कविता लेखेरै श्रीमती पट्याएँ

Krishna-Pradhanसानैदेखि साहित्यमा रुचि थियो मेरो । सन् १९६८ तिर आसामस्थित कृष्णमाया हाईस्कुलमा सातौँ श्रेणीमा पढ्दै थिएँ । कविता लेख्न असाध्यै मन लाग्थ्यो । साथीहरूबीच कसले राम्रो लेख्ने भन्ने होड चल्थ्यो ।

समयसँगै कक्षा र म दुवै परिवर्तन हुँदै थियौँ । नवौँ श्रेणीमा पढ्दै गर्दा साहित्यकार रामलाल अधिकारीसँग भेट भयो । उहाँ समालोचक पनि हुनुहुन्थ्यो । हाम्रै स्कुलमा अध्यापन गराउनुहुने भएकाले उहाँसँग मेरो सामीप्य बढ्दै गयो । उहाँकै प्रेरणाले मैले साहित्यमा कदमअघि बढाउन पाएँ । आसामको लोकप्रिय पत्रिका ‘बाडुल्की’ मा उहाँले मेरो ‘हिमालय’ शीर्षक कविता छापिदिनुभयो ।
मभित्रको साहित्यिक चेत उहाँले बुझिसक्नुभएको रहेछ । त्यसैले विद्यालयमा हुने विभिन्न फङ्सनमा मलाई कविता लेख्न लगाएर वाचन गराउनुहुन्थ्यो । उहाँको हौसलालाई खुड्किलो बनाउँदै म साहित्यमा अघि बढिरहेँ । उतिबेला आसामका चर्चित पत्रिकाहरूमा मेरा कविता छापिइरहन थाले । दर्जनौँ कविता छापिए । यो क्रम आज पनि जारी छ ।
एकचोटि रामलाल अधिकारीले नेपाली साहित्यका तारानाथ शर्मा, वासुदेव त्रिपाठीलगायतको उपस्थितिमा आसाममा साहित्यिक भेला गराउनुभएको थियो । म सानो फुच्चे भीडको पछाडिपट्टि थिएँ । साहित्यमा चिनिइसकेका अग्रजहरू अगाडिपट्टिको ‘रो’मा थिए । मैले सोचेँ– साहित्यमा अब्बल हुनसके मात्रै अगाडिपट्टि बस्न पाइँदो रहेछ । अब म पनि राम्रो लेखेर अग्रजहरूको ठाउँ ओगट्छु । यसो गर्नसके इज्जत पनि कमाइने रहेछ †
सानैदेखि अरूभन्दा अलग देखिन खोज्ने स्वभाव थियो मेरो । त्यसका लागि साहित्यमा छुट्टै पहिचान बनाउन सक्नुपर्छ भन्ने बुझेँ । त्यसैअनुसार आफ्नो कलम तिखार्दै गएँ । साहित्यभित्र पनि हास्यविधामा विशेष दखल राख्छु । किनकि गुरु रामलाल आफैँ हास्यव्यंग्य निबन्धका सशक्त हस्ती हुनुहुन्छ । उहाँका कैयौँ निबन्ध त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रममा पनि समावेश छन् । रसिक स्वभावका उहाँ मलाई असाध्यै माया गर्नुहुन्थ्यो । साहित्य लेख्न हौस्याउनुहुन्थ्यो । म पनि असल शिष्य बनेर उहाँलाई पछ्याउँथेँ । आफ्नो लेख गुरुले नराम्रो भनिदिँदा कहिलेकाहीँ मलाई रिस पनि उठ्थ्यो । म फन्किन थाल्थेँ, फेरि उहाँ नम्र भएर मलाई सम्झाउनुहुन्थ्यो । अहिले आएर बुझेँ– गुरुको क्रियाकलाप ठीक रहेछ । मलाई थप परिष्कृत बनाउन उहाँले त्यसो गर्नुभएको रहेछ ।
नेपाली विषय सानैदेखि राम्रो थियो मेरो । त्यसैले नेपाली साहित्यलेखन र अध्ययनतिर रुचि बढ्दै गयो । नेपाली विषय राम्रो भएकाले म दशौँ श्रेणीमा पढ्दा नवौँ श्रेणीका विद्यार्थीलाई नेपाली पढाउन सक्थेँ । शिक्षकले सबै शुद्ध पढाउँछन् भन्ने हुँदो रहेनछ । नेपालीमा राम्रो ज्ञान भएकाले शिक्षकले गलत पढाउँदा मैले कयौँपटक औँलो ठड्याएँ । कति शिक्षकले त ‘तँलाई बेतले पढाउँला (लौरोले ठटाउला)’ नि समेत भने । सानैदेखि निडर स्वभाव र स्पष्टवादी भएकाले यस्ता कुराबाट डगमगाइनँ । सत्यलाई मात्रै ठीक मानेँ । सत्य कुरामा नडराउने यो बानीले कति ठाउँमा बिगारेको छ, सपारेको पनि छ ।
