अफगानिस्तानद्वारा नेपाल फेरि निराश

Cricaketकाठमाडौं, २२ चैत । अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानविरुद्ध पुन: एकपटक असफल भएपछि नेपाल घरेलु मैदानमा बुधबार सम्पन्न एसियाली क्रिकेट परिषद् (एसिसी) टी–ट्वान्टी एलिट कपको उपविजेतामै सीमित भएको छ ।

पहिलोपटक यस प्रतियोगिताको फाइनल पुगेको नेपाललाई सात विकेटले पराजित गरी अफगानिस्तान लगातार चौथोपटक यस प्रतियोगिताको च्याम्पियन बन्यो । यसअघिका सबै संस्करणको उपाधि अफगानिस्तानले जितेको थियो ।
सिनियर क्रिकेटमा नेपालविरुद्ध सधैँ हाबी हुँदै आएको अफगानिस्तानले उपाधि रक्षा गर्ने क्रममा बुधबार पनि ‘क्लास’को प्रदर्शन गर्‍यो । बलिङ, ब्याटिङ र फिल्डिङसहित हरेक क्षेत्रमा अफगानिस्तानको स्तरीयता झल्कियो । टस हारी ब्याटिङको निम्ता पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा १३५ रन जोडेको थियो । अफगानिस्तानले १७.५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
विजयी टोलीका लागि प्रारम्भिक ब्याट्सम्यान गुल्बादिन नैबले नटआउट ४३ रन जोडे । कप्तान मोहम्मद नाबीले आक्रामक ब्याटिङ गर्दै २३ बल खेलेर नटआउट ३८ रनको योगदान गरे । प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर करिम सादिक व्यक्तिगत ३२ रनको स्थितिमा रन आउट भए भने नाजिबुल्लाह जद्रानले १५ रन जोडे ।
सुरुआतको पाँच ओभरमा २६ रन जोड्दै सुस्त सुरुआत गरे पनि अफगानिस्तानले पहिलो विकेटका लागि ६.६ ओभरमा ४३ रनको साझेदारी गरी जितको बलियो आधार तयार गरेको थियो । पहिलो ओभरमै वसन्त रेग्मीले सादिकको क्याच ‘ड्रप’ गर्दा नेपाल गतिलो सुरुआत गर्नबाट चुकेको थियो । दोस्रो ओभरदेखि स्पिनरको प्रयोग गरिए पनि अफगानिस्तानका ब्याट्सम्यानले अनुभवको प्रयोग गर्दै सजिलै रन बटुले ।
‘हामीले पर्याप्त रन जोड्न सकेनौँ । सुरुमै विकेट जाँदा लक्षित योगफल तयार गर्न गाह्रो भयो,’ हारपछि नेपालका कप्तान पारस खड्काले भने । नेपाली टिमका प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोलीको आत्मविश्वास र अनुभवमा आएको निखारताले टी–ट्वान्टी विश्वकपमा छनोट हुने सम्भावना देखिएको बताए ।
‘विश्वकपको विश्वस्तरको छनोटमा पनि सबैभन्दा बलियो टोली अफगानिस्तान नै हुनेछ । आज अफगानिस्तानविरुद्ध कठिन चुनौती प्रस्तुत गरेर विश्वस्तरको छनोटमा शीर्ष ६ भित्र रहनसक्ने सम्भावना देखाएका छौँ,’ दशानायकेको भनाइ थियो । नेपाल तीन वर्षअघि एसिसी ट्रफीको फाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो भने नेपालमै आयोजित एसिसी टी–ट्वान्टीको गत संस्करणमा सेमिफाइनलमा पनि अफगानिस्तानले नेपाललाई निराश बनाएको थियो । यु–१९ मा समेत पछिल्लो समय अफगानिस्तानले नेपाललाई लगातार पराजित गरिरहेको छ ।
