क्वायर उद्योगमा आगलागी दस करोड बढीको क्षति

भैरहवा, २२ चैत । रूपन्देहीको वस न्तपुर गाविसमा रहेको लुम्बिनी क्वायर इण्डस्ट्रिजमा रहस्यमय आगलागी भएको छ ।

बुधबार बिहान साढे ६ बजेतिर लागेको आगलागीबाट उद्योग पूर्णरूपमा क्षतिग्रस्त भई करौडौंको नोक्सानमा पुगेको उद्योग सञ्चालक सञ्चित अग्रवालले जनाएका छन् ।
ड्युरो फ्ल्याक्स ब्रान्ड का म्याट्रिस एवं बेडकासाथै विभिन्न किसिमका गद्दा उत्पादन गर्दै आएको सो उद्योगमा विद्युत् सर्ट भई आगो लागेको सञ्चालकले बताए । तर, घटनाको प्रकृति हेर्दा रहस्यमय देखिएको छ । उद्योग दुई दिनदेखि बन्द अवस्थामा थियो । आगलागी उज्यालो भएपछि भएको हो । तीन किलोमिटरको दूरीमा रहेको भैरहवाबाट उक्त उद्योगमा आगो निभाउने दमकल आउन झन्डै एक घन्टा लागेको थियो । यी सबै घटनालाई विश्लेषण गर्दा आगलागी रहस्यमय भएको देखिन्छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिप्रका रूपन्देहीका प्रमुख एसपी हरिबहादुर पालले बताए ।
आगलागीबाट करिब १० करोडको क्षति भएको उद्योगका निर्देशक सञ्जित अग्रवालले जानकारी दिए । बिहान साढे ६ बजे लागेको आगो दुई घन्टा पछि मात्रै भैरहवा र बुटवलबाट गएका दुई वटा दमकल, स्थानीय, प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो ।
आगलागीका कारण उद्योगको कन्स्ट्रक्सन, स्टक सामान, उत्पादित सामान तथा मेसिन जलेर नष्ट भएको उद्योग सञ्चालकले बताए । वार्षिक २० करोडको उत्पादन सामग्री बिक्री वितरण गर्दै आएको उक्त उद्योग ६ वर्ष अगाडि रूपन्देहीको वसन्तपुरमा स्थापना भएको हो ।
उक्त उद्योगबाट उत्पादित ड्युरो फ्लेक्स ब्रान्ड जस्तो लोकप्रिय बिस्तरासेट नेपाली बजारमा अति नै प्रचलित छ । भैरहवाबाट तीन किलोमिटरको दूरीमा भैरहवा बुटवल हाइवेमा उद्योग भए तापनि ढिलो गरी दमकल पुग्नाले आगो नियन्त्रणमा ढिलाइ हँुदा उद्योग पूर्णरूपमा क्षतिग्रस्त भएको सञ्चालक विवेक अग्रवालले बताए । उद्योगमा करिब ३० जना मजदुरले काम गर्दै आएका छन् । उद्योगका सञ्चालक अग्रवालले दमकल समयमै नआउँदा उद्योग पूर्णरूपमा क्षतिग्रस्त भएको बताए । रहस्यमय आगलागीको सम्बन्धमा अग्रवालले भने, त्यस्तो गलत काम कोहीबाट पनि हुन सक्दैन ।’ उद्योगलाई चालु अवस्थामा फर्काउन करिब ८ महिना लाग्ने र खर्च पनि करिब ८ करोडभन्दा बढी लाग्ने सञ्चालकले बताए ।

प्रतिक्रिया