सिलिगुढीमा नेपाली साहित्यको विकास गराएको रामलाल अधिकारीले नै हो । उहाँ सिलिगुढी नआउन्जेल नेपाली साहित्यिक सिर्जना फाट्टफुट्ट अलिअलि देखिन्थे, त्यसै हराएर जान्थे । उहाँ नभएको भए त्यहाँ नेपाली साहित्यले फस्टाउने मौका पाउने नै थिएन । मेरो सन्दर्भमा पनि उहाँसँग भेट नभएको भए साहित्यिक यात्रामा यति लामो दूरी तय गर्न सक्दैनथेँ होला । त्यतिबेला उहाँले समकालीनहरूसँग मिलेर ‘बाडुल्की’ पत्रिका निकाल्नुभएको थियो । अझै पनि प्रकाशनरत यो प्रत्रिकामार्फत आसाममा धेरै साहित्यकार जन्मिएका छन्, जन्मिने क्रम जारी छ । शून्य स्थितिमा रहेको सिलिगुढीको साहित्यिक माहोल अहिले निकै अगाडि बढिसकेको छ ।
०००
हास्यव्यंग्यमा यस्तो शक्ति छ, जसमार्फत मानिसलाई छिट्टै आफूतिर आकर्षित गर्न सकिन्छ, लोकप्रियता कमाइन्छ । अन्य विधाबाट भन्न नसकिने थुप्रै कुरा यसबाट अभिव्यक्त गर्न सजिलो हुन्छ । मेरो चाहना पनि त्यही हो । आफूलाई सबैले मन पराऊन् भन्ने चाहन्थेँ । यसैकारण हास्यव्यंग्य साहित्यतिर नै मेरो बढी लगाब रह्यो । यो विधाबाट म छिट्टै लोकप्रिय पनि भएँ । कुनै पनि प्रकाशनमा हास्यव्यंग्य सामग्री दिँदा मेरा लागि विशेष पारिश्रमिक व्यवस्था गरिएको हुन्छ ।
साहित्यमा त्यसैअघि बढ्न सकेको हुइनँ । अग्रजका पुस्तकहरू निकै नै अध्ययन गर्ने बानी थियो मेरो, अझै पनि छ । तीमध्ये पनि सिद्धान्तका किताब विशेष अध्ययन गर्छु । मेरो साहित्यलेखनको एउटा छुट्टै सीमा छ । एउटा विधानभित्र बसेर समालोचकीय दृष्टिबाट कलम चलाउँछु । यसो गर्दा लेखन शुद्ध हुन्छ । कलमै चलाएर ममा अरूलाई हँसाउने, हँसाएर अरूलाई पल्काउने बानी बस्यो । यो नै मेरो जीवनको ठूलो उपलब्धि हो । हास्यव्यंग्यमा पनि म जीवनका यथार्थ भोगाइलाई ‘प्लट’ बनाउँछु ।
आजसम्म मेरा दर्जन साहित्यिक कृति बजारमा आएका छन् । कविताबाट सुरु भएको मेरो साहित्ययात्रा गीत, गजल, मुक्तक, हास्यव्यंग्य, निबन्ध विधासम्म फैलियो । सँगसँगै म पनि देशविदेशसम्म फैलिएँ । ‘आइमाईको रिस’, ‘चारुको डर’ र ‘हाउगुजी’ मेरा अधिक लोकप्रिय कृति हुन् । ‘चारुको डर’ र ‘हाउगुजी’ त सिक्किम युनिभर्सिटीको पाठ्यक्रममा पनि समावेश गरिएको छ ।
हुन त पहिलो कृतिमा हास्यव्यंग्यको रस अलिअलि मात्रै थियो, सायद अनुभव र परिपक्वता पनि कमै थियो । पछिल्ला कृतिहरूमा ती सबै कुरा परिपूर्ति हुँदै गए । यो स्वाभाविक प्रक्रिया पनि हो । मेरा हास्यव्यंग्य कतिले मन पराए, कतिलाई चित्त बुझाउन सकिएन पनि होला । मान्छेअनुसार रुचि फरक पर्ने भएकाले यस्तो हुनु नौलो होइन । जे भए नि आफ्नो यात्रामा अगाडि बढिरहेकै छु । एउटै विधाबाट सबैलाई खुसी पार्न सकिन्न भन्ने बुझेको छु । कसैलाई मन नपर्ला तर एउटा सत्य केचाहिँ हो भने मैले लेखेका कुरामा केही न केही सन्देश भने अवश्य हुन्छ । सबैलाई खुसी पार्ने गरी लेख्न थालेको भए सायद आजको सफलतासम्म पनि आइपुग्दैनथेँ होला ।