त्यसअघि अफगानिस्तानको कसिलो पेस आक्रमणसामु सुरुका तीन ब्याट्सम्यान सस्तैमा आउट भएपछि पारस खड्का र विनोद भण्डारीले ७१ रनको साझेदारी गर्नुअघि नेपाल निकै दबाबमा रहेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्वय सुवास खकुरेल १० र प्रदीप ऐरी एक रनमा आउट भए भने ज्ञानेन्द्र मल्लले पनि १० रन जोडे । सुरुको १० ओभरमा ४१ रन जोडेको नेपालले त्यसपछि रनको गतिलाई क्रमश: बढाउँदै अन्तिम पाँच ओभरमा ५१ रन जोडेको थियो । पारसले ५०, विनोदले ३२ र शरदले २० रन जोडे । ४० बलको सामना गर्ने क्रममा पारसले चार चौका र दुई छक्का प्रहार गरे । विनोदले ३९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । विस्फोटक ब्याटिङ गरिरहेको समयमा पारस, शरदसँग रन कलिङमा ‘ग्याप’ हुँदा १८ औँ ओभरमा रनआउटको शिकार भएका थिए ।
शरदले अन्तिम ओभरमा लगातार तीन चौका प्रहार गरे । नटआउट रहेका प्रारम्भिक ब्याट्सम्यान नैब प्लेयर अफ दि म्याच भए । नेपाललाई ऐतिहासिक यात्रा तय गराउँदै फाइनल पुर्‍याउन २०७ रन बनाउनुका साथै चार विकेट लिएका पारस ‘प्लेयर अफ दि सिरिज’ भए । उनले बेस्ट नेपाली पर्फर्मरका रूपमा पल्सर मोटरसाइकलसमेत पाए । ‘नेपालका लागि हरेकपटक बेस्ट पर्फर्म गर्न प्रयास गर्छु । त्यसैको परिणामजस्तो लाग्छ, आज बाइक र प्लेयर अफ दि सिरिज अवार्ड पाएको छु,’ पारसले भने । बेस्ट बलर र बेस्ट ब्याट्सम्यान दुवै हङकङका खेलाडी भए ।
नेपाली खेलाडीलाई जनही ५० हजार
नेपाललाई फाइनल पुर्‍याउनुका साथै सानदार प्रदर्शन गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका हरेक खेलाडीलाई जनही ५० हजार रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । ‘नेपाली खेलाडी सम्मानका भागिदार छन् । उनीहरूले साँच्चै उत्कृष्ट प्रदर्शन गरे,’ क्यान महासचिव अशोकनाथ प्याकुरेलले भने । नेपालले युएईलाई पहिलोपटक पराजित गरी फाइनल यात्रा तय गर्‍यो भने आगामी वर्ष बंगलादेशमा हुने टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा पनि सहभागिता निश्चित गरेको छ ।
कीर्तिपुरमा जनसागर
नेपाल र अफगानिस्तानबीचको खेल हेर्न बुधबार कीर्तिपुर मैदानमा जनसागर उर्लिएको थियो । दर्शकदीर्घामा ठाउँ नभएर हजारौँ दर्शक खेल हेर्नबाट वञ्चित भएका थिए । करिब २० हजार दर्शकले खेल अवलोकन गरे । प्रहरीले समेत दर्शकको वेगलाई नियन्त्रण गर्न सकेन । टिकटका लागि वरिपरि लगाइएको जस्ताको बार समेत बुधबार सम्पूर्ण रूपमा भत्किसकेको थियो । ‘यतिधेरै दर्शक आउँछन् भनेर हामीले सोचेका पनि थिएनौ । त्यसै कारण दर्शक व्यवस्थापनमा निकै कमजोरीहरू भएका छन् । यस प्रतियोगिताबाट हामीले सिकेका छौँ र आगामी दिनमा सक्दो राम्रोसँग व्यवस्थापन गछौँ ।’ क्यान महासचिव
प्याकुरेलले भने । उनले दर्शकबाट करिब २५ लाख रुपियाँ उठेको जानकारी दिए । यसपटकदेखि प्रवेश शुल्क लगाइएको कीर्तिपुर मैदानमा टिकटको मूल्य एक सय रुपियाँ थियो ।

प्रतिक्रिया