमा कायम राख्दै यसपटक एसिसी टी–ट्वान्टी एलिट कपमा ब्याटिङमा पनि राम्रो प्रदर्शन गर्‍यो । सिंगापुरविरुद्ध २१० रन जोडेर नेपालले टी–ट्वान्टी क्रिकेटमा ऐतिहासिक स्कोरका रूपमा रेकर्ड बनायो । पहिला ब्याटिङ गरिएको खेलमा नेपालले माल्दिभ्स र मलेसियाविरुद्ध पनि १५० रनभन्दा बढी योगफल तयार गर्‍यो । बलिङको प्रभावमा सेमिफाइनलमा पहिला ब्याटिङ गरेको युएईलाई १३४ रनमा समेटेको नेपाल ६ विकेटले विजयी भएको थियो ।
पारस खड्का, प्रदीप ऐरी, वसन्त रेग्मी, विनोद भण्डारी, शक्ति गौचनलगायत खेलाडी नेपालको सफलतामा छाए । ६ म्याचमा २०७ रन जोड्नुका साथै चार विकेट लिएका नेपाली कप्तान प्लेयर अफ दि सिरिज भए । उच्च स्कोरका रूपमा ८७ रन र दुई अर्धशतक बनाएका पारसले १९ चौका र ६ छक्का प्रहार गरेका थिए । उनले फाइनलमा पनि अर्धशतकीय इनिङ खेले । पारस यस प्रतियोगितामा सर्वाधिक रन जोड्नेको सूचीमा तेस्रो स्थानमा रहे । हङकङका वाकस बर्खत (२८०) र इरफान अहमद (२२३) मात्र उनीभन्दा अगाडि रहे ।
दुई अर्धशतकसहित ६ म्याचमा १६९ रन जोडेका प्रारम्भिक ब्याट्सम्यान प्रदीप सर्वाधिक रनकर्ताको सूचीमा छैटाँै स्थानमा रहे । ६ म्याचमा एक अर्धशतकसहित १५२ रन जोडेका विनोद नवौँ स्थानमा रहन सफल भए । प्रदीपले प्रतियोगिताभर १९ चौका र ६ छक्का प्रहार गरेका थिए । युएईविरुद्ध उनले बनाएको ५८ रन भने नेपाली टोलीको ऐतिहासिक यात्रामा प्रमुख आधार बनेको थियो । यता बलिङतर्फ ६ म्याचमा २४ ओभर बलिङ गर्दै तीन मेडन राखेर १० विकेट लिएका वसन्त सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । उनीभन्दा मात्र एक विकेट बढी लिएका हङकङका तनवीर अफजल शीर्षस्थानमा रहे । वसन्त केही महिनाअघि सम्पन्न एसिसी ट्रफीमा प्लेयर अफ दि सिरिज भएका थिए । ६ म्याचमा २१ ओभर बलिङ गर्दै दुई मेडन राखेर आठ विकेट लिएका शक्ति साताँै सर्वाधिक विकेट लिने बलर भए ।
नेपालले केही सातापछि आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री र यसै वर्षको नोभेम्बरमा टी–ट्वान्टी विश्कपको विश्वस्तरको छनोटमा सहभागी हुँदै छ । यी दुवै प्रतियोगिता टी–ट्वान्टी र एकदिवसीय विश्वकपमा सहभागिताका छनोट चरण हुन् । नेपाली खेलाडीको सधैँ गुनासो हुने गर्छ– पर्याप्त घरेलु प्रतियोगिता छैनन्, तयारी पनि पर्याप्त हँुदैन । यसै सन्दर्भमा कप्तान पारस खड्का ‘टप क्लास’को बन्न सामान्य गल्तीसमेतलाई ध्यान पुर्‍याउनुपर्छ भन्छन् । ‘हामीमा क्षमता छ । तर, तयारी र घरेलु प्रतियोगितामा बढी जोड दिनुपर्छ किनभने टप क्लास क्रिकेट खेल्नका लागि सामान्य गल्तीसमेत गर्नुहुन्न,’ पारस भन्छन् ।

प्रतिक्रिया