साहित्यमा लागेर मेरो एउटा रहरचाहिँ खोसिएको छ, पुलिस अफिसर बन्ने । १९७९ मा इन्सपेक्टरमा भर्ती भएको थिएँ । मेरो दाजुको अध्ययन अलि कम भएकाले उहाँ सिपाही हुनुहुन्थ्यो । आमाले भन्नुभयो– ‘पुलिस अफिसर भएपछि तेरो गाडी हुन्छ, गाडीमा तँ अगाडि बस्छस् । तेरो दाजुले त्यही गाडीमा पछाडि बसेर तैंलाई सलाम ठोक्नुपर्छ ।’ आमाका यी कुरा सुनेपछि मलाई पुलिस अफिसर भएर काम गर्नै मन लागेन । जागिर छोडिदिएँ । नत्र अहिले डिएसपी भइसक्थेँ ।
०००
साहित्यमा लागेर धेरै कुरा पाएको छु, नाम–इज्जत सबै । हाम्रो पूर्वीय दर्शनमा ‘कर्म गर्नू फलको आशा नराख्नु’ भन्ने मान्यता छ । तर, मेरो विश्वास यसविपरीत छ । कर्म पनि गर्नुपर्छ, फलको आशा पनि राख्नुपर्छ । बिहे गरेपछि सन्तान, अध्ययन गरेपछि नोकरी र राम्रो काम गरेपछि पुरस्कार पाउनुपर्छ भन्ने मेरो मान्यता छ ।
साहित्यमा लागेर थकथक लाग्ने गरी गुमाउनुपरेको केही छैन । कविता लेखेरै श्रीमती पट्याएको हुँ मैले । साहित्यबाटै जीवन गुजारा चलेको छ । घरभित्रका काम मलाई खासै केही थाहा छैन र गर्दिनँ पनि । श्रीमती मलाई साहित्यमै लागिरहन र धेरै अध्ययन गर्न प्रेरणा दिन्छिन् । छोराछोरीको चाहना पनि त्यही छ । पारिवारिक रूपबाट साहित्यमा लाग्न सजिलो वातावरण बनेको छ । त्यसो त साहित्यमा लागेर पनि मैले घरपरिवारप्रतिको कर्तव्य पूरा गरेकै छु । नत्रचाहिँ गुनासो हुन्थ्यो होला । कमाएको सबै रकम घरमा बुझाएको छु । जेजति कमाउँछु श्रीमतीलाई नै दिन्छु । त्यसैले केही सुन्नुपरेको छैन । यो मामिलामा आफूलाई भाग्यमानी साहित्यकार भन्छु । तर, व्यस्तताका कारण कहिलेकाहीँ छिमेकी, आफन्त कसैलाई समय दिन पाइँदैन, उनीहरूको गुनासो पनि होला । तर, मेरा लागि साहित्य नै ठूलो हो, यसमै रमाउन चाहन्छु ।
मसँग एउटा अनौठो साहित्यिक क्षमता छ । जे सोच्छु, त्यो सिधै गर्न सक्छु । यसका लागि समय चाहिँदैन । कुनै कुरा लेख्दालेख्दै १० दिन ब्रेक गरेर फेरि सुरु गर्दा जुन धारामा रोकिएको हो, त्यहीँबाट पुरानै जोस ताजा बनाएर लेख्न सक्छु । कुनै पनि धारा फरक पर्दैन । लेख्नका लागि कुनै विशेष स्थान र समय चाहिँदैन । जहिले जहाँ पनि लेख्न सक्छु । भारतमा हास्यव्यंग्यलाई साहित्य नै नमान्ने साहित्यकार पनि छन् । उनीहरूले हास्यव्यंग्य लेख्न र पढ्न जानेका हुँदैनन् । यी अनपढ हुन् भन्ने मान्यता मेरो छ । म तिनलाई देखाउन पनि समालोचना लेख्ने सोचाइमा छु ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया